|

भद्रपुर (झापा) : कानुनमा एक दशकभन्दा अघि नै जातीय छुवाछुत अन्त्य भइसक्यो। तर, सरकारको कानुनलाई लत्याउँदै शिक्षामासमेत भेदभवा हुने गरेको पाइएको छ।

झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्रीकृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रमले दलित विद्यार्थीलाई संस्कृत पठनपाठनबाट वञ्चित गरेपछि झापाका दलित अधिकारकर्मीहरू थप आन्दोलित बनेका छन्।

भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्रीकृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रमले इलाम नगरपालिका–५ बर्वोटेका ८ वर्षीय अनाथ बालक विकास कार्कीडोलीलाई भर्ना लिन मानेन। गुरुकुल संस्कृत विद्यालयको प्रशासन शाखालाई आग्रह गर्दासमेत उनलाई भर्ना गर्न अस्वीकार गरेका थिए।

दलित समुदायका बालक विकासलाई गुरुकुलले भर्ना लिन अस्वीकार गरेपछि झापाका दलित अधिकारीकर्मीहरू थप आन्दोलित बनेका हुन्। शिक्षामा जातीय विभेद गरेको भन्दै आपत्ति जनाउँदै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले एक साताअघि गुरुकुलमा तालाबन्दी गरिसकेको छ।

तालाबन्दी गरे लगत्तै संगठनले जिल्ला प्रशासन कार्यालय झापा पुगेर प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत प्रधानमन्त्री कार्यालयलाई गुरुकुलभित्र हुने विभेद अन्त्य गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र पठाएको छ। यस्तै, दलित अधिकारकर्मीहरूले स्थानीय सरकार भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका छन्।

तालाबन्दी र ज्ञापनपत्र बुझाएको एक साता बित्न लाग्दासमेत कुनै निकाय र पक्षबाट पहल नभएपछि दलित अधिकारीकर्मीहरू शुक्रबार गुरुकुल घेराउ गर्न पुगेका थिए। ‘२१ औँ सताब्दीमा आएर पनि दलित माथि भइरहेको अन्यायको विरुद्धमा उत्रिएका छौ’ ,दलित महिलाकर्मी  तारादेवी बोगटीले भनिन्, ‘सरकारले जातीय छुवाछुतको अन्त्य गरिसकेको छ। सरकारले बनाएको कानुन व्यावहारमा नल्याउँदा जातीय विभेद बढेको हो र यसको अन्त्यका लागि हामी आन्दोलित बनेका छौँ।’

गुरुकुल घेराउ गर्दै कालो झण्डा

जिल्लाभरका सयौँको संख्यामा भेला भएका दलित अधिकारकर्मीहरूले शुक्रबार सदरमुकाम भद्रपुरबाट निकालिएको विरोध प्रर्दशनसहितको वृहत्त र्‍याली गुरुकुल वेदश्राम घेराउ गरेका थिए।

दलितलाई विभेद गर्ने गुरुकुल बन्द गर, जातीय छुवाछुतको अन्त्य गर भन्दै उनीहरूले चर्को नाराबाजीसमेत गरे। नाराबाजी गर्दै पुगेको र्‍यालीले गुरुकुलको गेटमा दलितलाई विभेद गर्ने गुरुकुल बन्द गर लेखिएका १३ वटा कालो झण्डा राखिदिएका छन्। प्रहरीले उनीहरूलाई गेटमै रोकेका थिए। झण्डा लगाए पश्चात उनीहरू र्‍यालीसहित कोणसभाका लागि सदरमुकाम फर्किएका थिए।

 मेची रंगशाला अगाडीको खुल्ला मैदानमा वृहत्त कोणसभा गर्दै उनीहरूले स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारलाई खबरदारी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.