|

पथरी : मोरङको पथरीशनिश्चरे-५ की एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजीमा भौँतारिरहेकी छन्। १३ वर्षको उमेरमा पथरीशनिश्चरे-५ का छिमेकी अर्जुन धिमालकोजबरजस्ती करणीबाट ती किशोरी गर्भवती भएकी थिइन्।

करणी भएको कुरा सार्वजनिक भए मारिदिने धिमालको धम्कीपछि किशोरीले वास्तविकता लुकाइन् तर, सत्य छिपेन। ६ महिनापछि किशोरी गर्भवती भएको हल्ला चल्यो। गर्भपतन गराउन गाउँका मानिस पथरी, दमक र इटहरीलगायतका स्वास्थ्य केन्द्रमा पुगे। तर गर्भवतीको उमेर १३ वर्ष मात्र भएकोले गर्भपतन सम्भव भएन।

समाजमा अप्ठ्यारो परेपछि अर्जुन पक्षकाले समाजका केही अगुवा र नातेदारको उपस्थितिमा किशोरीलाई जिम्मा लिए। तर, केटा पक्षले अर्जुनलाई छुटाएर झापाको बिर्तामोडमा बस्ने बन्दोबस्त मिलाए। तीन महिनापछि छोरी जन्मिइन्। छोरी जन्मिएपछि किशोरी पनि परिवारसँगै झापामा बस्न थालिन्। तर, किशोरीले न श्रीमानको माया पाइन् न त परिवारको साथ नै।

दैनिक कुटपिट यातना र धम्की खेपेकी किशोरी रगतपच्छे भएर पुनः माइतै फर्किइन्। दुई वर्षयता माइतमा बस्दै आएकी किशोरीसँग न त विवाह दर्ता छ, न बच्चाको जन्म दर्ता छ। उमेर नपुगेकोले नागरिकता पनि छैन।

महिला तथा वालबालिका केन्द्र विराटनगरकी महिला संयोजक गीता कट्टेलले किशोरीको पुन:स्थापना गर्न सहयोग गरिरहेका बताइन्। ‘किशोरीलाई न्याय दिनका लागि कानुनी बाटोको खोजी गरिरहेका छौँ,’ कट्टेलले भनिन्, ‘जसरी पनि उनलाई न्याय दिलाउँछौँ।’

‘पीडितको उजुरीका आधारमा न्यायको बाटो खोल्ने प्रक्रिया सुरु भइसकेको छ,’ इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले भने’ ‘केटालाई पक्राउ गरेर ल्याई छलफल गरी कानुनी कारवाही अगाडि बढाउँछौँ।’ किशोरीले भने केटासँग नाता प्रमाणित गरी भयरहित वातावरणमा बस्न पाउनुपर्ने बताउँदै आएकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.