|

रौतहट : रौतहटको चन्द्रनिगाहपुरस्थित जन ज्योति उच्च माविमा अध्ययनरत सुस्त श्रवण विद्यार्थीलाई गासवासको अभाव देखिएको छ। विभिन्न जिल्लाबाट अध्ययन गर्न आएका सुस्त श्रवण(बहिरा) विद्यार्थीहरूलाई व्यवस्थापन गर्न नै कठिन भएको जन ज्योति उच्च माविका सहायक प्रचार्य देवनारायण हुमागाई‌ले बताए। 

जिल्ला शिक्षा कार्यालयबाट आएको अनुदानले विद्यार्थीको जीविकोपार्जन नै नपुगेको उनको गुनासो छ। विगत लामो समय देखि सो विद्यालयमा सुस्त श्रवण विद्यार्थीलाइ अध्यापन गराउँदै आएको भएता पनि विद्यार्थीको वास बस्ने भवन नहुँदा ठूलो सास्ती खेप्नु परेको सुस्त श्रवण विद्यार्थीलाई अध्यापन गराउँदै आएकी शिक्षिका सीता खतिवडाले बताइन्। ‘यी विद्यार्थीको धेरै पीडा छ, तर सुनिदिने निकाय नहुँदा चुप लागेर बस्नु परेको छ’ उनले भनिन्।

शिक्षकको अभावदेखि लिएर खान र बस्नसमेत ठूलो समस्या झेल्नु परेको उनको भनाइ छ। शिक्षिका खतिवडाले भनिन्, ‘यी बालबालिकाहरू आफ्ना अभिभावकबाट समेत अपहेलीत छन् जसको कारण घर जान नै मानदैनन्, यस्ता बालबालिकाहरूको शिक्षालाई अझ प्रभावकारी रूपमा दिनको लागि पनि सबै पक्षको सहयोगको आवश्यक छ।’ 

भवनको अभावमा विद्यार्थीहरू एउटा टिनको छानो भएको घरमा बस्न बाध्य छन्। वर्षाको समयमा पानी चुहिएर अध्ययन गर्न एकदमै कठिन हुने गरेको अर्का शिक्षक रामकुमार घिमिरेले बताए। विद्यार्थी नै नभएको ठाउँमा सुस्त श्रवण विद्यार्थी आवास बनाइएको तर विद्यार्थी भएको ठाउँमा भवन निमार्ण नगरिएको शिक्षक घिमिरेले गुनासो गरे।

सो विद्यालयमा कक्षा एकदेखि १० सम्म ३९ जना सुस्त श्रवण विद्यार्थी अध्ययन गर्दै आइरहेका छन्। आफू बस्ने वास बनाइदिन कक्षा १० मा अध्ययनरत सुस्त श्रवण विद्यार्थी रोहित अधिकारीले सम्बन्धित निकायलाई आग्रह गरे। सर्लाहीबाट अध्ययन गर्न आएका अधिकारीले संकेतिक भाषामा बोल्दै भने ‘हामीहरूलाई गास, वास र कपासको ठूलो समस्या छ, यो कुरा राज्यले सुनिदिनु पर्‍यो।’ 

यस्तै, गुनासो थियो, कक्षा पाँचमा अध्ययनरत सिन्धुलीकी सविना लामिछानेको। उनको पनि माग एउटै थियो गास, वास र कपास गतिलो चाहियो। यस्तो पीडा त्यहा अध्ययनरत ३९ जना सुस्त श्रवण विद्यार्थीको नै हो। 

यसैबीच प्रेस काउन्सील नेपालका सदस्य गोबिन्द चौलागाईंले सुस्त श्रवण विद्यार्थीहरू बस्ने अवास र कक्षा कोठाको अवलोकन गरेका छन्। सदस्य चौलागाईंले पनि बालबालिकाको बसाईं एकदमै दयनीय नै रहेको प्रतिक्रिया दिएका छन् भने यसको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।

रौतहटमा तीन स्थानमा सुस्त श्रवण विद्यालय संचालन हुँदै आएको शिक्षा समन्वय इकाइ कार्यालय रौतहट, गौरले जनाएको छ। जिल्लाको वसतपुर, गौर र चन्द्रनिगाहपुरमा गरी तीनवटा आधारभूत विद्यालयमा दुईजना शिक्षक दरबन्दीसहित सुस्त श्रवण कक्षा संचालन हुँदै आएको इकाइ प्रमुख राम विनय सिंहले जानकारी दिए। 

तीनवटै विद्यालयमा गरी  ६० जना सुस्त श्रवण र ३० जना सुस्त मस्तिस्क गरी ९० जना विद्यार्थी अध्ययरत रहेको इकाइ प्रमुख सिहले बताए। वसतपुर आधारभूत विद्यालयमा सुस्त श्रवण विद्यार्थीको आवासको लागि ८० लाख रुपैयाँका लगानीमा भवन निमार्ण भइरहेको समेत उनले जानकरी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.