नियतिको गर्भबाट जन्मिएको थियो बोल माया, जुन बेला सपूतले फुपाजु गुमाए

|

काठमाडौं : देश १० वर्षे जनयुद्धको विश्राम लिएर केही मात्रामा समृद्धिको बाटोमा लाग्ला  कि भन्ने आशा पनि हरेक नेपालीको मनमा छ। ओरालो लागेको देशको अर्थतन्त्र उकासिने कुनै छाँटकाट देखिँदैन। केही मात्रामा देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको कुरा नकार्न सकिँदैन। दैनिकै अन्तर्राष्ट्रिय विमानस्थलबाट भविष्‍यको सपना बोकेर रोजगारका लागि युवायुवती विदेश पलायन भइरहेका छन्।

केही हिस्सा पलायन युवाको एक/एक पसिनाले धानिएको छ देश। देश विदेशिका लागि कामदार जन्माउने अड्डा बनेको छ। सपना र रहर बोकेर विदेश पलायन भएका नेपाली दाजुभाइहरू मृत्युवरण गरेर रातो बाकसमा स्वदेश फर्कने नियति पनि हामीमाझ उस्तै छ। यो देश, देश नभएर चिहानघर हुँदै गएको छ।

एउटा युवा श्रीमतीको पेटमा हुर्कंदै गएको छोराको भविष्य र परिवारको  आर्थिक विपन्नतालाई उकासेर सहज जीवनयापन होस् भनेर विदेश जान्छ। तर, अफसोच  उसको निधन हुन्छ। बाकसमा फर्कन्छ। त्यसपछि उसको परिवारमा हुने आँसु सन्नाटा र पीडाको  त्यो दुखान्त परिवेशमा रहेर गायक प्रकाश सपूतले 'बोल माया' गीत केही दिन अघि सार्वजानिक गरे।

अधिकांश नेपाली दाजुभाइ दिदीको नियति नै यही गीत जस्तो हो। हामीले समाजमा देखेको र भोगेको वैदेशिक रोजगारको दुखान्त पक्षको उजागर गरेको भएर नै  यो गीत यति लोकप्रिय भएको हो।

लगातार युट्युबको ट्रैण्डिङ एकमा पर्न सफल यस गीतलाई लिएर सपूत मख्ख छन्। आखिर उनको गीत किन यति भाती लोकप्रिय भयो त? उनी भन्छन्, 'अधिकांश नेपाली दाजुभाइ दिदीको नियति नै यही गीत जस्तो हो। हामीले समाजमा देखेको र भोगेको वैदेशिक रोजगारको दुखान्त पक्षको उजागर गरेको भएर नै  यो गीत यति लोकप्रिय भएको हो।' गीत जति मार्मिक छ, उतिनै मार्मिक र जीवन्त अभिनय रहेको छ। उनी भन्छन्, 'गीतको सबल पक्ष भनेको शब्द संगीत र अभिनय नै हो।'

यस गीतमा स्वर नारायण रायमाझी प्रकाश सपूत र शान्ति श्री परियारको रहेको छ।अभिनय सपूत आफ्नो र अञ्‍जली अधिकारीको रहेको छ। उनले थपे, 'मान्छे मरेको घटनाबाहेकको फ्लासब्याकको दृश्य मेरो हिजोको जिन्दगी हो भने दृश्यमा देखिने सबै मेरा परिवार र गाउँले हुन्।'

उनी आफैँ एक राम्रा गायक हुन्, तर उनको यस गीतमा स्वर नारायण रायमाझीको रहेको छ। किन उनको गीतमा नारायण रायमाझीको स्वर आवश्यक रह्यो त? उनी भन्छन्, 'नारायण सरको स्वरले मात्र यस गीतलाई न्याय गर्न सक्छ भन्ने लागेर उहाँलाई अनुरोध गरेको थिएँ नकार्नु भएन।'

उनले नारायण रायमाझीप्रति कृतज्ञताको केही शब्द पुकारे। यो गीत लेख्‍नुका पछाडिको परिवेश कस्तो थियो त?  गाउँका साथीसंगी आफन्तहरू विदेश लाग्ने लर्को ज्यादा थियो। तीमध्ये उनका फुपाजु पर्ने विदेशमा मृत्यु भयो। नेपाल ल्याइयो, सपूतले नै उनलाई गाउँ पुर्‍याउने काम गरे। त्यसको केही समयपछि उनका बालापनको साथीको पनि विदेशी भूमिमा ज्यान गयो।

उनको पनि लाश गाउँ पुर्‍याउने जिम्मा सपूतकै भागमा पर्‍यो । आफ्नै आखाँले आफ्नै आफन्तको लाश उचाल्नुपर्दा उनको मन कुँडिन्थ्यो। यसरी नै समाजमा आफ्ना आफन्त हुन वा अरू अपरिचित परिवारमा घट्ने घटनाहरुलाई जोडेर उनले यस गीत लेखे। यो गीतको श्रेय सम्पूर्ण नेपालीमा दिन चाहेको पनि उनले बताए।  

सपूतको घरको आर्थिक अवस्था नाजुक थियो। बाबुको आधा जिन्दगी छोराहरूका लागि भनेर खाडीको तातो घाममा सकियो। बाबुको कमाइको उपलब्धि चार छोराहरूको पढाइ मात्र थियो। बच्चैदेखि हिरो बन्ने लक्ष्यमा रहेका उनी एसएलसी सकेर  बाग्लुङ आए। त्यहाँ हुँदा उनले रेडियोमा काम गरे।

उता, बाबुको विदेश यात्राले विश्राम लिएपछि घरको जेठा छोरा प्रकाश सपूतको  हातमा घरको जिम्मेवारी थपियो। रेडियोको आम्दानीले उनको परिवार धान्ने हैसियत राख्दैन्थ्यो।  पारिवारको दैनिकी चलाउन हम्मेहम्मे भएको समयमा उनको हिरो बन्ने सपनामा ग्रहण लाग्यो।  जिन्दगी रहरले, सपनाले र यथार्थले चल्छ। सबैभन्दा ठूलो कुरा जिन्दगी धेरथोर पैसाले चल्छ।

तर, हाम्रो स्वयंको जिन्दगी समाजले चलाउँछ।बाबु आमाको आर्थिक हैसियत कस्तो छ त्यहीअनुसारले चलाउँछ। हाम्रोजस्तो हुने खाने समाजभन्दा हुँदा खाने समाजका एक/एक मान्छेलाई पैसाको आफ्नै महत्व छ। बाबु आमाको सपना आफ्ना छोराछोरी प्रशस्त सम्पत्ति कमाएर सुखसयलको जिन्दगी बाँचून् भन्ने लाग्छ। सके आफूलाई पनि केही मात्रामा बाँकी जिन्दगी सहज तरिकाले बाँच्न प्रेरित गरिदिऊन् भन्ने पनि लाग्छ।

त्यसकारण उनी विदेश जाने भनेर केही पैसा बोकेर काठमाडौं आए। मलेसिया जान भनेर आएका उनलाई मेनपावरले अयोग्य ठहर्‍याइदियो।  उनी त्यो दिन सम्झन्छन्।खिस्स हाँस्छन् र भन्छन्, 'क्या तनाव के विदेश जानसमेत अयोग्य भन्दियो।' हरेक समस्याले समाधान पनि लिएर आउँछ भनेझैँ उनी पुन: घर फर्के। हामीले बुझेको काठमाडौं अवसर नै अवसरको शहर हो। देशका कुना कुनाबाट आफ्नो करीयर बनाउन होस या पैसा कुनै व्यापार व्यवसाय होस मान्छेको लर्को लाग्ने पनि यहि हो।

उनी पनि काठमाडौं गएर जागिर खान्छु भनेर झोला बोके अनि पुन: यतै आए। उनी भन्छन्, 'केही हदसम्म मिडियामा काम गरेको अनुभव र बच्चादेखि नै गाउन शोखिन रहेकाले कसो जागिर नपाइएला भन्ने लाग्थ्यो। तर, काठमाडौं शहर हेर्दा लाग्छ रहरको मात्र रहेछ।' उनले मिडियामा चान्स पाएनन्। एक दिन म्याग्दीतिरकी उनले चिनेकी दिदीले गामवेशी दोहोरी साँझमा काम लगाइदिइन्।

दिन गुणा रात चौगुणा उनको जिन्दगी परिवर्तन हुँदै गयो। सीमित आवश्यकता पूरा गर्ने आम्दानी हुन थाल्यो। काठमाडौंमा पैसाको कमी भएन उनलाई। कहिलेकाहीँ बाबाआमालाई दशैँमा घर जाँदा केही पैसा दिन्थे उनी। घर जाँदा उनका आफन्त तथा समाजका अरू मान्छेले कति कमाउछस्? काठमाडौंमा घर बनाइस्? आमाको कान किन बुच्चै राखेको? यी यावत प्रश्नको तिर हान्थे। उनी घाइते बाघजस्तो अनुत्तरित बन्थे। काठमाडौं फर्कन्थे।

विस्तारै उनको गायनीमा निख्खारता आयो। गामवेशी दोहोरीका मालिकले उनलाई पत्याए। गामवेशी दोहोरी साझको शाखा दुबईमा पनि खुल्यो। जसको फलस्वरुप उनी दुबई पुगे कलाकारको रूपमा । दुबई गएर तिन महिनापछि उनी नेपाल आए। त्यहीबीचमा उनको बिहे भयो। उनले लजाउँदै भने, 'बिहे त मन परेको मान्छेलाई नै गरियो नि।' बिहेपश्चात् उनी पुन: दुबई हान्निए। उनको दुबई बसाइ यो पालि धेरै भएन। भर्खर भित्र्याएकी प्रियसी र बुबाआमाको यादले उनी दुबईको यात्रा बन्द गरी नेपाल फर्के। 

धौलागिरि एफ एममा हुँदा श्रोताको माया र दोहोरी साझमा गाउँदा उनको स्वरको निख्खारताका कारण उनले केही गीत रेकर्ड गरे। उनी भन्छन्, 'त्यसबेला विज्ञापन भन्ने बुझिएन। यसकारण मेरा गीत सीमित मान्छेले मात्र सुने होलान्।

यसरी जुर्‍यो सपूत नाम
उनी बच्चैदेखि डायरी लेख्थे। डायरीमा आफूले देखेको र भोगेको समाजको चित्र शब्दका माध्यमले टिप्थे। विस्तारै त्यो लतमा परिणत भयो। उनी गजल कविता लेख्थे। सामजको छुवाछुत, बालविवाह उन्मूलन तथा सामाजिक कुप्रुथाबारे उनले प्रशस्त नाटक लेख्ने तथा रेडियोमा बजाउने काम पनि गर्थे। यस्तै क्रममा एकदिन उनले गजल लेखे। उनी भन्छन्, 'सायद त्यो राष्ट्रभक्तिवाला थियो। जसमा सपूत शब्द पनि समावेश थियो।' त्यो गजल उनका साथीले पढेछन् र भनेछन्, 'साहित्यमा लागेको मान्छेको पछाडि निक नेम हुनुपर्छ। तिमी पनि अबदेखि सपूत राख।' साथीको कुरा उनलाई मन पर्‍यो। त्यसपछि उनले विश्वकर्मा हटाएर सपूत लेख्न थाले। अचेल उनलाई आफ्नो थर लुकाउनका लागि सपूत राखेको आरोप लाग्ने गरेको छ। उनी भन्छन्, 'साथीको सुझाबका कारण मैले सपूत राखेको हुँ नत्र मलाई आफ्नो जात लुकाउन कुनै जरुरत छैन। उसो त हरेकले आफ्नो जातप्रति गर्व गर्छन् म कसरी यस कुरामा अछुतो रहन सक्छु।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.