|

काठमाडौं : मलिन अनुहारमा वेलावेला अस्पतालको भित्ता हेरेर एकोहोरो टोलाउँछिन्, १३ वर्षीया प्रतिमा बुढाथोकी। 

बिजुलीको तारमा अल्झिँदा करेन्ट लागेर दाहिने हात गुमाएकी उनको दैनन्दिन २४ दिनयता काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा यसरी नै बितिरहेको छ।

गत वैशाख १६ गते सुर्खेतको गुर्वाकोट नगरपालिकामा रहेको नेपाल राष्ट्रिय आधारभूत स्कुलबाट पढेर घर फर्किने क्रममा बाटोमा रहेको बेवारिसे बिजुलीको तारमा अल्झिँदा करेन्ट लागेर उनले एउटा हात गुमाएकी हुन्। हिँड्दा खुट्टामा तार अल्झिएको र त्यलाई हातले फाल्न खोज्दा हातमा करेन्ट लागेको प्रतिमाले बताइन्।

घरबाट स्कुल पुग्न दैनिक एक घण्टा हिँड्नुपर्छ।आमा केशराका अनुसार वैशाख १६ गते प्रतिमा स्कुलबाट छुट्टी भएर साथीहरूसँग घर फर्किँदै थिइन्। पानी परेको र बाटोमा हिँडिरहेका वेला बाटोमा बेवारिसे रूपमा रहेको तारमा अल्झिएर प्रतिमालाई करेन्ट लागेको हो। 'स्कुलबाट घर फर्किँदा बाटोमा बत्तीको तारमा अल्झिएर घाइते भइन्', केशराले भनिन्, 'सामान्य होला जस्तो लागेको थियो तर अहिले हातै काट्नु पर्‍यो।'

अस्पताल चहार्दा चहार्दा हैरान

करेन्ट लागेकी प्रतिमालाई साथीहरुले बोकेरै घर पुर्‍याए। केशराले नजिकैको स्वास्थ्य संस्थामा लगिन्। त्यहाँ नभएपछि कोहलपुर लगिन्। पछि नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुगिन्। त्यहाँबाट बल्लबल्ल 'रिफर' गरी काठमाडौ‌ं अाइपुग्दा छोरीको हातै काट्नु परेको केशराले बताइन्।

सुरुमा कान्ति बाल अस्पताल आए पनि अस्पतालले नसक्ने भनेपछि उनीहरू १३ दिन ग्रीनसिटी अस्पतालमा बसेका थिए। त्यहाँबाट शिक्षण अस्पताल महाराजगञ्ज अाएको र यहाँ चिकित्सकको सल्लाहमा हात कटिएको केशराले बताइन्। 'सुरुमै राम्रो ठाउँमा देखाउन पाएको छोरीको हात काट्नु पर्दैन थियो होला', उनले भनिन्, 'यो उमेरमा नै छोरीको हात काट्नु पर्‍यो।'

कृषिकर्म गरेर जिविका पार्दै आएका केशराको परिवारलाई  धेरै खर्च लागेर छोरीको हात बचाउन नसकेकाेमा पीडा छ। 'सामान्य खेतीकिसानी गर्ने हामीले ऋण गरेर अहिलेसम्म ११ लाखभन्दा बढी खर्च गरिसक्यौँ। तर छोरीकाे हात जोगाउन सकिएन।' अब अझै कति खर्च लाग्ने हाे र अस्पतालबाट निस्केपछि ऋण कसरी तिर्ने हो भन्ने चिन्तामा रहेको केशराले सुनाइन्।

कक्षा ७ मा पढ्दै गरेकी प्रतिमालाई अब पढाइ कसरी अघि बढाउने भन्ने चिन्ता छ। 'डाक्टरले लेख्ने हात नै काटिदिनु भयो', उनले भनिन्, 'अब कसरी लेख्ने पढ्ने भन्ने पीर लागिरहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.