|

गाउँका दाजु–दिदीले फुटबल, जर्सी र बुट बोकेर हिँडेको देख्दा इलामको सुर्योदय नगरपालिका– १२ तीनघरेकी एन्जिला तुम्बापो सुब्बा मनमनै सोच्थिन्– ‘म पनि यसरी नै स्वतन्त्र रूपमा फुटबल खेल्न पाउने दिन कहिले आउला।’ उनी घरमा बाबुआमाको डरका कारण भागीभागी फुटबल खेल्न जाने गर्थिन्। 

१२–१३ वर्षको उमेरमै पुरुष टिमहरूसँग प्रतिस्पर्धा गर्ने उनको क्षमता देखेर दिदी मनिता राई आफैँ पनि खेलाडी भएकाले एन्जिलालाई समर्थन गर्थिन्। घरबाट खासै समर्थन नभएकाले उनी अरूकै च्यातिएको जुत्ता र फाटेको जर्सी लगाएर अभ्यास गर्न जान्थिन्। घरको सबै काम सकेर फुटबल खेलेर बेलुका फर्किंदा कति रात भोकै सुतेको तीतो यथार्थ पनि छ उनीसँग। फुटबल खेल सुरुवात गर्दाका क्षण सम्झिँदै एन्जिला भन्छिन्, ‘ममीले सपोर्ट गर्नुहुन्थ्यो तर बाबाले भने गाली गर्नुहुन्थ्यो। कति रात त भातसमेत खान पाइनँ तर हिम्मत भने हारेकी थिइनँ।’ यसरी नै अथक मिहिनेतका कारण एक वर्षदेखी राष्ट्रिय महिला फुटबल टिमको पहिलो रोजाइको गोल रक्षक बन्न पाउँदा खुसी लागेको उनी बताउँछिन्। 

फुटबलमा पहिलो पाइला

२०६८ सालमा फिक्कल पान्दाममा महिला फुटबल प्रतियोगिता हुने भएपछि उनी फरवार्ड पोजिसनमा खेल्न गएकी थिइन् तर उनको टिमबाट खेल्ने गोल रक्षक नआएपछि दिदीको आग्रहमा मन नलागी नलागी पनि गोल पोस्ट सम्हालेकी थिइन्। उक्त खेलमा पान्दामले कन्याम टिमलाई हराउँदै उपाधि जितेपछि भने दाजु मिलन राईले गोल किपर खेल्यो भने राष्ट्रिय टिमबाट समेत खेल्न पाइन्छ भनेपछि किपर खेल्न थालेको उनी सुनाउँछिन्। त्यसबेलासम्म फुटबल खेलमा महिलाको राष्ट्रिय टिम हुन्छ भन्नेसमेत उनलाई थाहा थिएन। 

सोही वर्ष इलाममा महिला फुटबल खेलाडी छनोट हुने भएपछि मनिता राई र भिनाजु सोनाम योल्मुले घरमा बाबुआमालाई राजी गराएर छनोट प्रतियोगितामा लगेका थिए। इलामबाट छनोट भएपछि क्लोज क्याम्पमा बस्दा उनले प्रशिक्षक दर्शन भक्तराजबाट फुटबल खेलका प्राविधिक ज्ञानहरू हासिल गरिन्। उनी भन्छिन्, ‘त्यसबेला मलाई फुटबल खेलको पोजिसनको बारेमा समेत ज्ञान थिएन। इलाममा गोल किपर सिकाउने कोचको अभाव थियो, दर्शन गुरुले यसरी गर, उसरी गर भनेको भरमा खेलमा केही सुधार आयो।’ इलामबाट छनोट भएपछि विराटनगरमा क्षेत्रीय छनोट प्रतियोगितामा इलाम टिम प्रथम हुँदा गोल पोस्ट सम्हाल्ने जिम्मा उनले पाएकी थिइन्। 

सोही वर्ष भारतको विहारमा भएको प्रतियोगितामा सुस्मा राईले पूर्वाञ्चल टिमको गोल पोस्ट सम्हाल्दा एन्जिला दोस्रो रोजाइको गोल रक्षकको रूपमा बेञ्चमै सीमित भइन्। पूर्वाञ्चल टिमबाट डेव्यु गर्न भने उनले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०६८ फागुन नै कुर्नुपर्‍यो। 

नियमित गोल रक्षक सुस्मा राईको अनुपस्थितिका कारण १४ वर्षिया एन्जिलाले मध्यमाञ्चलविरुद्ध पूर्वाञ्चलको गोल पोस्ट सम्हालेकी थिइन्। गीता कठेतको नेतृत्वमा उत्रिएको पूर्वाञ्चल टिम उक्त प्रतियोगितामा चौथो भए पनि एन्जिलाको गोल रक्षा गर्ने शैली र हिम्मतको चर्चा सर्वत्र प्रतियोगिताभर भयो। 

एपिएफ क्लबमा प्रवेश

छैटौँ राष्ट्रिय खेलकुदमा एन्जिलाको खेलकौशल देखेर विभागीय टिम एपिएफका अफिसियल नरबहादुर राई र प्रेम श्रेष्ठले अनुबन्ध गराउन इच्छा देखाए। करफोक विद्यामन्दिरमा कक्षा ९ मा अध्ययन गर्दै गरेकी एन्जिलालाई जागिरसमेत दिने भनेपछि परिवारले काठमाडौं पठाउन सहमत भए। दिदी मनिता र भिनाजु सोनाम योल्मुले उनलाई काठमाडौं लगेका थिए। राजधानी पुुगेपछि उनी इलामकै खेलाडी रञ्जना दर्जीसँग बस्न थालिन्। पूर्ण स्मारिका निम्नमाध्यमिक विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरेर करफोकमा कक्षा ९ अध्ययन गर्दै गरेकी उनी काठमाडौं गएपछि प्रेम श्रेष्ठले न्यू अरुणोदय बोर्डिङमा कक्षा ८ मा नै भर्ना गरिदिए। गाउँघरमा सेभेन साइडको मैदानमा खेलेकी उनलाई हलचोक मैदानमा खेल्न सुरुमा निकै असहज भयो। प्रशिक्षक चन्दन सरकारले नियमितजसो प्रशिक्षण दिएपछि फुटबल पोजिसनको विषयमा निकै जानकार भइन्। 

टिम सेटमा पर्न कसरत

टिम सेटमा पर्नका लागि उनले निकै कसरत गर्नुपर्‍यो। धेरै अघिदेखि एपिएफको गोल पोस्ट अम्बिका दाहालले सम्हालिरहेको अवस्थामा नवप्रवेशी भएकाले एन्जिलाले हत्तपत्त अवसर पाउँदैनथिन्। एपिएफले २०६९ सालको एनसेल कपमा पुलिसलाई हराउँदै उपाधि जित्दा र धनगढीमा सम्पन्न लिगमा दोस्रो हुँदासमेत उनले दोस्रो रोजाइको गोल रक्षकको रूपमा बेञ्चमा नै सीमित हुनुपर्‍यो। नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापति कपको पहिलो संस्करण २०६९ सालमा उनले आफ्नो पूर्व टिम पूर्वाञ्चलविरुद्ध एपिएफबाट डेव्यु गरिन्। पाँचै वटा संस्करणको प्रधानसेनापति कप एपिएफबाट खेलेकी उनी तीनवटामा सर्वोत्कृष्ट गोल रक्षक चुनिइन्। 

सन् २०१८ फ्रेव्रुअरी १९ मा हङकङको राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण खेलमा ३–१ ले एपिएफले जित्दासमेत उनी मुख्य खेलाडीको रूपमा थिइन्। एन्जिला २०७२ फागनुबाट सशस्त्र प्रहरीको जवान पदमा कार्यरत छन्।

राष्ट्रिय टिममा आगमन

एन्जिला सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु– १४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेव्यु गरेकी थिइन्। सन् २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी दुई वर्ष बेञ्चमा नै सीमित भइन्। सिनियर टिमबाट डेव्यु म्याचका लागि सन् २०१६ को साग नै कुर्नुपर्‍यो। सेमिफाइनल खेलमा नेपालकी नियमित गोल रक्षक लीला लाम्गादेको स्थानमा गोल पोस्ट सम्हाल्दै सिनियर टिमबाट डेव्यु गरिन् उनले। उक्त प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसँग पराजित बन्दै रजत पदक प्राप्त गरेको थियो। 

त्यसपछि नेपालले आयोजना गरेको मैत्रीपूर्ण खेलमा मलेसियाविरुद्ध गोल पोस्ट सम्हाल्ने अवसर पाइन्। २६ डिसेम्बर सन् २०१६ देखि ४ जनवरी २०१७ सम्म भएको साफ वुमन च्याम्पियनसिपमा माल्दिभ्सबाहेकका सबै खेलमा नेपाली गोल पोस्ट सम्हालिन् उनले। उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा आयोजक भारतसँग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो। त्यसयता सन् २०१७ मा मलेसियाविरुद्धका दुईवटै मैत्रीपूर्ण खेलमा गोल पोस्ट सम्हाल्ने अवसर पाइन्। 

‘महिला र पुरुषलाई समान सुविधा होस्’

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउँछ। पुरुष टोलीका खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउँछन्। महिला टोलीका खेलाडीले भने मासिक सात हजार रुपैयाँ मात्र पाउँछन्। एन्फाको यही व्यवहार एन्जिलालाई मनपरेको छैन। पुरुष र महिलालाई सम्मानजनक सुविधा हुनुपर्ने उनको तर्क छ।

तलब मात्र होइन, अन्य सुविधामा पनि महिला खेलाडीलाई विभेद छ। उनी भन्छिन्, ‘पुरुषका विभिन्न प्रतियोगिता आयोजना गरिन्छ र टोलीलाई व्यस्त बनाइन्छ तर हामीले एउटा खेल खेल्न वर्षौं कुर्नुपर्छ। धन्न आर्मीले वर्षैपिछे प्रधानसेनापति कप आयोजना गर्छ नत्र भने त एउटै प्रतियोगिता नखेली वर्ष बित्नेरहेछ।’

‘खेलाडीको स्तर बढ्ने भनेको निरन्तरको म्याच एक्स्पोजरले हो। तर महिला टोलीलाई घरेलु या अन्तर्राष्ट्रिय दुवैतर्फ प्रतियोगिता सीमित मात्र छन्। देशैभर दुई दर्जन हाराहारी पुरुष टिम सहभागी गोल्ड कपहरू आयोजना हुन्छन् तर तपाईंले सुन्नुभएको छ महिलाको प्रतियोगिता? फरक यहीँनेर छ।’

सागमा गोल्ड मेडल जित्दा नवयुग श्रेष्ठलाई गृहजिल्लामा सम्मान गरिँदा सिल्भर मेडल जित्ने एन्जिलाको चर्चा कतै सुुनिएन। उनी भन्छिन्, ‘सागमा गोल्ड मेडल जित्दा नवयुग दाइलाई इलाममा अवीर जात्रा गरेर नगर घुमाइयो तर मलाई जिल्लाबाट एक कल फोनसमेत गरेनन्। आखिरीमा गोल्ड होस् या सिल्भर मेडल। खेल त प्रतिष्ठाका लागि खेल्ने हो नि! सिल्भर भए पनि देशका लागि मेडल त मैले पनि पाएको थिए नि!’

साफ च्याम्पियनसीप जिताउने धोको

पाँच फिट तीन इन्च उचाइ भएकी एन्जिलाले राष्ट्रिय टोलीबाट डेव्यु गरेको दुई वर्ष मात्र हुँदै छ। २१ वर्षिया एन्जिलाको राष्ट्रिय टोलीबाट खेल्ने ठूलो लक्ष्य थियो। त्यो पूरा भइसकेको छ। अब उनको लक्ष्य नेपालको महिला टोलीलाई साफ च्याम्पियनसीप जिताउने हो। एन्जिला भन्छिन्, ‘मेरो लक्ष्य भनेको नेपाली गोल पोस्ट सम्हालेर साफ र साग गेममा नेपाललाई विजेता बनाउने हो। उपाधिमा भारतको एकाधिकार तोड्ने हो।’ 

सिद्धार्थ कलेज बाफल काठमाडौंमा व्यवस्थापन संकायमा स्नातक प्रथम वर्ष अध्ययनरत उनी फुटबल खेलबाट भविष्य बनाउन चाहन्छिन्। फुटबलमा निरन्तर सफलतासँगै एन्जिला भन्छिन्, ‘एपिएफमा मलाई भित्र्याउने प्रेम सर मेरा लागि गडफादर हो। उहाँ नभएको भए सायद म फुटबलमा हुन्न थिएँ। इलामबाट मेरा दिदी–भिनाजु र दर्शन गुरुले आजको यो स्थानसम्म पुर्‍याउनुभयो।’ मनपर्ने नम्बर भएकाले नेपाली राष्ट्रिय टिमको जर्सी नं. १६ उनले लगाउने गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.