|

दाङ :  देउखुरीमा मकैका विभिन्न परिकार बनाउने सीप सिकाउन सुरु गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यक्रम अर्थात् 'सुपर जोन मकै'  लागु भएको राप्ती गाँउपालिका र लमही नगरपालिकाका विभिन्न वडाका युवायुवतीहरुलाई कुकिज, केक, बच्चाले खाने सर्वोत्तम लिटोे, खिर, चिप्स, पकौरा जस्ता खानेकुरा बनाउन सिकाइएको परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले बताए।

मकैबाट धरिया, मकै भुटेको खाजा, रोटी र कुखुरा, हाँस र जनवारलाई चाराको रुपमा प्रयोग हुने मकैको यति धेरै परिकार हुन्छ भन्ने यसअघि थाहा नै नभएको सुनपुरका इस्तिफन चौधरीले बताए। दुई दिनको प्रशिक्षणबाट धेरै परिकार बनाउन सिक्न पाएको चौधरीले बताए। रोटी, धरियाँ र मकैको भुटेको खाजाका बारेमा मात्र जानकारी पाएकी पुनम घर्तीले कुकिज, केक, सर्वोत्तम लिटो बनाउन सिकेपछि स्वरोजगार बन्न मद्दत पुग्ने आशा पलाएको छ। अब घरमा बसीबसी राम्रो आम्दानी हुने वस्तु बनाउन सकिने आँट अाएको उनले बताइन्।  

मकै खेती गर्दा घरमा सामान्य प्रयोग हुने गरेको तर मकैको बोट चौपायाको आहारा, मकैको दाना पौष्टिक तत्त्वसहितका विभिन्न खानेकुरा बन्ने जानकारी पाएकी पिपरीकी जानकीकुमारी चौधरीलाई मकै खेतीप्रति मोह बढेको छ। 

देउखुरीको राप्ती गाँउपालिका र लमही नगरपालिकामा लागू भएको सुपरजोन मकै कार्यक्रमले ती क्षेत्रमा वर्षमा तीन बाली मकै खेती गर्ने सीप, क्षमता, अनुदान र यान्त्रिक सहयोगका साथै उद्यमशीलताका लागि समेत टेवा पुर्‍याउँदै आएको छ। बुधबार शुरु भएको मकैका परिकार बनाउने सीप सिक्न झण्डै ४० जना सहभागी भएका छन्। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका प्राविधि सहायक प्रतीक्षा पण्डित र सञ्जीवकुमार सिंहले तालिम दिइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.