|

जाजरकोट  : विद्यालयस्तरीय विभिन्न परीक्षामा खेताला (सट्टा) राखेर परीक्षा दिन लगाउनेको संख्या बढेको छ। माध्यमिक शिक्षा परीक्षा र कक्षा ११\१२ को वार्षिक परीक्षामा खेताला परीक्षार्थी पक्राउ परेपछि यस्तो खुलेको हो। विदेशमा रहेकाले समेत खेताला लगाएर माध्यमिक शिक्षा परीक्षा र कक्षा ११\१२ को परीक्षा दिने गरेको  पाइएको छ।  

यो वर्ष दुवै परीक्षामा फेला परेका दर्जनौँ खेतालामध्ये १० ११ जनालाई मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  यसअघि सट्टा लेख्ने तथा लेखाउने अधिकांशलाई केन्द्राध्यक्ष लगायतको मिलोमतोमा मुद्दा नलगाई गुपचुप मिलाउने गरिन्थ्यो। २० वटा  माध्यमिक शिक्षा परीक्षा केन्द्र र नौ वटा राष्ट्रिय परीक्षा बोर्डका केन्द्रमा खेताला परीक्षार्थीको बिगबिगी भएको  प्रहरीले बताएको छ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक, परीक्षार्थी, केन्द्राध्यक्ष लगायत पक्षको मिलोमतोमा खेताला परीक्षार्थी राख्ने कार्य हुने गरेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए। परीक्षा आवेदन फारम भर्दा नै वास्तविक परीक्षार्थीको फोटो नराखेर खेतालाको फोटो राखेर प्रवेशपत्र बनाउने गरेको प्रहरीले बताएको छ। कतिले प्रवेशपत्र हराएको भन्दै खेतालाको फोटो टाँसेर अर्को बनाई परीक्षा दिन लगाएको डीएस्पी भावेश रिमालको भनाइ छ।

‘रजिस्ट्रेसन हुँदा एकको फोटो परीक्षा आवेदन भर्दा र दिँदा अर्कैको फोटो टाँसेर परीक्षा दिने,’ उनले भने, ‘कतिले त अर्कैको प्रवेशपत्रबाट पनि जाँच दिएको खुल्न आएको छ।’ राष्ट्रिय परीक्षा बोर्डलगायत निकायको लापरबाहीका कारण विभिन्न परीक्षामा खेतालाको मनोबल बढेको मालले बताए। प्रहरीका अनुसार बारेकोट गाउँपालिका ४ का प्रकाश बोहरा जिल्ला अदालत जाजरकोटको तारेखमा छन् । सोही ठाउँकी निरुता बोहरा, खग्रेन्द्र बस्नेत, कुशे गाउँपालिका ७ की सिर्जना सिंह, शिवालय गाउँपालिकाका ७ का सन्देश बिसी र गरीमा थापा तारेखमै छन्।

त्यस्तै, बैजनाथ गाउँपालिका ८, बाँकेकी अनिता शाही र कृष्णकुमारी थापालाई पनि अदालतले तारेखमा राखेको छ। उनीहरू सबैलाई सट्टामा परीक्षा दिएको र दिन लगाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको हो । चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षामा प्रकाशले स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयमा खग्रेन्द्रको खेताला परीक्षार्थी बन्दा पक्राउ परेका थिए।

सट्टा परीक्षार्थी प्रकाश अमर ज्योति मावि नेवारे, सुर्खेतमा १२ कक्षामा अध्ययनरत विद्यार्थी हुन्। सोही विषयमा कल्पनाको सट्टा परीक्षा दिने निरुता र कुशे ३ की निर्मला नेपालीको सट्टा परीक्षा दिने सिर्जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। निरुता र सिर्जना त्रिभुवन मावि खलंगाका १२ कक्षाका विद्यार्थी हुन्। सट्टा परीक्षा दिन लगाउने बस्नेतद्वय सरस्वती मावि सिलिङचौर र नेपाली भगवती मावि अर्छानीका एक्जाम्टेड समूहका परीक्षार्थी हुन्। उनीहरूलाई प्रहरीले शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँ परीक्षा केन्द्रबाट नियन्त्रण लिएको थियो ।

बिसी सोही ठाउँकी गरिमा थापाको सट्टा गणित विषयको परीक्षा दिँदा पक्राउ परेका थिए। सट्टा परीक्षा दिने बिसी वीरेन्द्र मावि जुगाथापाचौरका १२ कक्षामा अध्ययनरत विद्यार्थी र थापा खड्गदेवी मावि शिवालयकी परीक्षार्थी हुन्। उनीहरू मावि जुगाथापाचौर परीक्षा केन्द्रबाट प्रहरीको नियन्त्रणमा परे। त्यस्तै, सब ओभरसियर पढ्दै गरेकी शाहीले कक्षा १२ को अनिवार्य अंग्रेजी विषयको वार्षिक परीक्षा कृष्णको सट्टा दिँदा प्रहरी नियन्त्रणमा जानुपर्‍यो। प्रहरीले सट्टा परीक्षार्थी शाही र दिन लगाउने कृष्णलाई त्रिभुवन मावि खलंगा केन्द्रबाट नियन्त्रणमा लिएको हो।

अर्काको तर्फबाट परीक्षा दिने परीक्षार्थी र परीक्षा दिन लगाउनेलाई शिक्षा ऐनअनुसार सजायको माग दाबीसहित अदालतमा अभियोग दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए। शिक्षा ऐन २०२८ को दफा १७ (क) बमोजिम अर्काको परीक्षा दिएको तथा दिन लगाउनेलाई ६ महिनासम्म कैद र एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान भएको आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.