|

विराटनगर : सुन तस्करी र सनम शाक्या हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको बयान तीन दिनमा पनि सकिएन। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर बन्द  इजलास शुक्रबार पनि गोरेको बयान नसकिएको हो।

प्रतिवादी धेरै हुँदा यस मुद्दाका मुख्य अभियुक्त गोरेको बयान लम्बिएको जिल्ला अदालत मोरङका निमित्त श्रेष्तेदार केदारप्रसाद गौतमले जानकारी दिए। तेस्रो दिन पनि गोरेको छ घण्टा बयान लिएको थियो। गोरेले अदालतका न्यायाधीश समक्ष  २७ पृष्ठको बयान दिएको स्रोतले बताएको छ।  गोरेको बयान लम्बिएको कारणले गर्दा उनको बयान आइतबार पनि हुने श्रेस्तेदार गौतमले जानकारी दिए। 

गोरेको बयान आइतबार दिउँसोसम्म सकिए सोही दिन र ढिलो सकिए सोमबार थुनछेक बहस हुने अनुमान गरिएको छ। बयानको क्रममा गोरेलाई सोधिएको प्रश्न घुमाउरो र विषय वस्तुभन्दा अर्को तिर कुराकानी गर्दा बयान लिम्बिएको अदालत स्रोतले बताएको छ।

यसैबीच साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चुँडामणि उप्रेती ‘गोरे’का सहयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

मोरङको उर्लाबारी नगरपालिका–२ का ३८ वर्षीय रेवत भनिने रेवन्तकुमार आचार्यलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनलाई गोरेको बयानका आधारमा पक्राउ गरेको बताएको छ। सनम शाक्यको हत्याका लागि आचार्यले ब्याट्री र तार उपलब्ध गराएको र सनमको मृत्युपछि आचार्यसँग गोरेको फोन सम्पर्क बारम्बार देखिएपछि पक्राउ गरिएको स्रोतको दाबी छ। 

सनम शाक्यको शव भेटिएको गाडीमा करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र तार पनि बरामद भएको थियो। पक्राउ परेका आचार्यलाई सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्कीसहितलाई गोरेले करेन्ट लगाउँदा ब्याट्री र तार उपलब्ध गराएको आरोप उनीमाथि लगाइएको छ। उनलाई जिल्ला अदालतमा शुक्रबार नै उपस्थित गराएर म्याद थप गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.