सरोकारवाला उत्साहित

|

बारा :  बाराको दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएको छ। वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेको हो।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन स्वीकृत भएको छ,’ संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सामाजिक सञ्चालमार्फत सार्वजनिक गर्दै भनेका छन्’,–‘जसले गर्दा अब निर्माणको काम अगाडि बढाउने बाटो खुलेको छ।’ ईआईए स्वीकृत भएसँगै प्रारम्भिक निर्माणको कामअघि बढाउने बाटो खुलेको छ।

विमानस्थल निर्माणका लागि झण्डै २४ लाख रुख कटान गर्नुपर्ने छ। विमानस्थलले ८ हजार हेक्टर जमिन ओगट्नेछ। एयरपोर्ट सिटीबाहेक विमानस्थलकै मुख्य भागका लागि भने २ हजार हेक्टर जमिन पर्याप्त हुनेछ। तत्कालै निर्माणका लागि भने ५ लाख रुख काटिनेछ। सरकारले विमानस्थल क्षेत्रमा रेखदेख र संरक्षणको जिम्मा सेनालाई दिएको छ।

सरोकारवाला खुसी

विमानस्थल निर्माणका लागि संघर्षरत सरोकारवाला पक्ष उत्साहित भएका छन्। फास्ट ट्रयाक, एयरपोर्ट निर्माण तथा ब्यवस्थापन सरोकार समितिका संयोजक रवीराज दंगालले विमानस्थलन निर्माणको बाटो खुलेको प्रतिकृया दिए। उनले नेपाल सरकारलाई धन्यवादसमेत दिएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले दोस्रो विमानस्थल निर्माण प्रक्रियालाई तीव्रताकासाथ अघि बढाउनका लागि वारम्वार गरिएको आग्रहले महत्त्वपूर्ण फड्को मारेको बताए।  उनले एक हजार ४७६ घरधुरीसहितको टांगिया बस्तीको उचित पुर्नस्थापन प्रक्रिया छिटै पूरा हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

बस्ती ब्यवस्थापन

विमानस्थल निर्माण क्षेत्रभित्रका करिब १५ सय घरधुरीलाई सानुपर्ने छ। ४० वर्ष पुरानो जंगलका बीचमा रहेको बस्तीको जमिन सरकारी हो। पुर्जा नभएका कारण सरकारले मुअब्जा प्रकृयाअघि बढाएको छैन्। विमानस्थल प्रभावित काटँगाँउको ११० विगाहा जमिनको मुअब्जा निर्धारण गरी वितरण गरिरहेको छ। टांगिया सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले वातावरणीय प्रभाव मूल्याकंनमा औलाएको टांगियाको एक हजार ४७६ घरधुरीको व्यावस्थापन जमिनसहितको हुनुपर्ने भन्दै सरोकारवाला निकाय समेतको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए।

पुरानै डिपीआर

सरकारले निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियन कम्पनीसँग किन्ने निर्णय गरिसकेको छ। यसको डीपीआर कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडले तयार गरेको हो।

डिपीआरमा विमानस्थल क्षेत्रमा एयरपोर्ट सिटीको रहने उल्लेख छ। तर विमानस्थल क्षेत्रमा एयरपोर्ट सिटी राख्ने योजनाको सरोकारवालाले असन्तुष्टि जनाएका छन्। वरिष्ठ पर्यटन ब्यवसायी तथा चलचित्रकर्मी युवराज लामाले लामो समयदेखि विमानस्थल क्षेत्र बाहिरको कोहल्बी र निजगढलाई बनाउन उपयुक्त हुने भन्दै बहस गर्दै आएका छन्। ‘विमानस्थमा एयरपोर्ट सिटी बनाउँदा धेरै रुख काट्नुपर्ने अवस्था रहेको छ,’ लामाले भने–‘विमानस्थललाई जंगलले घेरिएको ग्रिन एयरपोर्ट बनाउन सकिन्छ।’

मोडालिटी अझैं अन्यौल

अब विमानस्थल निर्माणका लागि मोडालिटी टुंगो लाग्न बाँकी छ। विमानस्थल सरकारी–निजी साझेदारी र इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सनमध्ये कुन मोडालिटीमा निर्माण गर्ने भन्ने अन्योल छ। पर्यटनमन्त्री अधिकारीले पदबाहली गरेकै दिन एक महिनाभित्र निर्माणको मोडालिटी टुंग्याउने निर्णयमा हस्ताक्षर गरेका थिए। तर, अहिलेसम्म त्यो काम हुन सकेको छैन। उनले मन्त्रालयको पहिलो प्राथमिकतामा यहि विमानस्थल हुने प्रतिवद्धता जनाएका थिए। विमानस्थलको चारकिल्लाको तारबारको कामअघि बढिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.