|

कपिलवस्तु : कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट ३० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। १२३ बोरा कालो मरिचसहित ३० लाख ८२ हजार ८८० रुपैयाँ बराबरको भारतबाट भन्सार छली ल्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजादै गरेको सामान बरामद गरिएको कपिलबस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए। प्रहरीले कपिलवस्तुको मर्यादपुर, कृष्णनगर, रंगपुरलगायत ठाउँबाट उक्त परिमाणको अवैध सामान बरामद गरेको बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरेका समान सार्वजनिक गरेको छ। 

प्रहरीले २२ लाख ६० हजार ५०० बराबरको कालो मरिच, १२२ कार्टुन स्याउ, ५२ पेटी क्लोज अप, सहारा चुरोट दुई पेटी, भोला ११ बोरा, फ्रेन लवली तीन पेटी, खुकुरी चुरोट ३६ पेटी, नुन दुई बोरा, बिस्कुट १२ पोका, सेमई (मिठाई) २८ के.जी , छोडा पाँच केजी, नरिवल पाँच् केजी, कम्मल १० थान, चिनीलगायतका मालसामान बरामद गरेको छ।

जिल्ला सिमावर्ती क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले अबैध मालसमान नियन्त्रणमा लिएको हो। सिमावर्ती क्षेत्रबाट विनाभन्सार ल्याउदै गरेको अवैध मालसमान प्रहरीलाई देखेपछि छाडेर तस्करहरु भागेका प्रहरीले जनाएको छ। बरामद सामान कृष्णनगर भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरिक्षक यादवले बताए। 

दुई दिनको अन्तरालमा ६३ वटा अबैध रुपमा भित्र्याइएका गोरूसमेत प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि गोरू तस्करी नरोकिएको भन्ने ब्यापक जनआवाज उठेपछि प्रहरीले गोरू तस्करी नियन्त्रणमा कडाई गरेको छ। प्रहरीले विशेष कडाई र निगा्रनी गरेपछि केहि समय यता गोरु तस्करी रोकिएको प्रहरीको दाबी छ।

प्रहरीले ४ दिन यता मात्र तस्करी गरी नेपाल भित्राउन लागिएका ५६ वटा गोरू पक्राउ गरी भन्सार चलान गरेको छ। गोरूको मूल्य ५ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ। गत जेठ ७ गते कृष्णनगर–१ मडाहामा २२ वटा, सिसिंहवामा २१ वटा तथा गत जेठ ८ गते यशोधरा गाउपालिका– ७ सोमडिहमा १३ वटा गोरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरू तस्करहरूले भन्सार, पुश क्वारेन्टाइन, भन्सारका कर्मचारी, प्रहरी, पशु हाजबजारका मान्छेलाई मिलाएर निर्वाध गोरू तस्कारी गर्दै आएका थिए। प्रजिअ मदन भुजेलले कडा निर्देशन दिएपछि १० दिनअघि सरुवा भई कपिलबस्तु आएका प्रहरी उपरीक्षक मनोज कुमार यादवले गोरू तस्कारी रोकेका हुन्। 

प्रजिअ भुजेलले कृषि प्रयोजन बाहेक अब जिल्ला बाहिर गोरू लैजान नदिने बताए। प्रहरी उपरीक्षक यादवले गोरू तस्करी मात्र नभै सबैखाले तस्करी रोक्ने बताए। ‘सबै खाले तस्करीलाइ शून्यमा झार्छौँ’ उनले भने ‘ तस्करी रोक्न नाकाहरुमा विशेष निग्रानी गरेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.