|

दैलेख  : खानेपानीको समस्या झेल्दै आएका जिल्लाको ठाटीकाँध गाउँपालिका स्थानीयले एक वर्षभित्र २४ सै घण्टा पानी पाउने भएका छन्। 

आगागी एक वर्षभित्र काम सम्पन्न गर्ने गरी योजनाको काम तीव्र पारिएको छ। योजना सम्पन्न भएपछि गाउँपालिकाका ३ वटा वडाका स्थानीय नागरिकहरुको घरघरमा धारा जोडिने भएको छ। खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरु गाउँमा खानेपानी ल्याउन जुटेका छन्। 

गाउँपालिकका १, २ र ६ वडाका स्थानीयहरु आयोजनाबाट प्रभावित हुनेछन्। त्यहाँ खानेपानीको हाहाकार हुने गर्दछ। ठाटीकाँध बजार र आसपास हिउँद या वर्षा दुवै समयमा पानी लिन निकै टाढा जानुपर्ने बाध्यता रहेको छ।

गाउँपालिकाले यहाँका स्थानीयहरुको पहिलो आवश्यकता खानेपानीका लागि ठुलो रकम खर्चेर आयोजना निर्माणको काम थालेको हो। ०७४ चैत्र २० गते सम्झौता भई काम सुरु भईसकेको छ। खानेपानी आयोजना २०७६ असार मसन्तासम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ। अहिले पहिलो पेश्की रकम ८९ लाख ११ हजार १ सय ९ रुपैँया भुक्तानी भएको गाउँपालिकाले जनाएको   छ।

खानेपानी योजनाबाट प्रभावित वडाहरु १, २ र ६ का ठाटीकाँध बजार, लामामेला टोल, काँडाचौर र पिपलचौरा टोलका २ सय ६७ घरधुरी समेटिने छन्। आयोजनाभित्र समेटिएका २ सय ६७ घरमै धारा जोडिने खानेपानी आयोजनाका फिल्ड संयोजक हरिकृष्ण थापाले  बताए। २ सय ६७ घरधुरीका १७ सय २२ जनसंख्या प्रत्यक्ष रुपमा लाभ लिनेछन्। गाउँपालिकाको २ नम्वर वडाको जौचौरबाट ११ हजार ४ सय ५७ हजार मिटर मुख्य पाईपलाईनबाट पानी ल्याईने जलस्रोत प्राविधिक केशर शाहीले बताए।

मुख्य लाइनबाट ट्यांकीमा पानी झारिसकेपछि २३ हजार ६ सय १७ मिटर वितरण लाइनमार्फत ३ वटा वडाका २ सय ६७ वटा धारा बनाइने शाहीले बताए। जम्मा ३५ हजार १ सय १४ मिटर पाईपलाईन विछ्याइने जनाइएको छ। गाउँमा पानी सुविधा पनि आउदैछ, ठाटीकाँध खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष मनबहादुर मगरले भने, गाउँमै रोजगारी सिर्जना पनि भएको  छ।

श्रमदानदेखि दैनिक ज्यालामा स्थानीयहरुले नै काम गरिएको आयोजनाका सचिव खड्कबहादुर विष्टले बताए। जनताको प्रमुख आवश्यकता खानेपानी भएकाले पहिलो प्राथमिकता दिएर खानेपानी आयोजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले  बताए। 

खानेपानी आयोजनाका लागि ठाटीकाँध गाउँपालिकाले दुई आर्थिक वर्षको १ करोड १८ लाख १ सय ३ रुपैयाँ र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले प्राविधिक सहयोगका साथै साझेदारी रकम ६० लाख २२ हजार १ सय १७ रुपैँयामा खर्च गर्ने भएको हो।

ठाटीकाँध खानेपानी तथा सरसफाइ आयोजनाका लागि अनुदान रकम १ करोड ७८ लाख २२ हजार २ सय १९ रुपैयाँ रहेको छ। स्थानीयको जनश्रमदान ६५ लाख ३२ हजार ९ सय ९६ रुपैँया हुने गाउँपालिकाको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.