|

उदयपुर : अज्ञात रोगले विद्यार्थी काम्न थालेपछि पठनपाठन प्रभावित भएको छ। उदयपुरको वेलका नगरपालिका ८ मा रहेको श्री कोशी माध्यमिक विद्यालयमा अनौठो प्रकार रोग विद्यार्थीमा देखा परेपछि पठनपाठन प्रभावित भएको हो।
    

विगत छ महिनादेखि विद्यालयमा छात्रा र छात्र दुवै थर्र काम्ने अज्ञात रोग देखापरेपछि पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक तुलसी खड्काले बताए। ‘काम्ने केटीको संख्या धेरै रहेको छ,’ उनले भने, ‘केटी मात्र होइन केटा पनि काम्ने गरेका छन्।’ उनका अनसार काम्ने रोगका कारण विगत छ महिनादेखि विद्यालयको पठनपाठन प्रभावित बनाएको छ।
    
प्रअ खड्का अनुसार विद्यालयमा विद्यार्थीहरू  काम्ने र कसैलाई देख्यो की पढ्न मन नलागे भन्दै कराउदै रुने, डराउने, छिटो छिटो शास फेर्ने लक्षण देखाउँछन्। अभिभावकहरूले जंगली लागेको भनेर पटक–पटक धामी झाँकी लगाउँदै आएका छन्। विद्यालयमा दैनिक एकै प्रकारले विद्यार्थी चिच्याउने, कराउने, काम्ने गर्न थालेपछि समस्या परेको प्रअको भनाइ छ।
    
वेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले जानकारी पाएपछि परामर्श दिने काम भइरहेको बताएका छन्। स्थानीय जानुका कार्कीले विद्यार्थीलाई परामर्श दिन थालेपछि केही कमी आएको बताइन्। ‘कुन रोग लागेको थाहा भएन। अहिलेसम्म कोही पनि अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छैनन्।’ उनले भनिन्, ‘नगर प्रमुखले परामर्श सेवा दिनु पर्छ भनेपछि त्यसै गर्न थालिएको छ।’
     
जिल्ला अस्पताल उदयपुरमा प्रमुख डाक्टर पवन साहले काम्ने, ढल्ने, वेहोस हुने, श्वाप्रस्वासमा ग्राहो हुने र आत्तिने आदि लक्षणहरू मास हिस्टोरियाको रहेको बताए। ‘मास हिस्टेरिया छात्रामा सर्दै गए जस्तो देखिने, ठूलो भीडमा रोग आफैँ बढ्ने, विरामीलाई सम्हाल्न नै गाह्रो हुने हुन्छ,’ उनले भने, ‘यस्तो रोग छात्रा वा छात्र दुवैलाई लाग्छ सक्छ, मनोवैज्ञानिक समस्या हो, आतिनु पर्दैन, मनोवैज्ञानिक परामर्शबाट ठीक हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.