सदरमुकामबाटै कारोबार

|

ताप्लेजुङ : स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष हुनै लाग्यो। जिल्लाका नाै स्थानीय तहमध्ये सात तहमा आर्थिक कारोबारका लागि अझै वित्तीय संस्था बैंकहरू पुग्न सकेका छैनन्। बैंकहरूले वित्तीय सेवा छिटो प्रवाह गर्ने प्रतिबद्धता गरेको छ महिना बढी भयो।

अहिले प्राविधिक र व्यवस्थापनको समस्याका कारण सेवा दिन नसकेको बताउँछन्। बैंकहरूको स्थानीय तहको केन्द्रमा पक्की भवनको अभाव पहिलो वहाना बनेको छ। स्थानीय तहको केन्द्रमा सुरक्षा र अन्य व्यवस्थापन र प्राविधिक कारण सेवा दिन नसकिएको जनता बैंक ताप्लेजुङका शाखा प्रबन्धक जीवन अधिकारीले बताए। अधिकारीले आर्थिक वर्ष २०७५/०७६ बाट सेवा दिने बताए। 

जिल्लाका अाठ गाउँपालिकामा निजी तथा सरकारी बैंकले वित्तीय सेवा दिनका लागि शाखा विस्तार गर्ने प्रतिबद्धता गरेका थिए। फक्ताङ्लुङ गाउँपालिकामा जनता बैंक, आठराई त्रिवेणी गाउँपालिकामा, राष्ट्रिय बाणिज्य बैंक, सिदिङ्बा र पाथीभरा याङवरक गाउँपालिकामा लक्ष्मी बैंक लिमिटेडले वित्तीय सेवा प्रदान गर्नेछन्। त्यस्तै, सिरिजंघा गाउँपालिकामा नेपाल बैंक लिमिटेड, मेरिङदेन गाउँपालिकामा एनसिसी बैंक, मिक्वाखोला गाउँपालिकामा सेन्चुरी विकास बैंकले सेवा दिनेछन् । मवाखोला गाउँपालिकामा भने २०७४ माघ पहिलो सातादेखि सनराइज बैंकले सेवा सुरु गरिसकेको छ। 

वित्तीय कारोबार सहज बनाउन स्थानीय तहमा सेवा दिन्छौँ भन्ने बैंकहरू सदरमुकाम फुङलिङ नगरपालिकामा केन्द्रित छन्। यसका कारण उपभोक्ता समिति र स्थानीय तहले वित्तीय कारोबारका लागि दुःख पाएको गुनासो गरेका छन्। यता, असार मसान्तभित्र शाखा विस्तार गर्नुपर्ने भए पनि शाखा विस्तार गर्न नसकेका बैंकहरूले भने नयाँ आर्थिक वर्षदेखि सेवा विस्तार गर्ने दाबी गरेका छन्।

स्थानीय तहमा सेवा विस्तार गरेका र गर्न बाँकी बैंक

फक्ताङ्लुङ गाउँपालिका– जनता बैंक
पाथीभरा याङ्वरक गाउँपालिका– लक्ष्मी बैंक लिमिटेड
आठराई त्रिवेणी गाउँपालिका– राष्ट्रिय बाणिज्य बैंक
सिदिङ्बा गाउँपालिका– लक्ष्मी बैंक लिमिटेड 
सिरिजंघा गाउँपालिका– नेपाल बैंक लिमिटेड
मेरिङदेन गाउँपालिका– एनसिसी बैंक
मिक्वाखोला गाउँपालिका– सेन्चुरी विकास बैंक
मैवाखोला गाउँपालिका– सनराइज बैंक (सेवा सुरु गरिसकेको)

ताप्लेजुङमा नाै स्थानीय तहमध्ये सदरमुकाम फुङलिङ नगरपालिकामा दर्जन बैंक र उत्तिकै संख्यामा लघुवित्त कंपनीहरू संचालनमा छन्। अहिले बैंकिङ सेवा नभएका स्थानीय तहले सदरमुकामबाट आर्थिक तथा अन्य वित्तीय कारोबार गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.