|

चितवन: थाइराइड रोगबाट महिला बढी प्रभावित हुने गरेका छन्। महिलाहरूमा हुने महिनावारी, हर्मौनमा हुने अनेक खालको परिवर्तन यसको मुख्य कारण रहेको पुष्पाञ्जली अस्पतालमा मेडिकल निर्देशक डा भोजराज अधिकारी बताउँछन्।

हर्मौनको समन्वय मस्तिष्क, थाइराइड, पाठेघर, स्तन सबैमा हुने हुँदा महिला बढी प्रभावित हुँदै आएका छन्। उनका अनुसार प्रति १० जनामध्ये ९ जना महिलामा यो रोग लाग्छ। रोग भेटिएका महिलाहरू मध्यमा पनि ९० प्रतिशतमा लो थाइराइड अर्थात हाईपो थाइराइड हुने उनको भनाई छ।

 यस्तो खालको रोग पत्ता लगाउन रगतमा टि­थ्री, टि­फोर र टिएसएच हर्मन परिक्षण गर्नुपर्ने हुन्छ। विश्व थाइराइड दिवसका अबसरमा शुक्रबार चितवनको भरतपुरमा रहेको पुष्पाञ्जली अस्पतालद्धारा आयोजित अन्तरक्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामुलक कार्यक्रममा बोल्दै चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन सके रोग नियन्त्रण र निको हुने बताएका छन्।

नयाँ थाइराइड रोगी धर्मराज पौडेललाई औषधि खुवाएर शुरु भएको उक्त कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल निर्देशक तथा फिजिसियन डा भोजराज अधिकारीले चेतनाको अभावका कारण आएका विरामीमध्य ५० देखि ६० प्रतिशत विरामीलाई थाइराइड रोग लागेको भनेर जानकारी नहुने गरेको बताए।

उनीहरूले स्वास्थ परीक्षणबाट प्रमाणित भएपछि मात्रै आफूलाई थाइराइड भएको जानकारी पाउने गरेको भन्दै डा अधिकारीले शरिरमा कुनै असर विनै असजिलो महसुस भयो भने परीक्षण जरुरी रहेको औल्याए।

सो क्रममा स्त्री रोग विशेषज्ञ डा हेमनाथ सुवेदीले महिलाहरूमा बढी थाइराइड देखिने भन्दै नियमित औषधि सेवनले बच्चा र आमालाई कुनैपनि असर नगर्ने बताए। औषधिले अझै गर्भमा रहेको बच्चाको विकासमा सहयोगी नै हुने उहाँको भनाई छ।बालरोग विशेषज्ञ डा युवानिधि बस्यौलाले जन्मेदेखि नै बच्चामा रोग देखिन सक्ने भन्दै प्रति ३,४ हजार बच्चामध्य १,२ जनामा रोग देखिनसक्ने बताए। उनले भने ‘आमालाई रोग देखिए गर्भको बच्चामा पनि सर्न सक्छ, डा बस्यौलाले भने, औषधि नियमित भए केही हुन्न, तर बच्चालाई २ वर्षसम्म उपचार नगरे सुस्त हुनसक्छ।’

प्राकृतिक चिकित्सक डा हेमराज कोईरालाले पछिल्लो समयमा थाइराइड रोग बढ्दो क्रममा रहेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए।चिकित्सकका अनुसार थाइराइड ग्रन्थीले शरिरको मोटोपन हुने अथवा दुव्लोपन हुने, तालपक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने काम गर्छ।यसले शरिरमा हुने अनावश्यक झोलपदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्ने गर्छ। त्यो हर्मन बढी भयो भने पनि र कम भयो भने पनि शरिरलाई असर गर्छ। त्यही नै थाइराईड रोग हो। 

डा. अधिकारीका अनुसार थाइराइडमा प्रत्यक्ष रुपमा ३,४ वटा समस्या हुन्छ। एउटा थाइराइड ग्रन्थीले निकाल्ने रस कम हुने रोग हाइपो थाइरोडिजम हो। अर्को हर्मोनको मात्रा बढी निस्कने हाईपर थाईरोडिजम हो। तेस्रो, थाइराइड हर्मन सुनिने हुन्छ भने चौथो थाइराइड क्यान्सर हुनसक्छ।तौल अनावश्यक रुपमा बढ्ने, आवाजमा धोद्रोपन आउने, गोडा सुनिने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने हुन्छ। नियमित औषधि लिंदै कतिपय निको हुने र कतिपय अवस्थामा जीवनभर नै दवाई खानुपर्ने हुन्छ।

चितवनमा गरिएको अध्ययनमा सामान्य मान्छेलाई जँचाउँदा १२ प्रतिशतमा थाइराइड देखिएको र सुगरका विरामीमा चेक गर्दा २४ प्रतिशतमा थाइराइड देखिएको डा. अधिकारीले जानकारी दिए।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाले सचेत भएर नियमित स्वास्थ्य परीक्षण गर्न सर्वसाधारणलाई  अपिल गरे। सो क्रममा पुष्पाञ्जली अस्पतालमा गरिएको थाइराइड सम्बन्धीको स्वास्थ्य परीक्षण शिरिवमा १ हजार बढीले परीक्षण गराएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.