रेशमका बारेमा के हुँदै छ?

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पहिलो स्थापना दिवसको दिन २०७४ साललाई संगठन वर्षका रूपमा लिने घोषणा गरेको थियो। बैशाख ७ गते स्थापना भएको एक वर्ष बितिसक्दा पनि पार्टीको तल्लो तहदेखि नै संगठन भद्रगोल छ।

गत वर्षको बैशाख ७ गते मधेसका मुद्दा उठाइरहेका छ दल एक भएर राजपा बनेको थियो। उक्त पार्टीको पहिलो स्थापना दिवसका दिन पार्टीका नेताहरूले अहिलेसम्मको अवस्था भद्रगोल भएको स्वीकार गर्दै अब संगठन विस्तारमा लाग्ने घोषणा गरेका थिए।

तर अहिले पनि पार्टी संगठनको अवस्था भने उस्तै छ। स्थापना दिवसको एक महिना बितिसक्दा पनि पार्टीको बैठकसम्म बस्न सकेको छैन। अहिलेसम्म पार्टीले केही गतिविधि गर्न नसकेको नेताहरू स्वीकार गर्छन्। ‘स्थापनाका दिन घोषणा गरेजस्तो कामचाहिँ गर्न सकेका छैनौँ’, राजपा महासचिव केशव झा भन्छन्, ‘हुनत एक महिना त भयो, के नै हुन्छ र यो अवधिमा, के नै गर्न सकिन्छ र!’

पार्टी स्थापना भएको एक वर्ष बितिसक्दा पनि राजपाको तल्लो तहदेखि माथिल्लो तहसम्म संगठन बनेको छैन। राजपाको अध्यक्ष मण्डल नै छ जनाको छ। जम्बो अध्यक्ष मण्डल भएका कारण नीति निर्माण गर्नसमेत समस्या परेको कुरा बेलाबेला बाहिर आउने गर्छ। राजपाले तत्काल महाधिवेशनको मिति तय गर्ने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो बताउँछन्। भन्छन्, ‘अब हामी संगठन निर्माणको कामलाई तीब्रता दिन्छौँ। जेठ २५ गते राजनीतिक समितिको बैठक बस्छ। त्यसपछि हामी गाउँ तहदेखि केन्द्रसम्मको अधिवेशन/महाधिवेशन गर्छौं।’

अहिलेसम्मको पार्टीका काम अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बिरामी भएका कारण रोकिएको पार्टी महासचिव झाले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘पछिल्लो एक महिनामा सोचेजस्तो प्रगति गर्न नसक्नुको कारणचाहिँ संयोजक बिरामी भएर हो, अब उहाँ क्रमश: ठीक हुँदै जानुभएको छ। संगठन निर्माणको कामले अब तीब्रता पाउँछ।’

संसदीय दलको नेता अझै चयन भएनन्

संघीय संसदका सांसदले शपथ खाएको तीन महिना हुनै लाग्दासमेत राजपाले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्न सकेको छैन। पार्टीभित्रको आन्तरिक विवादका कारण राजपाले अहिलेसम्म दलको नेता चयन गर्न नसकेको हो।

पार्टीभित्रबाट संसदीय दलको नेताका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आकांक्षा देखाएका कारण दलको नेता चयन हुन नसकेको हो।

नेताहरूले नेता चयनका लागि कुनै पनि विवाद नभएको बताउँदै आएका छन् तर राजपाभित्रको गुटगत राजनीतिका कारण अहिलेसम्म नेता चयन गर्न नसकेको स्रोतको दाबी छ। फरक फरक छ पार्टी एक भएका कारण पनि यस्तो गुट उपगुट देखिनु सामान्य रहेको राजपाका एक नेता बताउँछन्।

राजपाले अहिलेसम्म आफ्नो संसदीय दलको विधान र नियम बनाउन सकेको छैन तर यी सबै चाँडै टुंगो लाग्ने महासचिव झा बताउँछन्। ‘संसदीय दलको विधानका र नियम निर्माण भइसकेको छ। अब जेठ १४ गते अध्यक्ष मण्डलको बैठक बस्छ र अनुमोदन गर्छ’, उनले भने, ‘त्यसपछि २५ गते बस्ने राजनीति समितिको बैठकले संसदीय दलको नेता कसरी चयन गर्ने भन्ने टुंगो लगाउँछ। प्रदेश २ सरकारमा तीन राज्यमन्त्री पठाउनै छ। यसको पनि टुंगो त्यसबेलै लाग्छ।’

‘संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौँ’

सरकार विस्तार हुनेबित्तिकै संघीय समाजवादी फोरम र राजपा पनि सरकारमा सहभागी हुने चर्चा थियो। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेका फोरम र राजपा अहिलेसम्म सरकारमा जाने छाँटकाँट छैन।

कतिपयले सरकारले चासो नदिएकाले राजपा र फोरम सरकारमा सहभागी नभएको विश्लेषण गर्दै आएका छन् तर राजपाले भने मन्त्री हुनका लागि मात्र सरकारमा सहभागी नहुने बताएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य महतोले संविधान संशोधन नभएसम्म राजपा सरकारमा नजाने स्पष्ट पारे। उनले भने, ‘मन्त्री हुन र जागिर खान मात्र सरकारमा जाने होइन, हाम्रा माग पूरा नभए सरकारमा जानुको औचित्य छैन।’

सरकार निर्माण भएदेखि नै संविधान संशोधनको माग गर्दै आएको राजपाका अध्यक्ष मण्डलका सदस्यले मंगलबार मात्र प्रधानमन्त्रीलाई भेटेका थिए। भेटमा प्रधानमन्त्रीले सरकारमा आउन प्रस्ताव गरेको महतो बताउँछन्। भन्छन्, ‘भेटमा प्रधानमन्त्रीले सरकारमा आउन प्रस्ताव गर्नुभयो तर हामीले संविधान संशोधन नभएसम्म आउँदैनौँ भनेका छौँ। तत्काल सरकारमा जाने सम्भावना पनि कम छ।’

नीति तथा कार्यक्रमका विषयमा यसो भन्छ राजपा

राजपाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान संशोधन गर्ने भनेर उल्लेख नगरेकोप्रति आपत्ति जनाएको छ। नेता महतोले संविधान संशोधनलाई नीति तथा कार्यक्रममा नै समेट्नुपर्ने माग गरे। उनले भने, ‘नीति तथा कार्यक्रममा नै संविधान संशोधन गरिनेछ भनेर उल्लेख गर्नुपर्छ भन्ने हाम्रो माग हो। नभए त हामीले कसरी विश्वास गर्ने?’

नेता महतोले समग्रमा सरकारका नीति तथा कार्यक्रम राम्रै भए पनि कार्यान्वयनमा भने शंका गरे। उनले भने, ‘नीति कार्यक्रम त सुन्दा, पढ्दा राम्रो छ तर त्यो साँच्चिकै कार्यान्वयन हुनुपर्छ।’

रेशमका बारेमा के हुँदै छ?

संघीय संसदका सदस्यले शपथ लिने समयमा कैलाली क्षेत्र नम्बर- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीका बारेमा निकै चर्चा थियो। राजपाले जनताबाट निर्वाचित भएका प्रतिनिधिलाई शपथ लिन दिनुपर्ने माग गरेको थियो। ओली नेतृत्वको सरकारलाई समर्थन गर्दा पनि राजपाले रेशम चौधरीकै विषयलाई प्राथमिकतामा राखेको थियो।

टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चौधरीको पछिल्लो समय त्यति चर्चा छैन। तर राजपाले भने सर्वोच्चमा रिट हालेको राजपा महासचिव झाले बताए। उनले भने, ‘जनताको प्रतिनिधिले शपथ लिन पाउनुपर्छ, जेलमुक्त भएर यो मुद्दा लड्न पाउनुपर्छ भन्ने हाम्रो माग हो। यसमा हामीले सर्वोच्चमा रिट हालेका छौँ। यसैको पर्खाइमा छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.