|

काठमाडौं : सुर्खेतको वीरेन्द्रनगर अहिलेको कर्णाली प्रदेशको राजधानी भएको छ। ०३३ मा सुर्खेत उपत्यकाभित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउँ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायत स्थापना गरिएको थियो। नेपाल सरकारका विभिन्न समयका निर्णयबमोजिम नगरपालिकालाई हाल १६ वडामा विभाजन गरिएको छ।

वीरेन्द्ननगर नेपालको राजधानी काठमाडौंदेखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा समुद्री सतहबाट लगभग ६६५ मी.मा अवस्थित छ। यो नगरपालिका उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडले घेरिएको कचौरा आकारमा दक्षिणतर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर उपत्यका हो।

यहाँ बसोबासको प्रारम्भ ०२३ बाट भएको पाइन्छ। यसभन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका क्षेत्रमा) औलो लाग्ने हुँदा जिल्ला सदरमुकाम गढी गाविसमा रहेको र उपत्यकामा फाटफुट रूपमा थारू र राजी समुदायको बसोबास रहेको थियो। औलो उन्मुलन भएपछि उपत्यकामा बसोबास गर्न थालियो र सबै सरकारी कार्यालयहरुलाई स्थानान्तरण गरी सदरमुकाम तोकियो।

वीरेन्द्रनगर नगरपालिकामा ०३२ मा विमानस्थल स्थापना भई नियमित उडान सुरु भयो। ०३८ मा रत्नराजमार्ग सडक निर्माण भई नियमित रूपमा सडक यातायात सेवा सुरु भएपछि वीरेन्द्रनगर कर्णाली अञ्चलका जिल्लाहरुको प्रवेशद्वारका रूपमा स्थापित भएको छ।

कर्णाली अञ्चलमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुँदा यो पश्चिम नेपालकै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकीय केन्द्रसमेत बन्न पुगेको छ। यसको पूर्वबाट भेरी नदी र पश्चिमबाट कर्णाली नदी बगेकाले र्‍याफ्टिङ गरी आनन्द लिन आउने पर्यटकहरूका लागिसमेत आकर्षक स्थलको रूपमा परिणत हुन पुगेको छ।

फोटोमा हेर्नुस् त्यस बेलाको वीरेन्द्रनगर

प्रस्तुत फोटो त्यसबेला पिस कर्प भोलिन्टियर भएर आएका एलेन फेएर ब्यांक र जो ग्रिअरले खिचेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.