|

रत्ननगर : चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासका लागि महत्वाकांक्षीयोजना अघि सारेको छ। जनप्रतिनिधिहरूले सपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीवार नगरको विकासको खाका प्रस्तुत गरे। 

एक वर्षमा नगरपालिकाले प्लाष्टिङ रोक्ने, जग्गा बाँझो राख्नेलाई कारवाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको देखिएको छ। यसबाहेक नियमित चल्ने कामहरू जारी रहे पनि नगरपालिकाको एक वर्षको अधिकांश समय अनुभव र योजना बुन्दैमा सकिएको देखिएको छ। 

‘धेरै कामहरू गर्दै छौँ, छलफल भैरहेको छ र योजना निर्माण हुँदै छ भन्ने मै सिमिति छ,’ हिट्स मिडियाले बिहीबार गरेको सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै नगरप्रमुख वनले भने, ‘नगर अब विकासमा अगाडि बढ्छ, नतिजा मुखि काम हुन्छ।’ 

रत्ननगरलाई कस्तो बनाउने भनेर स्वदेशी तथा विदेशी विज्ञहरूसँग नगरपालिकाले छलफल गरिरहेको उनले बताए। अहिलेसम्म योजनाहरू मात्रै देखिएकाले अब भने नतिजा उन्मुख कार्यक्रम गरिने नगरपालिकाको भनाइ छ।

नगरप्रमुख वनका अनुसार पर्यटकीय नगर भएकाले रत्ननगरलाई ‘कल्चरल भिलेज’को रूपमा अगाडि बढाउन आवश्यक प्रक्रियाअघि बढ्को छ। यस्तै रत्ननगर बकुलहर अस्पताललाई ५१ शैयाको अस्पताल बनाउने, सौराहा चोकमा बसपार्क बनाउने, नमूना सडक निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ। 

अहिलेसम्म ६० विगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको भन्दै नगरप्रमुख वनले अझै २०० विगाहा जग्गा भएकोले सबै खोजेर संरक्षण गर्ने बताए। यो अभियानमा पूर्वमन्त्री विक्रम पाण्डेले दर्ता गर्न खोजेको सार्वजनिक जग्गासमेत नगरपालिकाले फिर्ता गरेको छ। 

सभाहल, रंगशाला, सिटीहल, आधुनिक बसपार्क र स्मार्ट सिटी, शीतभण्डार निर्माणमा समेत नगरपालिकाअघि बढेको वनको दाबी छ। नगरपालिकाका हरेक सेवा सूचना प्रविधि मैत्रि बनाउन लागेको भन्दै उनले अब ‘पेपर लेस’ नगर बनाउने दाबी गरे। 

नगरपालिकाको योजना अनुसार खाली जमिनमा वृक्षारोपण गरिने छ। ट्रफिक व्यवस्थापन चुस्त पारिने छ। दिगो फोहर व्यवस्थापनमा समेत ध्यान दिएर काम अगाडि बढेको छ। कयरखोलाको कोरिडोर क्षेत्रको विकासमा समेत नगरपालिकाले ध्यान केन्द्रित गरेको छ। यसका लागि गुरुयोजना निर्माणको तयारीमा लागेको वन बताउँछन्।

नगरप्रमुख वनले अब युवाहरूलाई विदेश नै जानु नपर्ने, यही स्वरोजगार हुनका लागि ४.५ प्रतिशतमा कृषि ऋण उपलव्ध गराईने बताए। सो विषय नगरबोर्डले पास गरेकाले अब नगरसभाले पनि तत्कालै पास दाबी छ।

नगरपाकिलाले ‘जिपिएस सिष्टम’ प्रणाली लागू गर्न लागेकाले नगरप्रमुख कहाँ गए भनेरसमेत हेर्न सकिने गरी अगाडि बढेको भन्दै वनले एम्बुलेन्स, फोहर उठाउने गाडी तथा सौराहा चल्ने बसको बारेमा जो सुकैले हेर्न सक्ने प्रविधिको विकास गर्न लागिएको जानकारी दिए। 

सुशासन कायम राख्न अधिकतम प्रयास गरिने भन्दै वनले भने, ‘जनप्रतिनिधि, कर्मचारीले एक रुपैयाँ मागे पनि भन्नुहोस्, ठाउँका ठाउँ कारवाही हुन्छ।’ उनले यस्ता क्रियाकलापको सूचना दिनसमेत सर्वसाधारणलाई अपिल गरे। लक्षित वर्गको मुहार हँँसिलो बनाउने योजनासमेत अघि सारिएको नगरपालिकाले जनाएको छ।

सार्वजनिक सुनुवाई भनिए पनि न्यून मात्रामा सर्वसाधारणहरू उपस्थित भएको कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सर्वसाधारणको सुझाव र आवश्यकता अनुसार विकासका कार्यक्रम अघि बढ्ने प्रतिबद्धता जनाइन्।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले विकासको अधार नै सडक भएको भन्दै बाटोको विस्तार र कालोपत्रेमा ध्यान दिन सुझाव दिए। खस्कँदो सरकारी शिक्षाको विकास तथा रोजगारउन्मुख नगर बनाउनसमेत उनले आग्रह गरे। 

चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले नगरपालिकालाई समृद्ध बनाउन व्यवसायीहरूको सहयोग रहने भन्दै रत्ननगरसँग सहकार्य गर्नभने नपाएको दुखेको गरे। 

गैर आवासिय नेपाली संघ(एनआरएनए)का केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटाले रत्ननगरका कतिपय योजना विदेशी कार्यक्रमसँग मेल खाने खालका रहेकोमा प्रशंसा गर्दै आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरे। 

उनले स्मार्ट सिटी बनाउनका लागि पहिलो रत्ननगरलाई ‘वाईफाई फ्रि’ जोन बनाउन नगरप्रमुख वनलाई सुझाव दिए। उनले पर्यटकीय नगरी भएकाले रत्ननगरमा वैज्ञानिक र आधुनिक पर्यटन क्षेत्रको विकास जरुरी रहेको औँल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.