विचार

खुट्टा नटेकेको संघीयता
SHARES

जेठ ११, २०७५

    नेपालको राजनीतिले धेरै ठूलो छलाङ मार्‍यो। दक्षिण एसियामा यस्तो छलाङ मार्ने अर्को कुनै मुलुक छैन। निरंकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्र अनि संघीय लोकतन्त्र। ती तीन छलाङको उमेर पच्चीस वर्ष। अकल्पनीय जस्तो लाग्ने। तर नेपाल हो, जहाँका धेरै वस्तुहरू अकल्पनीय नै लाग्छन्। एक करोड दश लाख वर्ष पुरानो मानवको अवशेष, विभिन्न स्थानमा प्राप्त पाँच हजार वर्ष पुराना मानव बस्तीका प्रमाणहरू पनि अकल्पनीय नै छन्। १२० नटिकल माइलको दूरीमा २०० मिटरदेखि आठ हजार ८४८ मिटरको उचाइ भिन्नता, दक्षिण एसियाली सन्दर्भमा भन्नुपर्दा सानो नेपालमा चार हजार वर्ष पुराना पुरातात्त्विक संपदा, उत्खनन् गरेर पनि प्रयोगमा नल्याइएका खानीहरू, सिंगो मुलुकको भूबनोट अनि यस्तो सुन्दर स्थलमा बस्ने नेपालका फुर्सदिला मानिसहरू पनि अकल्पनीय नै हुन्।

    संघीय लोकतन्त्रमा स्थानीय तहहरू बलिया हुुन्छन् तर नेपालमा राजनीति र कर्मचारीतन्त्र दुवै टाउकामा बलिया छन्। सिंहदरबारमा हाकिम भएर बसेको मान्छेलाई सुर्खेतको हाकिम हुँदा घटुवा भएजस्तो लाग्छ। त्यसैले अहिलेको नेपाली संघीयता टाउकाले टेकेर उभिएको मानिस जस्तो छ।

    त्यसैले अहिले नेपालको संघीय लोकतन्त्र पनि अन्य कुनै मुलुकभन्दा धेरै फरकको छ। अरू संघीय लोकतन्त्रमा स्थानीय तहहरू बलिया हुुन्छन् तर नेपालमा राजनीति र कर्मचारीतन्त्र दुवै टाउकामा बलिया छन्। सिंहदरबारमा हाकिम भएर बसेको मान्छेलाई सुर्खेतको हाकिम हुँदा घटुवा भएजस्तो लाग्छ। त्यसैले अहिलेको नेपाली संघीयता टाउकाले टेकेर उभिएको मानिस जस्तो छ।

    टाउकाले टेकेर शारीरिक अभ्यास त गर्न सकिन्छ तर जिन्दगी बिताउन सकिँदैन। त्यसैले नेपाली संघीयताको टाउको टेकाइलाई खुट्टातिर फर्काउनु अहिलेको पहिलो आवश्यकता हो। जहिलेसम्म नेपाली संघीयता खुट्टो टेकेर उभिन सक्ने अवस्थामा हुँदैन, तबसम्म नेताहरूले गर्ने गरेका विकास र समृद्धिका भाषणहरू फगत कागजमा सीमित हुनेछन्।

    नेपालको यो छलाङ परिवर्तनको चुलीमा पुर्‍याउन हाम्रो पुस्ताले ठूलो काम गरेको छ। पंचायतको निरंकुश कालरात्रिमा दियो बालेर प्रजातन्त्र र गणतन्त्रको सपना देख्ने अहिले साठीको दशकमा हिँडिरहेको पुस्ताले असाध्यै धेरै योगदान दिएको छ नेपाली राजनीतिमा। अब हाम्रो पुस्ताले देखेको गणतन्त्रको सपना सार्थक भएको छ। नेपालमा गणतन्त्र मात्र होइन, पुँजीवादको माथिल्लो चरणमा मात्र प्राप्त गर्न सकिने संघीयता पनि हाम्रै पुस्ताले ल्याएको हो। यति धेरै काम गरेको पुस्ताले अब कति गर्न सक्छ? अब हामीले गर्न के बाँकी छ? म त केही देख्दिनँ। अहिले हाम्रो हालत ‘बाह्र छोरा, तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ जस्तो भएको छ। अर्थात् आफूबाहेक अरू कसैलाई विश्वास नगर्ने मूर्ख बुढाको हालत जस्तो हुँदै छ साठी नाघेका नेताहरूको।

    बुढेसकाल लागेपछि शरीरका स्‍नायुहरू कमजोर हुन्छन्। छिटो थकाइ लाग्छ। आराम गर्न मन लाग्छ। यो सामान्य शारीरिक प्रक्रिया हो। त्यसमाथि हाम्रो पुस्ताले भोगेको भूमिगत र निर्वासित जीवन पनि प्राकृतिक थिएन। अप्राकृतिक जीवनशैलीले नेकपा र नेकाका नेताहरूलाई झन कमजोर तुल्याएको छ। मेरो उमेरका दर्जन बढी साथीले अब त थाक्न थालिएछ भनेको पनि मैले सुनेको छु। जति लुकाए पनि सत्य के हो भने अहिलेका अधिकांश नेता रोगी छन्। उच्चरक्तचाप र चिनी रोग त सबैको साझा बिमारी भइहाल्यो। त्यस अतिरिक्त कोही मुटु, कोही पार्किन्सन, कोही विस्मृतिका बिमारी भएका छन्।

    कुनै बेला हामीले मुलुकको नेतृत्व गरेका थियौँ। अब हामी विस्तारै राजनीतिक नेतृत्वका नाउँमा मुलुकका लागि बोझ हुन थालेका छौँ। राम्रो काम गर्ने युवा कार्यकर्ताको समय खाइदिने नराम्रा मानिस भएका छौँ।

    इतिहासले सिकाएको छ- चीनका मुक्तिदाता माओत्सेतुङले पछि बुढेसकाल लागेपछि लिएका नीतिलाई अहिलेको चीनमा दश वर्षे काला दिनहरू भनेको छ। स्टालिनको बुढेसकालले उनलाई तानाशाह बनायो। अफगानिस्तानमा आक्रमण गरेका विनाशकारी तीस वर्षको थालनीकर्ता बाबु बुस पनि बुढै भइसकेका थिए। लाग्ला बुढो हुनु अपराध हो। त्यसो होइन। बुढेसकाल आरामको समय हो। युवावस्थामा धेरै काम गरेका हामी जस्ताहरूका लागि त बुढेसकाल झनै आराम गर्ने समय हो।

    सबै साथी जीवितै हुनुहुन्छ। देवराज घिमिरेको निम्नमाध्यमिक विद्यालयको हेडमास्टरको जागिर मैले नै खाइदिएको हुँ। विष्णु पौडेल सबैका सामु मलाई राजनीतिक गुरु भन्नुहुन्छ। विष्णु रिमालको पुल्चोकको जागिर पनि मैले नै छुटाइदिएको हुँ।

    म आफ्नै उदाहरण दिन्छु। यो मेरो उमेरका धेरै साथीहरूको पनि उदाहरण हो। हामीले गरेको नक्खु जेल विद्रोह अहिलेको उमेरमा हामी गर्न सक्ने थिएनौँ। हाम्रै लागि त्यो कथा भएको छ। त्यतिबेला हाम्रो घरद्वार थिएन। जहाँ गयो त्यहीँ हाम्रो घर हुन्थ्यो। अठार, बीस घण्टा काम गर्ने ऊर्जा हामीसित हुन्थ्यो। अहिले मेरा केही नेता साथीहरूलाई बिहानको भात खाएपछि एकछिन आराम गर्न मन लाग्छ। लगातार आठ घण्टा काम गर्दा थाकिन्छ। अरूको त कुरै नगरौँ, वामदेव गौतम जस्तो कार्यकर्ता उत्पादन गरेको नेतालाई कार्यकर्ताले झर्को लगाउन थालेका छन्। मालेकालमा कार्यकर्ता उत्पादनमा म, वामदेव गौतम र ईश्वर पोखरेल उम्दा नेता ठहरिएका थियौँ। अहिले हामी तीनै जनालाई त्यो समय कुन हिम्मतले यतिविघ्न कार्यकर्ता उत्पादन गरिएछ भनेर गुन्दा आफैँलाई अनौठो लाग्छ।

    मैले ठूलो कुरो गरेको होइन, सबै साथी जीवितै हुनुहुन्छ। देवराज घिमिरेको निम्नमाध्यमिक विद्यालयको हेडमास्टरको जागिर मैले नै खाइदिएको हुँ। विष्णु पौडेल सबैका सामु मलाई राजनीतिक गुरु भन्नुहुन्छ। विष्णु रिमालको पुल्चोकको जागिर पनि मैले नै छुटाइदिएको हुँ। उहाँहरू सबैले राम्रो काम गर्नुभएको छ। विष्णु पौडेल र विष्णु रिमालले मलाई टप्नु हुनेछ भनेर मैले उहिल्यै भनेको थिएँ, जो आज सत्य भएको छ।

    मेरा अरू नेता साथीलाई लाग्छ- हामीलाई कसैले टप्न सक्दैन। यो असत्य हो। बाबुभन्दा छोराछोरी बढी जान्ने हुन्छन्। यो प्राकृतिक कुरा हो र हाम्रै व्यवहारबाट यसको पुष्टि भइसकेको छ।

    म अरू पार्टीको कुरा गर्दिनँ। नेपालका लामो समय शासन गर्ने पार्टी भनेका कम्युनिस्ट र कांग्रेस नै हुन्। कम्युनिस्ट वामपन्थी समाजवादी हुनेछन् र कांग्रेस दक्षिणपन्थी हुनेछ- त्यसका बहालवाला नेताले कुर्सी छाडेनन् भने। वीपी कोइरालाको कांग्रेस त उहिले नै मरिसक्यो। त्यो कांग्रेसलाई मारेर अर्को नयाँ कांग्रेस जन्माउन नसक्ने भनेको २०४८ सालको योजना आयोग र नेपाली कांग्रेसको सरकार हो। एउटालाई मारेपछि अर्कोलाई जन्माउनुपर्ने हो नि नेता भनिन चाहनेले। तर कांग्रेसका कुनै नेताले पनि यो काम गर्न सकेनन्।

    हामी आराम गरौँ। युवाहरूलाई काम गर्न दिऔँ। 

प्रदीप नेपाल

नेकपा एमालेका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]