|

काठमाडौं : नेपाली कांग्रेसभित्रको गुटगत राजनीतिका कारण पार्टी कमजोर हुँदै गएको कार्यकर्ताले आरोप लगाउँदै आएका छन्। नेतृत्व तहको कमजोरी र भातृ संगठनलाई उचित जिम्मेवारी दिन नसक्दा तीनै तहको निर्वाचनमा नराम्रो नतिजा आएको कार्यकर्ता तथा नेताले बताउँदै आएका छन्। 

पार्टीको पछिल्लो समयको गतिविधिका कारण कार्यकर्ता तहमा नैराश्यता छाएको पार्टी निकट बुद्धिजीविले बताउँदै आएका छन्। गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा गरेको वर्तामान राजनीतिक परिस्थिति र कांग्रेसको अबको गन्तव्य विषयक अन्तरक्रियामा सहभागी कांग्रेस निकट वुद्धिजीविले पार्टीभित्रको गुटगत राजनीति अन्त्य नभएसम्म पार्टीमाथि उठ्न नसक्ने बताए। 

कार्यक्रममा सहभागीले गुटगत राजनीतिको अन्त्य गर्नुपर्ने बताइरहे पनि उनीहरू गुट कै कार्यक्रममा सहभागी थिए। पार्टीका नेता कृष्णप्रसाद सिटौला गुटका नेता भीमसेनदास प्रधानले आयोजना गरेको कार्यक्रममा गुटगत राजनीति अन्त्यको कुरा उठाइरहेका थिए। कार्यक्रममा कांग्रेस नेता सिटौला पनि सहभागी थिए। 

यस्तै, कार्यक्रममा सहभागीहरू कांग्रेसले गरेका कामको प्रचार गर्न नसक्दा पनि पार्टी कमजोर भएको बताउँदै थिए। अन्तरक्रियामा उठेका जिज्ञासाको जवाफ दिने क्रममा पार्टी नेता सिटौलेले पछिल्लो समय कम्युनिस्टको सरकार आएपछि कर्मचारी, शिक्षकलगायत कार्यकर्ता तहमा नैराश्यता छाएको बताए। 

उनले भने,‘पछिल्लो समयको सरकारको गतिविधिले तल्लो तहका कार्यकर्ता, प्राध्यापक, शिक्षक र कर्मचारीमालाई समस्या भएको मैले पाएको छु। कतिपय हाम्रा साथीहरूलाई चुनावमा सघाएको भनेर हाजिर गर्न पनि दिएका छैन।’

कांग्रेसमाथिको सरकारको दबाब र नेत्रविक्रम चन्द ‘विप्लव’को प्रहारले समस्या भएको उनले बताए। ‘सरकारले अहिले हामीलाई जबरजस्ती पेलिरहेको छ। विप्लवले पनि हामीमाथि नै प्रहार गरिरहेको छ। चुनावमा हाम्रा उम्मेदवारमाथि नै आक्रमण भए। हाम्रा नेताहरू अहिले पनि आक्रमणकै कारण घाइते पनि छन्।’

नेपालमा बहुमतका साथ बनेको कम्युनिस्ट सरकारले सुरुवाती समयबाटै शुभ संकेत नदेखाएकाे उनले अारोप लगाए। उनले भने,‘सुरुवाती समयबाटै सरकार अधिनायकवादतर्फ जाने देखिँदै छ। शक्ति सन्तुलनका दृष्टिकोणले पनि र मूल्यमान्यताका दृष्टिकोणले पनि सही बाटो नहिँड्ने देखिरहेको छ। यसले अधिनायकवादको चरित्र देखाउँछ भन्ने देखिन थालेको छ।’ 

अहिलेसम्म आएको परिवर्तनलानई सिध्यानेतर्फ सरकार लागेको सिटौलाको आरोप लगाउँदै त्यसलार्इ काउन्टर दिन कार्यकर्तालार्इ निर्देशन दिए। उनले भने,‘अहिलेको सरकार लामो समयको संघर्षपछि आएको परिवर्तनलाई सिध्याउने वा अपव्याख्या गरेर कम्युनिस्ट चरित्र देखाउने संकेत गरेको छ। हामीले त्यसलाई काउन्टर दिनसक्नुपर्छ।’ 

शक्ति सन्तुलनका हिसाबले कांग्रेस धेरै कमजोर रहेको उनले बताए। उनले भने,‘अहिलेको अवस्थामा त कांग्रेस शक्ति सन्तुलनका हिसाबले सबैभन्दा तल छ। हाम्रो कुनै प्रदेशमा आफ्नो सरकार छैन।’ 

तर, पछिल्लो समय गणतन्त्र खतरमा रहेको भन्दै गणतन्त्रको रक्षाका निम्ति कांग्रेस खरो रूपमा उत्रिनु पर्ने बताए। उनले पछिल्ला घटनाले सबै क्षेत्रमा कांग्रेसको विचारको प्रभाव पर्दै गएको भन्दै यो सकारात्मक पक्ष भएको जिकिर गरे। उनले कांग्रेसले राजनीतिक नेतृत्व लिन सक्नेसमेत दाबी गरे। 

नेता सिटौलाले रणनीतिक हिसाबले अघि बढ्न नसक्दा कांग्रेस कमजोर भएको बताए। उनले भने,‘चुनावका बेलामा नेतृत्व तह रणनीतिक हिसाबले अघि बढ्न सकेन। गर्न नहुने गठबन्धन पनि गर्‍यो, त्यसकारण हामी हार्‍यो।’ उनले राप्रपालाई सघाउने नेतृत्वको निर्णयका कारण पनि आफू झापा ३ बाटै निर्वाचनमा प्रतिस्पर्धा गरेको स्पष्ट पारे। 

उनले भने, ‘हामीले दुःख गरेर गणतन्त्र ल्यायौँ। अनि राजतन्त्रको पक्षमा भएका कमल थापाको पार्टीलाई हामीले भोट हाल्नुपर्ने? राजपा, फोरमलाई त हाल्नु ठीकै होला, गणतन्त्रको विराधीलाई हाल्न नसक्ने भएकाले म चुनावमा उठेँ।’

अब कांग्रेसलाई सुधार गर्नका लागि विशेष कार्ययोजनासहित अघि बढ्नुपर्ने बताए। 

गणतन्त्रका लागि आन्दोलन नगर्ने नै प्रधानमन्त्री : प्रधान

प्रतिष्ठानका अध्यक्ष तथा कांग्रेस नेता भीमसेनदास प्रधानले अहिलेका प्रधानमन्त्रीले गणतन्त्रका लागि कहिल्यै संघर्ष नगरेको दाबी गरे। 

उनले भने,‘अहिलेका प्रधानमन्त्रीले गणतन्त्रका लागि कहिल्यै आन्दोलन गरेनन्। उहाँले त गणतन्त्र ल्याउनु भनेको  बयलगाढामा चढेर अमेरिका जानुजस्तै हो भन्नु भएको थियो। उहाँले एक दिन पनि आन्दोलन गर्नुभएन।’

त्यस्तै अहिले सरकारको नीति तथा कार्यक्रममा पनि सरकारले कही पनि संघीय गणतान्त्रिक नेपाल उल्लेख नगरेको भन्दै उनले आपत्ति जनाए। उनले सरकारले अधिनायकवाद लाद्न खोजेको समेत आरोप लगाए।

उनले भने,‘सुरुदेखि हामीले नियाली रहेका छौँ। राष्ट्रियसभा सदस्यका लागि हामीले गरेको सिफारिस बदर गर्दा होस् या प्रधानन्यायधीशको केसमा होस् उहाँहरूले अधिनायकवादको संकेत गरिसक्नुभएको छ।’

देशको परिवर्तनमा कांग्रेसको मुख्य भूमिका रहेको उनी बताउँछन्। भन्छन्,‘ प्रजातन्त्र स्थापना, २०४७/०४८ र २०६२/२०६२ को जनआन्दोलनदेखि संविधान निर्माणसम्म मुख्य भूमिका कांग्रेस कै छ। यस्तै, हाम्रै पालामा तीन तहकै निर्वाचन पनि भएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.