|

काठमाडौं : बालाजुकी २६ वर्षीया  बबिता बस्नेत (परिवर्तित नाम ) अनुहार रातो भएर आउने, चिलाउने समस्याले लामो समयसम्म सताएपछि चिकित्सकहाँ पुगिन्। एक सहकारी संस्थामा बजार प्रतिनिधिको काम गर्ने उनीलाई  चिकित्सकले घाम र धुलोको एलर्जी भएको बताए।

यस्तै बानेश्वरकी मेनुका केसी (परिवर्तीत नाम) लाई पनि छालामा रातो रातो बिबिरा आउने, चिलाउने र अनुहारमा आएका साना साना बिविरा पाकेर घाउ बन्ने समस्या देखिएपछि अस्पताल पुगिन्। चिकित्सकले घुलो र घामको एलर्जी भएकाले धुलो धुवाँबाट बच्न सुझाए।

यी दुई प्रतिनिधि पात्र मात्र हुन्। गर्मी बढेसँगै उपत्यकामा छालाको समस्या लिएर आस्पताल आउनेको संख्या बढेको चिकित्सकहरु बताउँछन्।

बढ्दो गर्मी, चर्को घाम र धुलोधुँवाले गर्दा छालाका बिरामी बढ्दै गएको काठमाडौं मेडिकल कलेजकी छालारोग विशेषज्ञ डा. सविना भट्टराईको भनाइ छ। 'चर्को घाम र  धुलोधुवाँले गर्दा छालाको समस्या लिएर आउने बिरामीको संख्या धेरै छ', उनले भनिन्, 'छाला सम्बन्धी समस्या लिएर आउने मध्ये झन्डै २० प्रतिशतलाई काठमाडौंको धुलोधुवाँको एलर्जी भएको पाइएको छ।'

विशेषगरी घरबाहिर धेरै हिड्नेहरूमा अनुहारको छाला डढ्ने, चिलाउने  र अनुहारमा बिबिरा आउने समस्या देखिने डा. भट्टराईले बताइन्। गर्मी बढ्दै जाँदा सूर्यबाट निस्कने परावबैजनी किरणले गर्दा धेरै पसिना धेरै आउँछ। यसैका कारण अनुहारमा डण्डीफोर आउने र धुलोधुवाँले छालामा थप समस्या सिर्जना गर्ने डा. भट्टराई बताउँछिन्।

यस्ता छन् गर्मीमा देखिने छालासम्बन्धी समस्या–

चाया, पोतो

छालारोग विशेषज्ञ डा. भट्टराइका अनुसार गर्मी मौसमा देखिने छालाको एक समस्या चाया पोतो हो। यो मौसममा अनुहारमा धरै पसिना आउने हुनेलाले अनुहारमा पोतो आउने सम्भावना धेरै हुन्छ। यसका  साथै यो मौसमा कपालमा धेरै चाया आउने र  कपालको चायाले अनुहारमा सेतो, फुस्रो भएर चिलाउने गर्छ।

छाला डढ्ने

यो मौसममा छालामा देखिने मुख्य समस्या भनेको छाला डढ्ने हो। चर्को घाम धेरै हिड्ने हुनाले छाला डढ्छ। यसले गर्दा  छाला चिलाउने, सुख्खा हुने र छाला सुख्खा भएर धेरै चिलाउँदा कहिलेकाहीँ घाउसमेत हुन सक्छ। यसका साथै धेरै घाममा हिँड्दा छाला फुट्ने हुन सक्छ।

एलर्जी

गर्मी मौसममा अधिकांशलाई देखिने समस्या भनेको  घामको एलर्जी हो। धेरै समय घाममा हिँड्ने अधिकांशलाई घामको एलर्जी भएको पाइन्छ। डा. भट्टराईका अनुसार गर्मीमा छालाका समस्या लिएर आस्पताल पुग्ने आधाभन्दा बढीलाई घामको एलर्जी भएको पाइन्छ।

घामका कारण शरीरमा रातो  बिबिरा आउने, चिलाउने, रातो हुने लगायत लक्षण देखिन्छन्। यस्तो समस्या विशेषगरी अनुहार, हात तथा घाँटीमा देखिन्छ।  फंगल इन्फेक्सन शरीरमा पसिना धेरै आएर गुम्सिने हुँदा काखीमा काछ लाग्ने समस्या हुन्छ । 'फंगल इन्फेक्सन'का कारण चिलाउने र घाउ हुने सम्भावना धेरै हुन्छ।

 डण्डीफोर

गर्मी मौसममा देखिने समस्यामध्ये डण्डीफोर पनि एक हो । गर्मीका कारण अत्यधिक पसिना आउनुको साथै अनुहारमा चिल्लोपना बढ्ने हुन्छ । पसिना र चिल्लो छालामा धुलोधुँवा टासिएर डण्डीफोर आउने सम्भावना धेरै हुन्छ । दिनमा २\३ पटक मुख धोएर अनुहारमा आउने डण्डीफोरलाई कम गर्न सकिन्छ ।

यसरी जोगाअौँ गर्मीमा छाला

गर्मी र धुलो धुवाँबाट छालालाई जोगाइएन भने यसले तत्कालीन र दीर्घकालीन रूपमा  शरीरलाई नै असर पुर्‍याउँछ। तत्कालीन रूपमा डण्डीफोर आउने, एलर्जी हुने, छाला डढ्ने जस्ता समस्या देखिन्छ। दीर्घकालीन रूपमा  उमेरै नभई छाला चाउरी पर्ने र चाँडै बुढ्यौउली लाग्ने समस्या देखिन्छ।

गर्मी मौसममा छाला जोगाउनघरबाट बाहिर निस्किँदा सकेसम्म छाता ओढ्नुपर्छ। छालामा देखिने समस्याबाट जोगिन शरीरको सरसफाईमा ध्यान दिनुपर्छ। यस्तो अवस्थामा बिहान बेलुका नुहाउने, पसिना सोस्ने सुतीको कपडा लगाउने गर्नुपर्छ। घर बाहिर निस्किँदा ‘सनब्लक’ र माक्सको प्रयोग गर्ने, शरीर पूरै छोप्नेगरी पातलो कपडाको प्रयोग गर्नु राम्रो हुन्छ।

गर्मीले गर्दा एलर्जी वा फंगल इनफेक्सन भएमा समस्या पत्ता लगाएर उपचार गर्नुपर्छ। शरीरमा रातो डाबर आएमा सामान्य रूपमा लिनु हुँदैन। इन्फेक्सनका कारण यस्तो समस्या आउने हुँदा तत्काल छाला रोग विशेषज्ञलाई देखाउनु पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.