विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ। नगरपालिकाको पहलमा सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर लगाएर हटाइएको हो।
नगरलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यअनुरूप सडक नै अतिक्रमण गरी बनाएको संरचनाहरू हटाउने अभियान सुरु गरिएको सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले जानकारी दिइन्। सुन्दरहरैँचा नगरपालिकामा पूर्व-पश्चिम लोकमार्गअन्तर्गत ८२.५ फिटमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा र अव्यवस्थित संरचनालाई हटाउने अभियान सुरु भएको उनले जानकारी दिइन्।
पूर्वको किस्ती खोलादेखि सुरु भएको अभियान खोर्साने, विराटचोक, सलकपुर गोठगाउँ हुँदै अब गछिया प्रवेश गर्ने बताइएको छ। सुन्दरहरैँचा नगरपालिकाको टोली, उद्योग वाणिज्य संघ, वडा अध्यक्ष, प्रहरी, उद्योग व्यापारी तथा स्थानीय बुद्धिजीवीहरू सबै यस कार्यमा लागिपरेका छन्। स्थानीय व्यापारीले समेत ८२.५ फिटभित्र पर्ने व्यापारिक प्रयोजनका लागि राखिएका समाग्रीहरू सहज रूपमा हटाइदिएकाले काम गर्न सहज भएको उपप्रमुख तामाङले बताइन्।
सडक अतिक्रमण गरी सडक छेउमा निर्माण गरिएको चौतारी, फलैँचा, यात्रु प्रतीक्षालय जस्ता सार्वजनिक संरचनासमेत हटाइएको छ। त्यस्तै, विराटचोक, सलकपुर र गोठगाउँमा रहेको ट्राफिक बिटसमेत डोजर लगाएर हटाइएपछि स्थानीयले गुनासो गरेका छन्।
नगर क्षेत्रलाई सफा र सडक विस्तारलाई फराकिलो पार्ने काममा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल आफैँ अग्रसर भएर लागेका छन्। ‘विकासका निम्ति भत्काइएका पुराना संरचनाको उचित व्यवस्थापन हुनेछ’, ढकालले भने, ‘नगर क्षेत्रलाई सफा, व्यवस्थित र सुरक्षित सडकको उपभोग गर्न यहाँका जनताले पाउनेछन्।’
पछिल्लो समय मोरङको सुन्दरहरैँचासँगै बेलबारी, पथरीशनिश्चरे, उर्लाबारीलगायतका नगरपालिकामा सडक मिचेर बनाइएका अवैध संरचना हटाउन अभियान नै सुरु भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।