यति छिट्टै आइपिएल खेल्ने सोचेको थिइनँ

|

चितवन : आइपिएलमा तीन वटा खेल खेलेर उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेट टिमका ‘लेग स्पिनर’ सन्दीप लामिछाने आइपिएल खेलेसँगै उत्साह थपिएको बताएका छन्। 

आइपिएलमा सहभागि भएपछि पहिलो पटक गृहजिल्ला चितवन आइपुगेका उनले अवसर पाएसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धतासमेत जनाए। चितवनको भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले क्यानका पदाधिकारी जिम्मेवार बने नेपाली खेलाडीले पनि प्रदर्शन देखाउन सक्ने समेत बताए। 

उनी शुक्रबार चितवन बस्ने र शनिबार पोखराको सम्मान कार्यक्रममा सहभागि हुँदै छन्। पारिवारिक भेटघाटका लागि उनी गृहजिल्ला आएका हुन्। पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले अब नेपाली टोलीले टि–२० र एकदिवसिय खेल खेल्नका लागि तयार हुनुपर्ने समेत बताए। उनले अब नेपाली खेलाडीले पनि ‘चान्स’ पाउने सम्भावना बढेको बताए।

त्यसपछि काठमाडौं गएर मे ३१ मा इग्ल्याण्डको लड्स मैदानमा खेल खेल्न जाँदैछन्। आँधीबाट क्यारेविन राष्ट्रका क्षति भएका रंगशालाको पुननिर्माणका लागि उक्त मैदानमा च्यारिटी खेल हुँदै छ। आइसीसीद्वारा उत्कृष्ट ११ खेलाडीमा उनी छनोटमा परेका हुन्।

लमिछानेले आइपिएलमा पहिलो र दोस्रो खेलमा एक, एक विकेट लिएका थिए भने, तेस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्ध तीन वीकेट लिएका थिए। दिल्ली डेयर डेभिल्सबाट खेलेका उनले चार ओभरमा ३६ सन खर्चिएका थिए। 

बलिङकै आधारमा उनी इन्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्ली डेयर डेभिल्समा अनुबन्ध भएका हुन्। उनलाई २० लाख भारुमा अनुबन्ध गरिएको हो। नेपाली क्रिकेट टिमलाई यती ठूलो अवसर यो पहिलो हो। 

अहिले छोटो खाली समयमा शुक्रबार गृहजिल्ला चितवन आइपुगेका छन्। छनोट भएपछिको उनको यो दोस्रो चितवन यात्रा हो। चितवनको रत्ननगरस्थित चित्रसारीमा उनको घर छ। 

यसअघि चितवनमा आउँदा उनीसँग भएको कुराकानी यस्तो थियो

‘डिभिजन २ राम्रो अपर्च्युनिटी पाथेँ डिभिजन २ मा खेल्ने । विग एचिभमेन्ट भयो’ खेलको चार्मका बारेमा उनले भने, ‘हरेक कुरा विस्तारै पाइला चाल्दै जाने हो। एकैचोटी धेरै ठूलो पनि नसोचौँ। जति हुन्छ आएका अपर्चच्यूनिटी ग्रेप गर्दै जाने हो। क्रिकेटले जति विकास गरिरा‘छ, अरु खेलले सायदै विकास गरिरा‘छ।’

आइपिएलमा छनोट हुनुको मुख्य कारणबारे सोधिएको प्रश्नमा उनले (हास्दै) भने, ‘मेरो बलिंग’। मुख्य बलिंग नै हो। लेग स्पिनर बलर अब इजी हुन्छ लेग बलरहरूलाई। यस्तो बन्नुमा धेरै मान्छे कोचहरू, साथी, दाइभाइ सबैको योगदान छ, म यहाँ पुग्नुमा।

कहिल्यै पनि आफ्नो बेस भुल्नु हुन्न

क्रिकेटको बारेमा उनले फन्नी गेम भएको बताए। ‘कहिल्यै पनि आफ्नो बेस विर्सनु हुन्न हामी कहाँबाट आएको भनेर। संघर्ष नगरी सफलताले मजा पनि आउँदैन। जतिपनि कोचहरू हुनुहुन्छ सबैले एकदम सहयोग गर्नुभाथ्यो। त्यतिबेला जुन संघर्ष थियो अहिले फल पाईरा‘छु’ उनले भने, ‘सधै नेपाली हुनमा गर्ब लाग्छ। जुन जिल्लाको भए पनि नेपाली हुँ। जन्मिएको स्याङजामा, नवलपरासीमा पनि बसेँ बुबाआमा भारतमा हुनुहुन्थ्यो। बुबाको जबका कारण म पनि भारतमा गएको थिएँ। अहिले बुबाआमा सौराहामा हुनुहुन्छ। अनि म यहाँ आएको छु।’

सोचेका थिएनन् यती छिट्टै आइपिएल खेलिन्छ भन्ने 

अनि आइपिएलतिर प्रश्न तेर्सियो। ‘सोचेको थिइनँ यती छिटै आईपिएल खेल्छु भनेर। म ट्रायलमा गा‘को हो दिल्लीमा। त्यो बेला रिकी पोन्टिङ हुनुहुन्थ्यो बलिङ कोच। उहाँले बलिङ गर्न लगाउनुभयो’ उनले भने, ‘त्यतीबेला मैले बलिङ राम्रो गरेँ। सायद बलिङ राम्रो नगरेको भए म सायदै छनोट हुन्थ्येँ होला।’

उनले नेपालाई नम्बर १ स्पोर्टमा लिएर आउँ भन्ने चाहना रहेको बताए। उनले भने, ‘चितवनमा पनि पहिलेभन्दा धेरै खेलाडी उत्पादन भैरहेका छन्। यहाँबाट अन्तर्राष्ट्रिय खेलाडी धेरै छन्। क्रिकेटलाई सुधार्न सके धेरै राम्रो हुन्छ।’

सगरमाथा चट्ने तेन्जीङ शेर्पा पनि भारत गए। उदितनारायण झा पनि उतै छन्। तपाई पनि भारतमा हुर्केको त्यस्तै हुने त हैन भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो सोचे कै छैन, तपाईंलाई कसरी त्यो कुरा आयो सायद नेपालका लागि नखेलेको भए यहाँसम्म पनि पुग्ने थिइन। त्यसैले मैले भन्ने गरेको छु बेसलाइ भुल्नु हुन्न।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.