|

सुर्खेत : कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढा र मन्त्रालयका सचिव विश्वनाथ झाबीचको विवाद सतहमा आएको छ। वनमन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्मर बुढालगायत तीन जना पक्राउ परेसँगै दुईबीचको विवाद सतहमा आएको हो।

स्वकीय सचिव डम्मर बुढालगायत छ-सात जनाको समूहले वन मन्त्रालयका सचिव तथा वनका क्षेत्रीय निर्देशक विश्वनाथ झामाथि हातपात गर्ने नियतले कार्यालयमा मदिरा सेवन गरी गएको भन्दै प्रहरीले उनलार्इ पक्राउ गरिएको हो।

वन मन्त्रालयका उपसचिव  शिवराम अधिकारीले भने, ‘छ-सात जनाको समूहमा आएर तलैबाट वन मन्त्रालयका जम्दारलाई सचिवलाई बोलाउन भनेका थिए, उनीहरूको नियत हातपात गर्ने जस्तो देखेर सचिव तल नै नओर्ली प्रहरीलाई खबर गरिएको हो। उनीहरूको नियत राम्रो थिएन।’ 

उनले यस घटनाअघि पनि मन्त्रीले भनेको काम नगरेर अटेर गरेको भनेर सचिव र मन्त्रीबीच विवाद भएको विषय संघीय मन्त्रालयसम्म पुगिसकेको बताए।

यता, सुर्खेत प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले वन मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवसहित छ-सात जनाको टोली आएर हल्ला गरिरहेको भन्ने सूचना प्राप्त भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए।

चतुर्वेदीले कुरा बुझ्दा कुनै एउटा प्रोजेक्टको फर्म भर्नका लागि आएको र त्यसबारे बुझ्नका लागि सचिव झालाई बोलाएको भनी बयान दिएकाले सम्झाइबुझाई गरेर छोडिएको बताए।

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव झामाथि विभागीय मन्त्रीलाई नै ‘असहयोग गरेको’ आरोप लागेको थियो। सचिव झालाई संघीय वन तथा वातावरण मन्त्रालयले स्पष्टीकरणका लागि मन्त्रालय झिकाइएको थियो। 

प्रदेश वन मन्त्रालयले पनि सचिवको भूमिकालाई लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आवश्यक कारवाहीका लागि पत्र पठाएको छ। मन्त्री नन्दसिंह बुढाले सचिव झाले सुरुदेखि नै असहयोग गर्दै आएको बताएका छन्। 

‘मन्त्रालयकै कर्मचारीसँग पनि सम्बन्ध राख्न सकेनन्, जिम्मेवारी नदिने, मनोमानी हिँड्ने गरिरहे’, उनले भने, ‘कर्मचारीले नै चरम असन्तुष्टि राखेपछि बाध्य भएर मुख्यमन्त्री कार्यालय र संघीय वन मन्त्रालयमा गुनासो गर्नुपर्‍यो।’ 

क्षेत्रीय वन निर्देशकसमेत रहेका सचिव झाविरुद्ध मन्त्रालयमा विभिन्न उजुरी परेका छन्। जिल्ला वन कार्यालय सुर्खेत, बाँकेलगायत जिल्लामा छपान चेकजाँच, लगत चेकचाँच तथा लट निरीक्षणका फाइलहरू चार महिनासम्म दर्ता नगरी थन्क्याएको, प्रति क्युफिट २५ रुपैयाँका दरले सेवाग्राहीबाट घुस लिएको उजुरी वन मन्त्रालयमा परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.