|

कपिलवस्तु : लोपोन्मुख तथा सिमान्तकृत समुदायलाई राज्यले अपहेलित र उपेक्षित गरेको कुसवाडिया समुदायले गुनासो गरेका छन्। जाति, समुदायको उत्थान, विकासका लागि वर्षेनी राज्यले करोडौँ रकम खर्च गरे पनि कुसवाडिया (पथ्थ्रकट) समुदायले हालसम्म उक्त अवसरबाट बन्चित रहेको बताएका छन्। 

परम्परागत पेशा लोप हुँदै गएपछि त्यसको विकल्प व्यवस्थामा सरकार उदासिन बनेको आरोप लगाउँदै कुसवाडिया उत्थान संघका केन्द्रीय अध्यक्ष राजु कुसवाडिया (पथ्थरकट)ले आधुनिक प्रविधिको विकासले लोपुन्मुख कुसवाडिया जातिको पत्थरकट्टा पेशा संकटमा परेको बताए। 

‘सिलौटाको व्यापार अहिले कम छ, यसबाट कुसवाडिया समुदायलाई गुजारा टार्न निकै कठिनाई भएको छ’ उनले भने । कुसवाडिया समुदायमा पनि छोराछोरीलाई शिक्षित बनाउने चेतनाको विकास हुँदै गएकाले सरकारले शिक्षा तथा रोजगारतर्फ विशेष प्याकेज र सुविधाको व्यवस्था गरिनुपर्ने उनले बताए। 

लोपोन्मुख समुदायलाई पनि राज्यको मूलप्रवाहमा ल्याउन सरकारले विशेष योजना ल्याएर कार्यान्वयन गरिनु पर्नेमा कपिलवस्तुको तौलिहवामा आयोजित कुसवाडिया उत्थान संघको दोस्रो राष्टिय महाधिवेशनमा बोल्ने वक्ताहरूले जोड दिएका छन्। 

तराईमा बसोबास गर्ने कुसवाडिया समुदायले ढुंगाबाट सिलौटो, जाँतो बनाउने काम गरेर गुजारा चलाउने गरेकोमा अहिले आएर आधुनिक मेसिनले आफ्नो पेशा धरापमा परेको कुसवाडिया उत्थान संघ कपिलवस्तुका अध्यक्ष रामजस पथ्थरकटले बताए। 

लोपोन्मुख तथा सीमान्तकृत समुदायहरूको आवश्यकतालाई राज्यले सम्बोधन गर्नुपर्ने आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका अनुगमन तथा तालिम महाशाखा प्रमुख सन्तलाल मेचेको भनाइ छ। बालबालिकालाई विद्यालयसमेत नपठाई यही पेशामा संलग्न गराउने यो जातिले अहिले शिक्षा दिन सुरु गरेको यो कार्य निकै श्रानिय रहेको नेपाल आदिवासी जनजाति महासंघ कपिलवस्तुका अध्यक्ष विमल सारु मगरले बताए। तर, विद्यालयको पोशाक र कापी–कलम किन्ने पैसा नभएको भन्दै बीचैमा विद्यालय छाड्नेहरू धेरै रहेको प्रति उनले चिन्ता प्रकट गरे।

ढुंगा कुदेर सिलौटो र लोहोर बनाएर बेच्ने कुसवाडिया जातिको पुख्यौली पेशा हो। कपिलवस्तुमा कुशवाडिया (पथ्थरकट) समुदायको संख्या २७० रहेको तथ्यांकले देखाएको छ। यो जातिलाई सरकारले प्रतिव्यक्ति मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउदै आएको छ।

यसैगरि शुक्रबार सम्पन्न महाधिवेशनले पुनः राजु कुशवाडियाको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। जसको उपाध्यक्षमा तारा कुशवाडिया, महासचिवमा नरेश पथ्थरकट, कोषाध्यक्षमा रामजस पथ्थरकट, सचिवमा पूजारी कुसवाडिया रहेका छन्। यस्तै सदस्यहरूमा हरिन्दर पथ्थरकट (बारा), सम्भा कुसवाडिाय (रुपन्देही), राधेश्याम कुसवाडिया (धनुषा) र शारदा कुसवाडिया (रुपन्देही) रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.