|

अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन सुझाव दिएको छ। चीनमा रहेका एक अमेरिकीले भोगेको  रहस्यमय घटनापछि अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सचेत रहन सुझाव दिएको हो।

चीनमा रहेका एक अमेरिकी नागरिकले आफूले संदिग्ध, असामान्य आवाज र दबाबको सामना गर्नुपरेको गुनासो गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको हो। अमेरिकी विदेशमन्त्री माइक पाम्पियोले यसअघि क्यूबामा पनि आफ्ना दूतावासका कर्मचारीले यस्तै समस्याको सामना गर्नुपरेको बताएका छन्।

यसलाई गम्भीरतापूर्वक लिँदै विदेश मन्त्री पाम्पियोले ती व्यक्तिको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान गरिने बताए। उनले असामान्य आवाज र दृश्य आउने ठाउँमा नजान आफ्ना नागरिकलाई आग्रह गरे। अमेरिकी दूतावासका प्रवक्ता जिनी लीले चीनको ग्वान्जोउ शहरमा सन् २०१७ को अन्तिमदेखि गत अप्रिलसम्म आफ्ना कर्मचारीले शारीरिक विकृतिको सामना गर्नुपरेको बताए।

यसपछि कर्मचारीलाई अमेरिका फिर्ता गरिएको थियो। अमेरिकी दूतावासले कर्मचारीको मस्तिष्कमा चोट पुगेको जनाएको छ। तर त्यसको कारण भने पत्ता लाग्न सकेको छैन। आफ्ना नागरिकमाथि भएको घटनाबारे अमेरिकाले चीनलाई सूचना दिइसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.