|

रुकुम : तत्कालीन समयमा विद्रोही माओवादी र राज्य पक्षको दोहोरो भिडन्तको चपेटामा परेर पीडा व्यहोरेको खारा गाउँमा नेपाली सेनाले अस्पताल बनाएको छ। युद्धकै कारण चर्चामा समेत आएको खारामा राज्यप्रति जनताको विश्वासलाई स्थापित गराउन तथा खासगरी प्रहरी र सैनिकसँग सम्बन्ध बनाउन यस्तो गरिएको हो। नेपाली सेनाको देवी दल गण सल्ले रुकुमले अस्पताल निर्माण गरेर एक कार्यक्रमका बीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ। 

द्वन्द्वकालमा खारा ब्यारेकमा पटक पटक आक्रमण हुँदा स्थानीयहरू निकै प्रभावित बनेका थिए भने द्वन्द्वको चरम उत्कर्षमा पुगेको बेला माओवादीको आरोपमा खाराका दुई दर्जन बढी घरहरूमा सेनाले नै आगो लगाएर स्थानीयलाई आतंकित पारेको थियो। 

सशस्त्र युद्धका कारण तत्कालीन नेपाली सेना र प्रहरीबाट दुःख खेपेका स्थानीयहरूमा शान्तिकालमा सेनाले अस्पताल बनाएर हस्तान्तरण गरेपछि खुसी मात्रै छाएको छैन, उनीहरूमा नेपाली सेनाप्रतिको बुझाइमा समेत थप सुधार आएको छ। अहिलेसम्म सामान्य उपचारका लागि गाउँभन्दा धेरै टाढा सदरमुकाम जानुपरेको र अब आफ्नै गाउँमा अस्पताल बनेपछि स्थानीयहरूलाई धेरै राहत भएको स्थानीय प्रेमा ओलीले बताइन्। 

‘द्वन्द्वकालमा सेनाबाट यहाँका जनताले धेरै पीडा पाए तर शान्तिकाल भएको लामो समय भइसक्यो अब विगतका सबै घटना भुल्नुपर्छ’, उनले भनिन्, ‘पीडा भुलाउने अनि सेना र जनताको नयाँ सम्बन्ध स्थापित गर्नमा अस्पताल निर्माण एउटा महत्त्वपूर्ण काम भएको छ।’ 

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका– ३, खारानेटारमा बनेको यो अस्पताल पाँच शैय्याको छ। यो अस्पताल निर्माणका लागि नेपाली सेनाको देवी दल गणले नगद ११ लाख रुपैयाँ र स्थानीयको नौ लाख रुपैयाँ बराबरको श्रमदानसमेत गरी जम्मा २० लाख रुपैयाँ लगानी गरिएको देवी दल गणका गणपति प्रमुख सेनानी पंकज रावलले बताए।

‘द्वन्द्वकालमा चिढिएको सेना र नागरिकको सम्बन्ध निकट बनाउने सँगै जनतालाई गाउँघर नजिकमै स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निर्माण गरिएको हो’, उनले भने।

त्रिवेणी गाउँपालिका र स्थानीयले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएपछि फागुनदेखि निर्माण थालेर चार महिनामा निर्माण सम्पन्न गरिएको हो। यस ठाउँमा गाउँपालिकाले अस्पताल संचालनका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरिसकेको छ। 

निकट भविष्यमै आधुनिक रूपमा स्वास्थ्य सेवा सुरु हुने गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको भनाइ छ। अस्पतालमा थप शैय्या विस्तार गर्ने र यहाँबाट आधुनिक प्रविधिको प्रयोग गरेर नागरिकलाई व्यवस्थित सेवा प्रदान गर्ने गाउँपालिकाले नीति बनाएको छ। 

प्रयोगशाला सहायक नियुक्त गरिसकिएको छ भने ल्याव टेक्नेसियनलाई पनि तालिम दिइसकिएको गाउँपालिकाले जनाएको छ। यस भवनबाट गाउँपालिकाले टेलिमेडिसिन सेवा र अन्य आवश्यकीय सेवा प्रदान गर्न पनि अन्तिम तयारी सुरु भइसकेको गाउँपालिका कार्यालयले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.