|

अछाम : १३ बर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलमा शुक्रबार परीक्षण उडान गरीने भएको छ। विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि शुक्रबार समिट एयरको १९ सिटे विमानले परीक्षण गर्ने नागरिक उड्यन प्राधिकरणका प्राविधिक इन्जिनियर योगेन्द्रराज शर्माले बताए।

समिट एयरको जहाज बिहान १० बजे हुम्लाको सिमिकोटबाट साफेबगर विमास्थल आइपुग्ने छ। तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो। बीचमा केही समय सञ्चालन भए पनि २०६२ सालयता पूर्णरूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो।
निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ। विमानस्थलको पाँच सय मिटर लम्बाइ र ८० मिटर चौडाइ भागमा कालोपत्रे गरीएको छ।  भ्याटसहित ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको हो।

पहाडी क्षेत्रका विमानस्थलमध्ये साफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ। प्रदेश ७ को २ वटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो। अछामको मुख्य व्यापारिक केन्द्र साफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन्। जिल्लामा २ वटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयले लाभ लिन सकेका छ्रैनन्।

विमानस्थल सुचारु भए आवतजावतमा  सजिलोका साथै विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा कमी आउने यहाँका नागरिकको बुझाइ छ।

२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो। २०४४ सालदेखि २०५८ सालसम्म भने विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो। तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने कुनै पनि पहल भएको छैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.