|

चितवन : भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण चितवनको जलविरे झरना(लामो झरना) यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य हो। तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन्।

पूर्वाधार बिना पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ। पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क सिंढी निर्माणले आकर्षण थपेपनि अझै पुर्वाधारको अभाव र उचित प्रचार हुन सकिरहेको छैन।

तैपनि पर्यटक स्वतः फूर्त आउँछन्। भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन्। झरना घुम्दै गरेका भारत रक्सौलका अमर सिंह भन्छन्, ‘झरनामा आइपुग्दा छुट्टै आनन्द लाग्छ।’ महिनामा एकपटक उनको समूह झरनाको प्राकृतिक आनन्द लिन आउँछ। उनीसँगै विहार मोतिहारीका रमेश शाह, बृज शाह, रवि शाह पनि लामो झरना घुमेर रमाए।

जुनसुकै समयमा पुग्ने पर्यटकहरू समेत सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन्। सुन्दर प्राकृतिक मनोरम दृष्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शितल पानीका कण, लगातार बहिरहने चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याईदिन्छ।

नारायणगढको चर्को गर्मी, कोलाहल र तनाव तथा थकान मेट्नका लागि यहाँ आन्तरिक पर्यटकको घुँइचो नै लाग्छ। चितवन पर्यटन विकास समितिका महासचिव एवं पर्यटनविज्ञ विश्वराज सुवेदी झरनासँगै यहाँको प्राकृतिक दृष्यावलोकनका लागि सुन्दर क्षेत्र भएको विष्लेषण गर्छन्।

झरना माथि रहेको गाउँ याकराङमा होमस्टे निर्माण गरी गुरुङ संस्कृतिको विकास गर्न जरुरी देख्छन् सुवेदी। माथिबाट देखि नागवेली परेको त्रिशुली र नारायणगढ मुग्लिन सडकका नागवेली दृष्य सुन्दर लाग्छ। पहाडको टुप्पोबाट देखिने सलाईका बट्टा जस्ता गाडीका लस्करले आकर्षण थप्छ।

चितवनका पहिचान भएका ४० उत्कृष्ट पर्यटकीय आकर्षण मध्ये जलविरे झरना उत्कृष्ट गन्तव्यमा पर्छ। ईच्छाकामना गाउँपालिका ६ जलविरेमा रहेको यो झरना ६० मिटर भन्दाबढी लामो छ।

नारायणगढ मुग्लिन सडकको जलविरे मन्दिरबाट झण्डै आधार घण्टाको पैदलमा झरना पुग्न सकिन्छ। लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङ पुर्वाधार थपिएकाले पछिल्लो समय झरना र आसपास क्षेत्र अलि व्यवस्थित बन्दै गएको दावी गर्छन्।

अहिले सो झरना अवलोकनका लागि दैनिक कम्तिमा १०० जना पर्यटक पुग्छन्। अधिकतम दिनमा १ हजार २०० सम्म पर्यटक पुगेको तथ्यंक समितिसँग छ।

यो झरना नारायणगढ मुग्लिन सडक अन्तरगत जलविरेमा पर्छ। नारायणगढबाट २९ किलोमिटर मुग्लिनतर्फ रहेको यो क्षेत्रमा काठमाडौ, पोखरा र सौराहा आउने पर्यटकका लागि बसाइँ लम्ब्याउन महत्वपूर्ण गन्तव्य हो।

क्यानोनिङ र क्लाईम्बिङ, स्विमिङ, स्लाईडिङ, जम्पिङ र हाईकिंङ गर्न काठमाडौं र युरोपबाट छुट्टै खालका पर्यटक आउने समितिका अध्यक्ष गुरुङको भनाई छ। पुर्वाधार निर्माण हुनु अघि नै क्यानोनिङ गर्थे पर्यटकले।  क्यानोनिङ एसोसिएसनले नै यहाँ पर्यटक ल्याउने गरेका छन्।

यहाँ प्रवेश गर्न पर्यटकलाई ५० रुपैयाँ शुल्क लाग्छ। प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण आन्तरिक पर्यटकको घुईंचो हुन्छ।

२०६९ सालबाट पर्यटक विकास शुरु भएको यहाँ पछिल्लो केही वर्षदेखि पर्यटकीय गन्तव्य बनाउन भन्दै विभिन्न कार्यक्रम हुँदै आएको छ। यसपटक मात्रै इच्छाकामना गाउँपालिकाले सिंढी र पार्क बनाउन भन्दै ८ लाख रुपैयाँ विनियोजन गरेको बताउँछिन् गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ।

चासो धेरै हुनेगरेपनि पर्याप्त पर्यटकिय पुर्वाधार निर्माण हुन सकिरहेको छैन। तैपनि पर्यटक भने आउने क्रम बढ्दो छ। सोमबार र शनिवार तथा विदाको दिनमा समूह समुहमा सयौँ पर्यटकको आकर्षक गन्तव्य बन्ने गरेको स्थानियहरू बताउँछन्।

आकर्षक पुलको व्यवस्था गरेर होमस्टे बनाई, पिकनिक स्पोट, भ्यू टावर र जाने व्यवस्थित बाटो निर्माण जरुरी छ। चितवन पर्यटक विकास समितिका अध्यक्ष दिलीप मैनाली पर्यटन पुर्वाधार बनाउन अति जरुरी रहेको औल्याउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.