थाहा संवाद : स्थानीय सरकार

नमुना नगरपालिका बनाउँछौँ : पञ्चदेवल विनायक नगर उपप्रमुख चलाउने
SHARES

जेठ १२, २०७५

    प्रदेश ७ अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नम्बर- २ मा पर्छ। पूर्वमा कालीकोट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामारोशन गाउँपालिका तथा दक्षिणमा जिल्लाको आठबीस नगरपालिकाबीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिक सम्पदा, साधन स्रोतमा सम्पन्न मानिन्छ। जल, जमिन, जंगल, जडिबुटी, जंगली जनावर एवं उर्वर भूमि रहेको यस नगरपालिकामध्ये पहाडी लोकमार्गबीच भागबाट काटेर जाने हुँदा यस नगरपालिकाले आर्थिक र पर्यटकीय उच्च सम्भावना बोकेको छ।

    यस नगरपालिकाको मध्य भागमा पशुपालन तथा फलफूल खेतीको सम्भावना रहेको छ भने पूर्वी भागमा धान, गहुँका साथै तरकारी खेतीको सम्भावना छ। पूर्वमा कर्णाली नदी, तालागाड खोला पश्चिममा कुइका खोला सधैँ पानी बगिरहने खोलाहरू हुन्। जिल्लाको पूर्वी क्षेत्रमा रहेको यस नगरपालिकामा विकासका थुप्रै सम्भावना रहेका छन्।

    पञ्चदेवल विनायक नगरपालिकाको क्षेत्रफल १४७.७५ वर्ग किलोमिटर रहेको छ। २७ हजार ४८५ जनसंख्या रहेको यो नगरपालिका साविकका कुइका, विनायक, कालिकास्थान, लयाटी, तोली, पुल्लेतोला, बारला, कालेकाँडा गरी अाठ गाविसहरू मिलेर बनेको हो भने यहाँ जातीय, भाषिक, धार्मिक र साँस्कृतिक विविधता रहेको छ। प्रस्तुत छ, नगरका यिनै विविध विषयमा पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेसँग थाहाखबरकर्मी रमेश रावतले गरेको कुराकानी :

    स्थानीय तहको निर्वाचन भएको ११ महिना भइसक्याे। यस अवधिमा नगरले गरेको प्रगतिका बारेमा बताइदिनु न?

    प्रगति भनेको यो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा कार्यान्वयनको अन्तिम चरणमा पुगिसकेका छौँ  र हामीले विकास निर्माण तथा भौतिक पूर्वाधार विकासका योजनाहरू लगभग सम्पन्न गर्ने चरणमा छौँ। त्यसरी नै विषयगत क्षेत्रका कार्यक्रमहरू तीब्र गतिमा अगाडि बढाइरहेका छौँ। 

    निर्वाचनका बेला गरिएका प्रतिबद्धता केके थिए?

    निर्वाचनका बेलामा गरिएका प्रतिबद्धता भनेको भौतिक पूर्वाधारका क्षेत्रमा बाटो बनाउँछौँ भन्ने नै हो। खानेपानी उपलब्ध गराउने भन्ने नै हो। बिजुली निकाल्ने र नगरबासीलाई वितरण गर्ने भन्ने नै हो। कृषि क्षेत्रमा व्यावसायिक रूपमा अगाडि बढाउनका लागि ऐन नियम बनाउने भन्ने नै हो। नगरका प्रत्येक वडामा फरक फरक समस्याहरू छन्। नगरका सबैखाले समस्याको समाधानका लागि योजना निर्माण गर्छाैं भनेका थियौँ।

    प्रतिबद्धता कार्यान्वयनको अवस्था अहिले कस्तो छ?

    कार्यान्वयनका सन्दर्भमा पशु क्षेत्रका कार्यक्रमहरूमा ६० प्रतिशत भन्दा बढी काम भइसकेका छन्। कृषिका क्षेत्रमा जिल्ला कृषि विकास कार्यालयले कर्मचारी नगरमा पठाइदिएन। हामीसँंग प्राविधिक कर्मचारी पनि नभएर काम गर्न समस्या भएको छ। यस क्षेत्रमा नीति निर्माणमा पनि हामी पछाडि परेका छौँ। कार्यान्वयनमा पनि हामीले सोचेअनुरूप काम गर्न सकिरहेका छैनौँ। नगरपालिकाभित्रै रहेको काइनेटिक खानी, कर्णालीको बालुवा उत्खन्न र पर्यटकीय धरोहर पञ्चदेवलको संरक्षण सम्बर्द्धन प्रमुख नारा थिए निर्वाचनका बेलामा। 

    तपाईंले उठाउनुभएको कुरा नगरका गौरवका कुरा हुन्। काइनेटिक खानी भनेको भूगर्भ विभागले आफ्नै नीति अनुरूप उत्खनन् गर्ने कुरा हुन्छ। यसको संरक्षण तथा सुरक्षाका निम्ति हामी प्रतिबद्ध छौँ। चोरी निकासी नियन्त्रण गर्नका लागि विभिन्न सुरक्षा निकायसँग परामर्श पनि गरिरहेका छौँ। बालुवा उत्खनन्‌का विषयमा नगरपालिकाले राजश्व उठाउने र आसपासकै जमिनको सुरक्षालाई ख्याल गरेर उत्खनन् गरिनेछ। पञ्चदेवल करिब ८०० वर्ष पुरानो ऐतिहासिक पर्यटनस्थल हो। यसको संरक्षण र थप विकास गरेर अझै आकर्षक बनाउनका लागि हामीले सोचिरहेका छौँ।

    तपाईं न्यायिक समितिको संयोजक पनि हो। कस्तो समस्या लिएर आउँछन् नागरिकहरू न्याय माग्न?

    न्यायिक समितिको कार्यसम्पादनको कुरा गर्दा अहिलेसम्म मुद्दाहरू थोरै मात्र दर्ता भएका छन्। न्यायिक समितिका विषयमा नागरिकलाई जानकारी नहुँदा प्रहरी कहाँ नै मुद्दाहरू जाने गरेका छन् र हामी कहाँ मेलमिलापका लागि आउने मुद्दाहरूलाई हामीले सहजै समाधान गरेर पठाएका छौँ। 

    नगरमा काम गर्दा नीतिगत समस्या के कति आइपरे?

    नीतिगत समस्याहरू धेरै छन्। अहिलेसम्म हामीले कार्यसञ्चालनका लागि १० वटा जति नियमावलीहरू पास गरेका छौँ। त्यो आर्थिक नियमावली होला, कार्यसम्पादन, विभाजन, प्रमाणीकरण, बैठक सञ्चालन नियमावलीहरू कार्यसञ्चालनका लागि निर्माण गरेका छौँ। नीति तथा ऐन बनाउने अधिकार स्थानीय तहलाई दिइएको छ तर नीति नियम बनाउन जनप्रतिनिधि र कर्मचारी पनि दक्ष नभएकाले समस्या भएको छ। 

    निर्वाचनका बेलामा मैले जितेँ भने यस्तो काम गर्छु भन्ने मनस्थिति थियो होला कति काम सक्नुभयो त?

    मेरो मनस्थिति त मानवीय चेतना विकासका लागि कार्यक्रम ल्याउनुपर्छ भन्ने थियो। त्यसकामा महिला हिंसा र जातीय छुवाछूत र बालबालिकाका क्षेत्रमा काम सुरु गरेको छु। यस नगरपालिकामा आउने सबै गैरसरकारी संस्थालाई मानवीय चेतना वृद्धिका लागि कार्यक्रम ल्याउन भनेका छौँ। अहिले चारवटा गैरसरकारी संस्थाले काम गरिरहेका छन्। भौतिक पूर्वाधारको क्षेत्रमा यस नगरको गाड पारि र गाड वारि भन्छ। गाडपारिको क्षेत्रमा सडक पुगेको छ। तर वर्षायाममा यातायातका साधन जान सक्दैनन्। त्यहाँ वर्षायाममा पनि यातायातका साधन पुर्‍याउनका लागि (गाडमा) खोलामा बेली ब्रिज बनाउनुपर्छ भन्ने छ। हाम्रो कार्यकालभित्र प्रत्येक वडाहरूमा वर्षायाममा पनि यातायात चल्ने बनाउनेछौँ।

    फर्केर हेर्दा यो काम गर्नु थियो तर सकिएन भन्ने केही लागेको छ?

    एउटा कुरा मलाईचाहिँ खट्केको छ। कृषिको व्यावसायीकरणका लागि ऐन बनाउनु थियो। आधुनिक कृषि प्रणाली अपनाउनका लागि ऐन बनाउन सकिएन। कर्मचारी र विषयगत ज्ञान नहुँदा समस्या भएको हो। त्यसैले यो वर्ष कृषिका लागि हामीले गर्नुपर्ने काम गर्न सकिएन भनेर जहिले पनि सोचिरहन्छु। मनमा आइरहन्छ।

    नागरिकले गर्व गर्नलायक यो काम गरेका छौँ भनेर भन्न मिल्ने केही काम छन् र?

    गर्व गर्नलायक काम त छन्। पहाडी नगरपालिकामध्ये नमुना नगरपालिका बनाउने हाम्रो उद्देश्य हो। नगरमा चक्रपथ बनाउने तयारीमा छौँ। दुवै ठाउँबाट सडक निर्माण भइरहेको छ। आगामी वर्षबाट हामी पहिला सडकको डिपिआर तयार गरेर 'टार्गेट'अनुसार सडक पुर्‍याउने काम गर्छौं। नगरपालिका- ९ कालेकाँडालाई सबैभन्दा पहिला अँध्यारोमुक्त वडा घोषणाका लागि काम गरिरहेका छाैँ। त्यसको करिब ६० प्रतिशत काम भइसकेको छ।

    आगामी आर्थिक वर्षमा ती काम सम्पन्न हुन्छन्। छाउपडी जस्तो कुप्रथाको अन्त्यका लागि हामीले पहल गरिरहेका छौँ। चेतनास्तर अभिवृद्धिका कार्यक्रम अघि सारेका छौँ। मलाई प्रमुख कुरा मनावीय चेतना हो जस्तो लाग्दछ। मानवीय चेतनाकै कारण महिला हिंसा जस्ता मानवअधिकारको हनन् भएको देखिन्छ। अधिकार र महिला हिंसाविरुद्ध चेतना अभिवृद्धिका लागि म रातदिन आफैँ फिल्डमा हिँडिरहेको छु। महिला हिंसाका घटना पहिलेभन्दा केही कम भएका छन्।

    तपार्इं नगर प्रमुखभन्दा बढी सक्रियताका साथ काम गरिरहनुभएको छ। अबको पाँच वर्षमा यो नगरमा हामीले केके कुराहरू भएको देख्न सक्छौँ?

    म यस्तो मान्छे हुँ कि मलाई कुनै पनि कामको 'आउटपुट' आउनुपर्छ। काम देखिने गरी हुनुपर्छ। भ्रष्टाचार शून्य हुनुपर्छ। योजनाअनुसार काम हुनुपर्छ। नीतिगत रूपमा पनि हामी चुक्नुहुँदैन। नीति पनि जनतालाई केन्द्रमा राखेर गर्नुपर्छ। पारदर्शी हुनुपर्छ। सबै नागरिकले नगरका सबै गतिविधिबारे जान्न पाउनुपर्छ। यो मेरो कुरा भयो।

    अब पाँच वर्षभित्र हरेक घरमा एक घर एक करेसाबारी भएको देख्न सक्नुहुनेछ। त्यसबाट पोषणको अवस्था सुध्रिनेछ। हाम्रा पशुपालक कृषकले व्यावसायिक ढंगले व्यवसाय गरेको देख्न पाउनुहुनेछ। त्यसका लागि हाम्रो पहल हुनेछ। छाउपडी कुप्रथाको समस्या निकै कम हुनेछ। पाँच वर्षभित्र नगरपालिका बालमैत्री नगरपालिका बन्नेछ र मानवीय व्यवहारका हिसाबले उत्कृष्ट नगरपालिका बन्नेछ।

रमेश रावल

पत्रकार रावल थाहाखबरका कालिकोट जिल्ला संवाददाता हुन्। ईमेल : rmsrwl@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]