हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि फागुन ७ बाट संघर्ष

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको आरोप लगाएका छन्। बिहीबार केन्द्रीय राजधानी काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन्। 

उनले भने,‘तर संविधान बमोजिम र प्रजातन्त्रकै परिधिभित्रै रहेर चुनाव जितेर सर्वसत्तावाद र अधिनायकवाद कायम गरिन अहिलेको ट्रेण्ड रहेकोे छ।’

अध्यक्ष थापाले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरूको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्धत रहेको प्रमाण भएको जिकिर गरे। राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा अहिले शंका पैदा भएको उनको आरोप छ।

थापाले अबको २ देखि ३ वर्षभित्रै वर्तमान सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका व्यक्त गरे। उनले भने, ‘अब हेर्दै जानुहोला, सरकारले अब मिडियामा आक्रमण गर्छ, नक्कली समस्या खडा गर्छ, मिडियापछि व्यापारीहरूलाई विभिन्न हत्कण्डा अपनाएर दुःख दिने काम सुरु गर्छ, सरकार न्यायालय, संवैधानिक निकाय, प्रशासनिक संयन्त्रलगायतका क्षेत्रहरूलाई पार्टीकरण गर्न उद्दत रहेको आशंका बढेर गएको छ।’

मोदीलाई नागरिक अभिनन्दन गरिनु अस्वभाविक र अनावाश्यक

उनले सरकारले देशमा निवाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजेका अरोप लगाए। आवरणमा भ्रष्टाचार नियन्त्रण भन्ने तर, आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम हुने थापाको दाबी छ।

संविधानलाई स्वागत नगरेको र नाकाबन्दी लगाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा स्वागत गर्नुसम्म ठीक भए पनि नागरिक अभिनन्दन गरिनु गलत भएको उनको भनाइ छ। उनले भने, ‘मोदीलाई स्वागत गर्नुपर्छ तर नागरिक अभिनन्दन गर्नुहुँदैन भनेर सायद पहिलो बोल्ने व्यक्ति मै हुँ, मोदीलाई नागरिक अभिनन्दन गरिनु अस्वभाविक र अनावाश्यक थियो र हो।’ 

राष्ट्रियताको लहरमा एमाले र यसका नेतृत्वकर्ता केपी शर्मा ओलीलाई जनताले राज्य सञ्चालनको महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष थापाले विगत १०० दिनका घटना क्रमले राष्ट्रियता बलियो बनाउने आधारमा आशंका पैदा भएको बताए।

प्रत्येक गाउँपालिकामा गौशाला

अध्यक्ष थापाले पछिल्लो समय धर्म परिवर्तन, भ्रष्टाचार, संविधानको आवरणमा बढ्दै गैरहेको सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल प्रमुख चूनौतिको रुपमा देखा परेकोले यी सबै चूनौतिको सामना गर्नको लागि राष्ट्रियताको संरक्षण, हिन्दूराष्ट्रको पूर्नस्थापना, प्रजातन्त्रको सुदृढिकरण र प्रजातान्त्रिक शक्तिहरूका बीचमा एकता अनिवार्य आवश्यक रहेको सुनाए। 

उनले योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै धर्म परिवर्तन गराउने व्यक्ति, समूह र गिरोहलाई संविधानको भावना अनुसार कारवाही गर्नुपर्ने माग गरे। उनले भने, ‘धर्म परिवर्तन गराउन षड्यन्त्र गर्नेहरूलाई नियन्त्रण गर्न हामी सरकारसँग जोडदार माग गर्छौं।’

त्यस्तै, अध्यक्ष थापाले गौ हत्या गर्नेहरूलाई पनि नियन्त्रणमा लिन र गौहरूको सुरक्षाको लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे। उनले भने,‘सरकारले प्रत्येक गाउँपालिकामा गौ–शाला स्थापना गरोस।’

‘एकताको लागि अध्यक्ष पद छोड्न तयार छु’

थापाले नेपालको पाठ्यक्रम सुधारको नाममा नेपालको इतिहाँस, संस्कृति, धर्मलाई कमजोर बनाउने र ईतिहाँसको अपव्याख्या गर्ने कार्य हुन लागिरहेकोले यस्ता कामहरूलाई रोक्नको लागि सरकारको ध्यानाकार्षण गराए। उनले भने, ‘संस्कृत भाषाको अध्ययन तथा अध्यापन हुनुपर्छ, यसको संरक्षण तथा सम्वद्धन गर्नुपर्छ।’

अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको लागि तीन वटै राप्रपाबीच एकता हुनुपर्नेमा जोड दिँदै त्यसको लागि आफू अध्यक्ष पद छोड्न समेत तयार रहेको सुनाए। उनले भने, ‘विगतमा जे कुराहरू भए, अब ती कुरामा आरोप–प्रत्यारोप गर्नुहुँदैन्, एकता कायम गर्नुपर्छ, यस प्रयोजनको लागि म लोहनीजी र राणाजीलाई आह्वान गर्दछु, एकताका निम्ति म आवश्य पर्यो भने अध्यक्ष पद छोड्न र हदैसम्मको लचकता अपनाउन तयार छु।’

हालै सम्पन्न भएको राप्रपाको केन्द्रिय परिषदको तीन दिने बैठकका बारेमा जानकारी दिँदै अध्यक्ष थापाले राजनीति तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढिकरण र प्रशिक्षणसम्बन्धी कार्ययोजनालाई पारित गरेको पनि जानकारी दिए। 

हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि निर्णायक जनसंघर्ष

त्यस्तै निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली कांग्रेससँगको तालमेललाई पराजयको मुल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्थासहितको लोकतन्त्र र हिन्दूराष्ट्रको पूनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गरेको पनि थापाले सुनाए। 

उनका अनुसार राप्रपाले जेठदेखि माघ मसान्तभित्र छुवाछुतविरुद्ध राष्ट्रिय अभियान चलाउने, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दूराष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डफोर अभियान सञ्चालने गर्ने र समान विचारधारा भएका व्यक्ति समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ। त्यस्तै उनले २०७५ पुसभित्रै ७५३ वटै गाउँपालिका र सबै वडाहरूमा पार्टीका संगठनहरूलाई पूर्नगठन गरिने पनि सुनाए। 

२०७५ फागुन ७ गतेबाट हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि निर्णायक जनसंघर्ष गर्ने बताउँदै अध्यक्ष थापाले भने, ‘हामी यसको लागि वारपारको जनसंघर्ष हुन्छ।’ संविधान र संवैधानिक व्यवस्थालाई उपयोग गर्दै सहकार्य गर्ने र आफ्ना सिद्धान्त र नीतिलाई स्थापित गर्ने पार्टीको धारणा रहेको उनले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.