विस्थापित भएको १७ वर्षसम्म स्थापना भएन बैंक

|

जाजरकोट : जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका बाहेक जिल्लाका अन्य दुई नगरसहित ६ पालिका बैंकविहीन छन्। जिल्लाका नलगाड नपा र छेडागाड नपाका साथै बारेकोट, कुशे, जुनीचाँदे र शिवालय गाँउपालिकामा बैंक स्थापना हुन सकेका छैनन्।  

ग्रामीण भेगमा रहेका गाउँपालिका र नगरपालिकामा बैंक नहुँदा स्थानीय सरकारले संचालन गरेका कामकारवाहीमा कठिनाइ भइरहेको छ।  दुई नगरपालिकाले सम्बन्धित पालिकामा कार्यालय स्थापना गरेपछि चार गाउँपालिकाले बैंकको कारण देखाउँदै जिल्ला सदरमुकाममै सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेका छन्। गाउँमा बैंक नहुँदा सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने चुनाव ताकाको नारा नारामै सीमित भएको स्थानीयको भनाइ छ। 

विस्थापित भएको १७ वर्षसम्म स्थापना भएन बैंक 

नलगाड नगरपालिकाले १७ वर्षअघि विस्थापित भएको नेपाल बैंक लिमिटेडको दल्ली उपशाखा पुनस्थापनाको माग उठे पनि माग पूरा हुन सकेको छैन।  निजी क्षेत्रका बैंक गाउँ जान आलटाल गरेपछि स्थानीय सरकारले सरकारी बैंक पुनस्थापनाको माग गरेका हुन्।

विस २०४५ सालमा उपशाखाका रूपमा दल्लीमा स्थापना भएर जिल्लाको पूर्वी भेगमा सेवा पुर्‍याउँदै आएको बैंक २०५७ सालदेखि असुरक्षाका कारण विस्थापित भएको थियो। माओवादी सशस्त्र द्वन्द्वको त्रासले विस्थापित भएको यो बैंक स्थानीय बासिन्दाले शान्ति स्थापनासँगै पुनसस्थापनाको माग गरे पनि सुनुवाइ हुन सकेको छैन।  

नगरपालिका भएर पनि एउटा पनि बैक नहुँदा स्थानीय सरकार संचालनमा कठिनाइ भएको नगरप्रमुख टेकबहादुर रावलले बताए। ‘हामीले निजी बैंक ल्याउने धेरै प्रयास गरे पनि सफल हुन सकेनौँ’ उनले भने, ‘अहिले मोटो रकम ल्याउन ठूलो सुरक्षा चिन्ता हुने गरेको छ।’

निजी बैंक ल्याउने प्रयास सफल नभएपछि पहिले विस्थापित भएको नेपाल बैंक लिमिटेडलाई नै पुनस्थापना गर्न संघीय सरकार र सम्बन्धित पक्षसँग माग गरेको उनले बताए। ‘बैंक नहुँदा शिक्षक, कर्मचारीको तलब भत्ता र विकास निर्माणका कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ,’ उनले भने। 

नगरप्रमुख रावल माओवादी केन्द्रबाट विजयी भएका हुन्। उनकै पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ कै बेला असुरक्षाको कारण देखाउँदै विस्थापित भएको सरकारी बैंक पुनस्थापना गर्न निकै सकस देखिएको छ।  नलगाडमा बैंक स्थापना भएमा बारेकोट गाउँपालिका र रुकुमको आठविसकोट नगरपालिकाले समेत सेवा लिन पाउँने नगरप्रमुख रावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.