|

बारा : जीतपुर सिमरा उपमहानगरपालिका- ३ बजनीमा छ महिनाअघि भएको कृषक दम्पती दीपक सुवेदी र दीपिका सुवेदीको हत्यामा संलग्न चार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका- २ का रमेश थापा र गोपालबहादुर लामा, वडा- ३ का गुप्तबहादुर लामा र नवलपरासीका अर्जुन नेपाली रहेका छन्।

हत्या काण्डका मुख्य योजनाकारसहित तीन जनालाई बारा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। प्रहरीले एक जनालाई भने पक्राउ गरेर पनि अझै सार्वजनिक गरेको छैन।

इलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालयले रमेश थापा, गोपाल लामा, गुप्तबहादुर लामालाई सार्वजनिक गरेको हो। 

बारा प्रहरीको टोलीले उनीहरूलाई बिहीबार राती सिमराबाट र अर्जुन नेपालीलाई चितवनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन्। नवलपरासीका नेपालीलाई शुक्रबार दिउँसो पक्राउ गरेकाले पत्रकार सम्मेलनमा सार्वजनिक गर्न नसकिएको प्रहरी उपरीक्षक चौधरीले बताइन्। पक्राउ परेकामध्ये रमेश थापा घटनाका मुख्य योजनाकार रहेको बाराकी प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन्।

जीतपुर सिमरा उपमहानगरपालिकाको बजनीस्थित गाई गोठमा छ महिनाअघि मंसिर १५ गते राती सुवेदी दम्पतीको वीभत्स हत्या भएको थियो। ‘पक्राउ परेकाहरूलाई जिल्ला अदालत बाराबाट सात दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेका छौँ’, प्रहरी उपरीक्षक चौधरीले भनिन्, ‘नेपालीलाई बारा ल्याएर आइतबार म्याद थप गरी सार्वजनिक गर्नेछौँ।’  

लागुऔषधको नशामा हत्या 

सुवेदी दम्पतीको हत्यामा संलग्न चारै जना लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। लागुऔषध कारोबार र चोरीमा जेल सजायसमेत भोगिसकेका चारै जनाले लागुऔषधको नशामा परेर सुवेदी दम्पतीको हत्या गरेको प्रहरीको भनाइ छ। लागुऔषधको कुलतमा रहेका थापा र मृतक दीपक सुवेदीबीच घटनाको केही दिनअघि विवाद भएको र सोही विवादको प्रतिशोध साँध्न गएका उनीहरूबीच झगडा हुँदा सुवेदी दम्पतीको हत्या भएको प्रहरीको भनाइ छ। 

झगडाका क्रममा छड र हथौडाले हान्दा सुवेदीको मृत्यु भएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूले आफूहरूको संलग्नतामा घटना भएको स्वीकार गरेको प्रहरीले बताएको छ। प्रहरीले बिहीबार राती रमेश थापालाई जीतपुरसिमरा- २ स्थित उनको घरबाट पक्राउ गरेपछि उनकै सूचनाका आधारमा अन्यलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक चौधरीले बताइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छ महिनापछि पक्राउ

हत्या भएको महिनौँ बितिसक्दासमेत अभियुक्त पक्राउ गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको प्रहरीले छ महिनापछि अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको हो। हत्यारा पक्राउ गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई उपमहानगरका प्रमुख डा‍. कृष्ण पौडेल नेतृत्वको टोलीले ज्ञापनपत्रसमेत बुझाएको थियो। अपराधी पक्राउ गरी सार्वजनिक गर्न माग गर्दैै स्थानीय महिलाहरूले आन्दोलनसमेत गरेका थिए। 

एसपी चौधरीको सफलता

बारा प्रहरीको नेतृत्व थालेको छोटो अवधिमा प्रहरी उपरीक्षक मीरा चौधरीलाई सफलता मिलेको हो। घटना भएका बेला बारामा रहेका तत्कालीन प्रहरी उपरीक्षक राजकुमार बैदवारको हालै सरुवा भएको थियो। घटनाको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले समेत सहयोग गरेको थियो।  

दर्दनाक र वीभत्स हत्या

दीपकको शव आफ्नै गाई फारमभन्दा केही पर परालको टौवानेर फेला परेको थियो भने उनकी श्रीमतीको शव सुत्ने कोठामा फेला परेको थियो। श्रीमती दीपिकाको शरीरमा घरेलु हातहतियार प्रहार गरेको देखिन्थ्यो। घटनास्थलमा किला ठोक्ने हथौडा फेला परेको थियो। दीपिकाको टाउकोमा गम्भीर चोट लागेको थियो। शरीर रगतले लतपतिएको थियो। श्रीमान् दीपकको पनि टाउको र शरीरमा चोट थियो। नजिकै काठको भाटा फेला परेको थियो र त्यति बेलाको दृश्य हृदयविदारक र कारुणिक रहेको उनको परिवारले जनाएका थिए।

हत्याको भोलिपल्ट बिहान स्थानीयले सुवेदी दम्पतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको मुचुल्कासहित जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान अघि बढाएको थियो।   

बारामा एक दम्पतीको बीभत्स हत्या 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.