नेताले बुझेको संस्कृति

|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी कार्यालयमा भएको एक कार्यक्रममा अबको कांग्रेसको लडाइँ कम्युनिस्ट पार्टीसँगै भएको बताउँदै थिए। 

नेपालमा साम्यवाद र लोकतन्त्रको लडाइँमा अब जनताले लोकतन्त्रलाई साथ दिने गरी लोकतन्त्रको प्रचार गर्नुपर्ने उनले बताउँदै थिए। कांग्रेस निकट नेपाल साँस्कृतिक संघले आफ्नो १२औँ स्थापना दिवसको अवसर पारेर सानेपास्थित पार्टी कार्यालमा गरेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी थिए।

पौडेललगत्तै बोलेका देउवाले पौडेलमाथि ‘काउन्टर’ दिए। उनले पौडेलको भनाइप्रति इंगित गर्दै गुटगत राजनीतिका कारण पार्टी कमजोर हुँदै गएको बताए। देउवाको भनाइको आसय पार्टी एक हुन नसकेको अवस्थामा कसरी कम्युनिस्टबीच प्रतिस्पर्धा हुन्छ भन्ने थियो। पौडेलले यसरी अबको लडाइँ कम्युनिस्ट र कांग्रेसबीच भन्दै गर्दा पार्टीभित्रको लडाइँले पार्टी सकिँदै गएको उल्लेख गर्न बिर्सिएका थिए।

तर देउवाले भने पार्टीभित्रको गुटगत राजनीतिका बारेमा पनि बोलिरहेका थिए। उनले पार्टीभित्र अनुशासन नभएका कारण गुटगत चलाउँदै अघि बढ्दा पार्टी सकिँदै गएको संकेत गरेका थिए। उनले पार्टीभित्रको अन्तर्घातका कारण चुनावमा नराम्रोसँग हार्नुपरेको बताउँदै थिए। 

कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलको गुटलाई दह्रो गुट मानिन्छ। यी दुई गुटबीच सधैँ टक्कर परिरहन्छ। सभापति देउवाले गरेका हरेक कामको विरोध गरिरहन्छ पौडेल गुट। निर्वाचनपछि त झनै पार्टीको गुटगत राजनीति छताछुल्ल भएको छ। गत मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले नराम्रोसँग हार व्यहोरेपछि हारको कारणका बारेमा देउवा र पौडेल गुट एकअर्काप्रति आरोप लगाउँदै आएका छन्।

यी दुईबीचको आरोप प्रत्यारोप भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा पनि देखियो। १३ तीनसम्म बसेको बैठकमा विशेषगरी निर्वाचनको समीक्षा भयो। निर्वाचनमा हारको जिम्मा सिंगो केन्द्रीय समितिले लियो। हारको मुख्य कारण वाम गठबन्धन रहेको बैठकले निष्कर्ष निकाल्यो।

बैठक सकिएलगत्तै पौडेलले भने पत्रकार सम्मेलन गर्दै सभापतिले बहुमतको बलमा निर्णय गराएको आरोप लगाएका थिए। वरिष्ठ नेता पौडेलले बैठकपछि अझै पनि पौडेलले हारको जिम्मा सभापतिले लिनुपर्ने बताउँदै आएका छन्। शुक्रबारको कार्यक्रममा समेत उनले सभापतिलाई संकेत गर्दै ढाकछोप गरे फेरि पनि पार्टीको हालत यस्तै हुने बताए। 

पार्टीभित्र देउवा र पौडेल गुट निकै सशक्त छ। यी दुई नेताले एकअर्काप्रति निषेधको जस्तै राजनीति गर्दै आएका छन्। जतिसकुकै एकअर्कार्का विरोध गरे पनि नेताहरू सँगै हुँदा र एउटै मंचमा बस्दा गफगाफ गर्ने गरेको दृश्य प्रशस्त देखिन्छन् तर सभापति देउवा र पौडेल एउटै मंचमा भए पनि एकअर्काबीच खासखुस गर्नु त के एकअर्काको अनुहारसम्म हेरेनन्। 

देउवाप्रति पौडेल पछिल्लो समय निकै रुष्ट भएको यही दृश्यबाट प्रष्टै हुन्थ्यो। सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनीत गर्दा आफ्नो गुटलाई ‘बाइपास’ गरेपछि पौडेल निकै रुष्ट थिए। त्यस कारण पनि देउवा र पौडेलबीच एउटै मंचमा हुँदा पनि अनुहार हेराहेरसम्म भएन। 

मंचमै रहेका दुई नेताबीच अर्को अचम्म के भयो भने एक जना कलाकारको एल्बमा विमोचन पनि सँगै गरेनन्। सांस्कृतिक संघमा आवद्ध कलाकार उज्ज्वल अधिकारीको एल्बम ‘जुनीजुनी’ विमोचनका क्रममा यो दृश्य देखियो। जब सभापति देउवाले एल्बम विमोचन गरेर बसे, तब उठे वरिष्ठ नेता पौडेल। अनि मात्र उनले कार्यक्रममा सहभागी माझ देखाए एल्बमको ‘सिडी’। देउवा र पौडेलको करिब दुई घण्टासम्म एउटै मंचमा बस्दासम्म उनीहरूले एकअर्काप्रति फर्किएर पनि हेरेनन्। देउवा भने मंचमा रहेका कार्यकर्तासँग खासखुस गर्दै थिए। 

कांग्रेसभित्र एकअर्काको गुटगत राजनीति बाहिर ल्याउन पछिल्लो समय सामाजिक संजाल निकै सहयोगी बनेको छ। नेताहरूले आफ्नो विरोधको स्वर र गुटगत राजनीतिलाई सामाजिक संजालमार्फत बाहिर ल्याउँछन्। केन्द्रीय समितिको बैठक सकिनेबित्तिकै पौडेलले पनि यसै गरेका थिए। उनले सामाजिक संजालमार्फत् देउवाले जबर्जस्ती निर्णय गराएको कुरा सार्वजनिक गरेका थिए। 

यही कारण कार्यकर्ता तहमा मनोबल गिर्दै गएको र अरू पार्टीले पनि कांग्रेसमाथि आक्रमण गर्न थालेको पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतले बताए। उनले पौडेललाई लक्षित गर्दै भने, ‘कम्युनिस्टमा धेरै कुरा गोप्य हुन्छ। त्यस कारण त उनीहरू दह्रो भएका हुन्। उनीहरू विचारका हिसाबले हामीभन्दा कमजोर छन् तर हाम्रो पार्टीमा चाहिँ बैठकमा असहमति हुँदैमा सामाजिक संजालमा हाल्ने चलन छ। यो अन्त्य गरौँ। सबै कुरा बैठकमा नै राखौँ।’ 

पार्टी नेता गुरु घिमिरेले भने गुटका कारण पार्टी सकिन लागेको बताए। उनले कांग्रेसभित्रको गुटगत राजनीति सांस्कृतिक संघसम्म आइपुगेको भन्दै गुटगत राजनीतिको अन्त्य गर्न नेताहरूलाई आग्रहसमेत गरे। 

नेताले बुझेको संस्कृति

सांस्कृतिक संघमा गायक, साहित्यकार, अभिनय क्षेत्रका कलाकार, नृत्यकर्मीलगायतका कला क्षेत्रका व्यक्तिहरू छन्। शुक्रबारको स्थापना दिवसको कार्यक्रममा सबै क्षेत्रका कलाकारको उपस्थिति थियो। तर कतिपय कांग्रेसका नेताहरूले संस्कृति भनेको गीत र संगीतलाई मात्र अर्थ्याइरहेका थिए।

कार्यक्रममा बोल्ने मौका पाएका सभापति देउवा, वरिष्ठ नेता पौडेल, डा. महत र उपसभापति विमलेन्द्र निधिले संस्कृतिलाई गीत र संगीतका रूपमा मात्र अर्थ्याइरहेका थिए। 

उनीहरूले कम्युनिस्ट पार्टीमा गीत/संगीतको माध्यमबाट संगठन विस्तार भएको उदाहरण दिँदै त्यसैगरी लाग्न संस्कृति क्षेत्रका कार्यकर्तालाई निर्देशन दिँदै थिए। तर पार्टीका उपसभापति निधिले भने गीत/संगीतमा मात्र सीमित राखेनन् संस्कृतिलाई। उनले नेपालको संस्कृतिहरूको उदाहरण दिँदै नेपालको विविधतालाई जोड्ने संस्कार र संस्कृति भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.