|

भक्तपुर : भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा ९१ करोड १५ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा नगरपालिकाले ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। 

गत ०७४ असार अन्तिममा प्रथम नगरसभाले चालू आर्थिक वर्षका लागि कूल एक अर्ब पाँच करोड ५५ लाख रुपैयाँ बजेट पारित गरेको थियो। नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनर्निर्माण प्राधिकरणसँग १० करोड रुपैयाँ ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ। 

नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र जनस्वास्थ्य सेवा केन्द्रका लागि ४१ करोड खर्च रुपैयाँ गर्ने भएको छ। 

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका लागि चालू आवमा छ करोड ४८ लाख ७८ हजार खर्च गर्ने लक्ष्य लिएकामा गत चैत मसान्तसम्म तीन करोड ९३ लाख रुपैयाँ खर्च गरेको नगर प्रमुख प्रजापतिले बताए। नगरपालिकाले चालू आवभित्र सरसफाइका लागि छ करोड ५० लाख खर्च गर्ने लक्ष्य राखेको छ। 

विकास निर्माणतर्फ ३१ करोडको बजेट विनियोजन गरेकामा प्रत्येक वडा कार्यालयलाई ५० लाखका दरले बजेट वितरण गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए। विकासका साना काम वडा कार्यालय आफैँलाई गर्न बजेटसहितको अधिकार दिइएको छ। 

गत आवमा आन्तरिक आयतर्फ २१ करोड ५० लाख ५४ हजार संकलन गरेको नगरपालिकाले चालू आवमा २६ प्रतिशतले वृद्धि गरी २७ करोड नौ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.