|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रतिपक्षी दल 'आफ्नै मनको बाघ'बाट लखेटिइरहेको प्रतिक्रिया दिएका छन्। शुक्रबार संसदमा बोल्दै नेता भट्टराईले प्रतिपक्षको रचनात्मक भूमिका संसदीय लोकतन्त्रको गहना भएको उल्लेख गर्दै वर्तमान प्रतिपक्षी आफै भय, त्रास, अन्यौल र दुविधाको सिकार बनेको बताए।

ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले प्रतिपक्षी सांसदहरुको अभिव्यक्तिलाई बासी प्रश्नहरुको पुलिन्दा जस्तै भएको भन्दै समयले ताजा प्रश्नहरु जन्माएको र ताजा उत्तर खोजिरहेको बताए। 'आफ्नै मनको बाघले लखेटिरहेको वर्तमान प्रतिपक्ष आफैं भय, त्रास, अन्योल, अनिश्चय र दुविधाको सिकार बनिरहेको छ। ऊ आफ्नै इतिहासको गह्रौं भारीले असाध्यै नराम्ररी थिचिएको छ,' नेता भट्टराईले भने, 'प्रतिपक्षका माननीयज्यूहरुको अभिव्यक्ति बासी  प्रश्नहरुको पुलिन्दा जस्तै छन् र समयले ताजा प्रश्नहरु जन्माएको छ र ताजा उत्तर खोजिरहेको छ। बासी र पुराना प्रश्नxc अल्यमल्याएर सत्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षका मित्रहरुलाई अनुरोध गर्दछु।'

लोकतन्त्रलाई पद्धतिको रुपमा मात्रै नभएर संस्कृतिको रुपमा समेत अबलम्बन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले प्रतिपक्षको संबैधानिक भूमिका र मर्यादाप्रति सदैव संबेदनशिल हुने बताए। २०४८ सालको संसदमा जस्तो वर्तमान संसदमा प्रतिपक्षले उपेक्षा भोग्नु नपर्ने भन्दै उनले निधेषको अनुभव गनुनपर्ने बताए।

नेता भट्टराईले तत्कालिन समयमा मृत्यु र मृत्यु र जीवनसँग जुधिरहेका नेता मनमोहन अधिकारीमाथि गरिएको अमावनीय र संवेदनहीन व्यवहार यो संसदको कुनै पनि माननीय सदस्यमाथि पुनरावृत्ति नहुने ठोकुवा गरे। बिर्सन लायक संवेदनहीन कदम दोहोरिन नदिने उनले ठोकुवा गरे।

'सिद्धान्त र इतिहासको मृत्यु' भयो भन्ने भ्रान्तीलाई प्रचार गरेर राज्यलाई दलालहरुले कब्जा गर्ने, राज्य र जनताबीचमा सदैव शत्रुतापूर्ण सम्बन्ध बनाइरहने मान्यता कुनै पनि वहाना र मूल्यमा नेकपालाई स्वीकार्य नहुने भन्दै भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायतमा राज्यको नेतृत्वदायी भूमिकालाई स्वीकार गरेको बताए।

लोककल्याणकारी राज्यको स्थापना सँगै राजनीतिक संस्थाहरुमा बढ्दो दलाली चरित्रलाईलाई अन्त्य गर्ने अपेक्षा गरिएको भन्दै भट्टराइले सरकारले ल्याएको नीति तथा कार्यक्रम सहिदको सपना साकार पार्ने मार्गचित्र भएको बताए।

सरकारको नीति तथा कार्यक्रम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भावी विश्वास, बाटो र उज्यालो रहेको भन्दै उनले भने, 'आधुनिक राष्ट्र निर्माण र लोकतन्त्र प्राप्तिका खातिर नेपाली आमाका कर्मठ र योग्य सन्तानहरुको वीरता र बलिदानको उच्च सम्मान गर्दै ती तमाम आदरणीय शहीद तथा अग्रजहरुको सपनालाई साकार पार्ने दृढ अठोटको मार्गचित्र हो, ‘यो नीति तथा कार्यक्रम।'

गएको निर्वाचनमा वाम गठबन्धनले नेपाली जनता समक्ष गरेका बाचा, खाएको कसम र देखाएको सपनालाई बस्तविकतामा बदल्ने बृहत परियोजना समेत भएको उनले बताए। सरकारको नीति तथा कार्यक्रम लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र परिवर्तनको निम्ति विगत सात दशकयता भएका ऐतिहासिक शान्तिपूर्ण राजनीतिक क्रान्ति, संशस्त्र संघर्ष, जनआन्दोलन, सामाजिक र समुदायिक आन्दोलनप्रतिको नेपाल राष्ट्रको उत्तरदायित्वको समष्टिगत दस्तावेज भएको उनले बताए।

२००७ साल देखि २०६२/०६३ मा भएका ऐतिहासिक क्रान्ति र आन्दोलनहरु मुलतः वाम लोकतान्त्रिक शक्ति र उदार लोकतान्त्रिक शक्तिको सहकार्यबाट सम्पन्न भएको वास्तविकलाई कसैले विर्सन नहुने भन्दै सांसद भट्टराईले संबिधानसभामा वामपन्थी शक्तिले प्रभावकारी भूमिकासहित नेतृत्व नगरेको भए संबिधानको घोषणा हुन असम्भव रहेको इतिहासको तथ्य संस्मरण रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.