जनप्रतिनिधिले विद्यालयको अवस्था बुझ्‍न सकेनन् : समिति अध्यक्ष सिंह

|

जाजरकोट : नलगाड नगरपालिका-१३ फुम्दास्थित भगवती प्राथमिक विद्यालयका विद्यार्थीहरू धुलोमै बसेर पढ्न बाध्य भएका छन्। सम्बन्धित पक्षले विद्यालयमा ध्यान नदिएपछि उक्त विद्यालयका विद्यार्थीहरू धुलोमै बसेर पढ्न बाध्य भएका हुन्।

भगवती प्राथमिक विद्यालयका कक्षाकोठामा विद्यार्थीहरु धुलाम्य भएर पढिरहेका हुन्छन्। विद्यालयका कुनै पनि कक्षा कोठामा टेबुल बेन्च नभएपछि धुलैधुलो भएको भुइँमै बसेर विद्यार्थीहरु पढ्न बाध्य छन्। कक्षा कोठामासँगै बसेर पढिरहेका विद्यार्थीहरु धुलोका कारण एकले अर्कोलाई चिन्न नसक्ने अवस्थाका बनेका हुन्छन्। यस्तो अवस्थामा पनि विद्यार्थीहरुका अभिभावक, विद्यालय व्यवस्थापन समिति, त्यहाँका जनप्रतिनीधि कसैले पनि ध्यान दिएका छैनन्। 

नलगाड नगरपालिका-१३ फुम्दामै २ वटा खानेपानी आयोजना मर्मतमा झण्डै साढे ८ लाख, साइकुमारी तीर्थस्थल निर्माणमा ३ लाख ८८ हजार र गारेटोबाटो निर्माणमा ४ लाख ९० हजार विनियोजन गर्ने जनप्रतिनिधिले पनि उक्त भगवती प्राथमिक विद्यालयमा धुलाम्य भएर पढिरहेका विद्यार्थीहरूको अवस्थालाई बुझ्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर सिंहले बताए।

कक्षा १ देखि कक्षा ५ सम्मको पढाइ हुने उक्त विद्यालयमा बाल शिक्षामा अध्ययनरत बालबालिका २३ जना रहेको विद्यालय प्रअ जयबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार कक्षा १ देखि कक्षा ५ सम्म यसवर्ष पढ्ने विद्यार्थीहरुको संख्या ७१ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.