वैदेशिक रोजगारीले ल्याएको पारिवारिक विचलन बढ्दो

|

झापा : तपार्इं विवाहित पुरुष हुनुहुन्छ र वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ? विदेश जाँदै हुनुहन्छ भने, बेलैमा श्रीमतीमाथि निगरानी बढाउनु होला! नत्र परपुरुषसँग लागेर श्रीमतीले धोका दिए तपाईंलाई जीवनभर पछताउनुपर्ने हुनसक्छ।

हो, यही घटनाबाट पीडित बनेका छन्, झापा भद्रपुर नगरपालिका-२ निवासी सुमन कटुवाल। उनकी श्रीमती ६ वर्षीय छोरा रूपकलाई लिएर अहिले बेपत्ता भएकी छिन्।

वैदेशिक रोजगारीबाट दिनरात श्रम गरेर कमाएर पठाएका धन सम्पत्ति लिएर श्रीमती विनिता रेग्मी (कटुवाल) र छोरा बेपत्ता भएपछि कटुवाल अहिले प्रहरीसमक्ष हारगुहार गरिरहेका छन्। लाखौँ नगद र गरगहना लिएर २७ वर्षीया श्रीमती छिमेकी राम लिम्बूसँग भागेको श्रीमान् कटुवालको आरोप छ।

निगरानी राखिदिन माइतीलाई आग्रह

उनले जानकारी गराएको घटना विवरणअनुसार उनी २१ महिनाअघि वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए। ‘म विदेश गएपछि गत ०७४ फागुन २३ गते श्रीमती विनिता हराएको छिमेकीले मलाई जानकारी गराएका थिए। हराएको तीन दिनपछि श्रीमतीलाई बिर्तामोडस्थित आफन्तको घरबाट फेला पारी सीमा प्रहरी चौकी पृथ्वीनगरको रोहवरमा फागुन २६ गते माइती पक्षका विष्णुप्रसाद रेग्मीलाई जिम्मा लगाइएको थियो। म विदेशबाट नफर्किन्जेलसम्म श्रीमतीलाई निगरानीमा राख्नु भनी माइती मक्षलाई भनेको थिएँ,’ उनले थपे, ‘माइती पक्षलाई जानकारी गराएपछि उनलाई ठूलोआमा तुलमाया श्रेष्ठको घरमा राखिएको थियो। म साउदीबाट गत चैत्र ३ गते घर आइपुगेको थिएँ। घर आएकै दिन छोरोसमेत लिएर छिमेकी लिम्बूसँग भागिछे।’

साना किसान सहकारीमा सासुआमा याममाया काफ्ले कटुवालको नाममा रहेको खाताबाट श्रीमतीले सहीछापा मिलाएर १ लाख ७० हजार रुपैयाँ, सोही सहकारीमा छोरा रुपकको खाताबाट ८२ हजार रुपैयाँ, विदेशबाट पठाएको ९ लाख रकममध्ये खर्च गरेर बाँकी रहेको साढे दुई लाख र सात तोला सुन लिएर भागेको उनले दाबी गरेका छन्।

न्याय खोज्दै प्रहरीमा निवेदन

यता, घटनापछि उनले चैत्र १३ गते जिल्ला प्रहरी कार्यालय झापामा श्रीमती विनिताको हुलियासहितको फोटा र घटना विवरणसहित क्षतिपूर्तिको माग राख्दै जाहेरी दिएका छन्। कटुवालले श्रीमती र छोरा बेपत्ता भएकोले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दर्ता गराएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए। कटवालका ससुराली पक्षले पनि छोरी बेपत्ता भएकोमा खोजी गरिदिन प्रहरीमा निवेदन दिएको उनले बताए।

उनीहरूको खोजी कार्य भइरहेको पनि प्रहरी निरीक्षक पौडेलले सुनाए। उनले भने, 'छिमेकी केटासँग भागेको आशंका गरिएको छ, फोन विवरणका आधारमा उनीहरूमाथि अनुसन्धान गर्दैछौँ।' यस घटनाबारे थप सहजताका लागि वडा प्रहरी कार्यालय भद्रपुर, सीमा प्रहरी चौकी पृथीवीनगर, माइती नेपाल काँकडभिट्टालाई समेत पत्रको बोधार्थ जानकारी गराइएको पीडित कटुवालको भनाइ छ।

छोरा र सम्पत्ति भए पुग्छ, श्रीमती चाहिँदैन

छिमेकी लिम्बूको आफन्त ताप्लेजुङ जिल्लामा बसोबास गर्दै आएका उनीहरु  उतै गएको हुनसक्ने उनले आशंका गरेका छन्। ‘मलाई मेरो छोरा र सम्पत्ति भए पुग्छ,  उनले भने, ‘श्रीमती र छिमेकी लिम्बूलाई केही गर्दैनाँै, उनीहरु आफूखुशी बसून् ।’

२१ महिनाको वैदेशिक रोजोगारीपछि घर फर्कंदा घरमा न त श्रीमती न त छोरो कसैलाई भेट्न नपाएको उनले आफ्नो पीडा सुनाए। ‘श्रीमतीलाई बूढा बाबुआमालाई रेखदेखको जिम्मेवारी दिएर आफू विदेश जाँदा घरपरिवारमा यस्तो बज्रपात आउँछ भनी मैले कल्पनासमेत गरेको थिइनँ,’ उनले भने, ‘नौ वर्षअघि जीवनभर सँगै बाँच्ने अग्निलाई साक्षी राखेर कसम खाएर विवाह बन्धनमा बाँधिएका थियौँ, तर त्यो कसम पूरा भएन, उल्टै आफू एक्लो परेँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.