|

रुकुम : घरमा शौचालय नबनाए सरकारी सेवा बन्द हुने त एक/दुई वर्षयता देशका विभिन्न ठाउँहरूबाट समाचार आउने गरेका थिए। के घर लिपपोत नगरे पनि सरकारी सेवा हुने कतै सुन्नुभएकोे थियो? तर अब अचम्म मान्नुपर्दैन नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ। 

गाउँपालिको २ नम्बर वडा कार्यालयले एक महिनाभित्र घर लिपपोत नगरे वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सरकारी सेवाहरू बन्द गर्ने चेतावनी सहितको सूचना निकालेको छ। केही दिनअघि बसेको २ नम्बर वडाको १३औँ बैठकले निर्णय गरेर वडा क्षेत्रका प्रत्येक घरधुरीले असार मसान्तभित्र घर लिपपोत नगरेमा वडाबाट प्राप्त हुने सेवासुविधा नदिने निर्णय गरेको वडाअध्यक्ष नरबहादुर बुढाले जानकारी दिए। 

उनका अनुसार यसअघिकै बैठकले भाद्र १६ गतेदेखि नै वडाले पूर्ण सरसफाइ अन्तर्गत घरआगनको सरसफाई सँगै लिपपोत गर्ने निर्णय गरेको थियो। निर्णय भएको लामो समय बितिसक्दा पनि स्थानीयले कार्यान्वयन नगरेपछि पुनः सार्वजनिक सूचना निकालिएको हो। 

‘आफ्नोे घर आगन सरसफाइ र लिपपोत त सबैले गरेर वातावरण सुन्दर बनाउनु पर्या नी!, त्यसका लागि यसअघि भएकै निर्णयलाई हामीले पुनः सूचनाको रुपमा प्रकाशन गरेका छौँ,’ अध्यक्ष बुढाले भने, ‘अहिले नै लिपपोत नगरेको घरलाई सेवासुबिधा रोकेका छैनौँ, आगामी असारसम्म पनि अटेरी भयो भने त त्यो रोक्ने काम हुने भैहाल्यो।’

जिल्ला खुला दिसामुक्त भए पनि घरआगनको सरसफाइ र वातावरणीय सुन्दरमा खासै ख्याल नहुँदा यस्तो प्रयास गरिएको वडा कार्यालय जनाएको छ। ‘शौचालयमा दिसा गरेर मात्र के गर्नु, घरआगन भद्रगोल अनि फोहोर छ, पशु–चौपायको मलमुत्र पनि यत्रतत्र छ भने कसरी हामी स्वस्थ्य जीवनयान गर्न सक्छौँ’ वडा अध्यक्ष बुढाले भने, ‘लिपपोतलाई थप आर्कषक बनाउन चाहेमा वडा कार्यालयले प्रत्येक घरधुरीलाई पाँच किलो रङ दिनेसमेत निर्णय भैसकेको छ।’

वडा कार्यालयले अन्य नियमित विकास निर्माणका कामहरूमा पनि तिब्रता दिइरहेको बताइएको छ। आगामी आर्थिक वर्षका लागि संभावित सडक, खानेपानी, घोरेटो तथा गोरेटोबाटो, विद्युत, शिक्षा तथा स्वास्थ्य र संस्कृति पर्यटनको योजनासमेत तर्जुमा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.