|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा रहेको सुनदेवी ताल मनमोहक छ। चारैतिर पहाड र घना सालको वनले घेरिएको यस तालको मनमोहक दृश्यले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध पार्दछ।

नगरपालिकाको झलारी बजारदेखि करिब १५ किलोमिटरको दूरीमा रहेको तालसम्म पुग्नका लागि आठ किलोमिटर सवारीका साधनमा जान सकिन्छ। त्यसभन्दा माथिको चुरे क्षेत्रका खहरे खोला छिचोल्दै, चुरे पहाड उक्लिँदै पैदल यात्रा गर्नु पर्दछ। नगरपालिकाले बस्ती रहेका क्षेत्रसम्म सडकको स्तरोन्नतिको गरे पनि तालसम्म पुग्न सडक निर्माण भइसकेको छैन।

सुनदेवी ताल क्षेत्रमा भक्तजनहरूले सुनदेवीको दर्शनमा जाने गरेका छन्। स्थानीय विद्यालयका विद्यार्थी वनभोज जाने गर्दछन्। यातायातको असुविधा र प्रचारप्रसारको अभावले यस क्षेत्रमा आन्तरिक पर्यटक मात्र जाने गरेका छन्। 

यस ताल ७०० मिटर लम्बाइ  र ४०० मिटर चौडाइमा फैलिएको छ। तालमा रहेको पानी सुन जस्तै एकनासको पहेलो देखिने गरेकाले यस तालको नाम सुनदेवी रहन गएको स्थानीयहरू बताउँछन्। तालको पानी हावाको बहावले हल्लिँदा नीलो र पहेंलो रंगको देखिने गर्दछ। 

तालको वरिपरि घना वन क्षेत्र भए पनि तालको पानीमा पात देखिँदैन। ताल सफा छ। चारैतिर पहाडले घेरेको यस ताललाई जुन दिशाबाट हेरे पनि चौडाइ र लम्बाइ ठम्याउन मुस्किल हुन्छ।

तालमा एक जोडी रैथाने प्रजातिको बतखको क्रिडा गरिरहेको देखिए पनि माछा भने नदेखिएको स्थानीय लालबहादुर महराले बताए। उनले भने, ‘चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यस तालमा माछा देखेका छैनौं।’ यस क्षेत्रमा पाटे बाघ, दुम्सी, मृगलगायतका जनावर पानी पिउनका आउने गरेका उनले बताए।

तालका वरिपरि पाटे बाघका पदचिह्न जताततै देखिन्छन। यस साथै मयुर, मैना, लाटोकोसेरो, कालिज, हाँस, धनेशलगायतका चराहरुको चहलपहलले यस क्षेत्रमा पुग्ने जो कोहीलाई आनन्द दिलाउँछ। ताल क्षेत्रमा जाँदा बाटोमा बाँदर, लगुना, मृग, बदेल देख्न पाइन्छ। 

तालको छेउमा काठको छानो भएको सुनदेवीको मन्दिर छ। मन्दिरमा सन् १६७३ का पुराना ठूला घण्टीहरू राखिएकाले यस क्षेत्र प्राचीनकालदेखि नै धार्मिक क्षेत्रका परिचित रहेको देखाउँछ।

सुनदेवीको मन्दिरमा भाकल गरे निसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका छ। त्यसैले यस मन्दिरमा नवरात्रका बेला भाकल गर्ने र वर माग्नेहरुको घुइँचो लाग्ने गरेको छ। नवरात्रका साथै तिहार र माघे संक्रान्तिमा पूजाअर्चना गर्ने भक्तजनहरू मन्दिरमा पुग्ने गरेको वातावरण सामुदायिक वनका अध्यक्ष पुष्कर सिंहले बताए उनका अनुसार विवाह, व्रतबन्ध र स–साना छेवरका लागि पनि भक्तजनहरू यहाँ पुग्ने गरेका छन्। उनले भने, ‘त्यो संख्या भने थोरै मात्र रहने गरेको छ।’

तालको दक्षिणतर्फ करिब सात किलो मिटर टाढाको स्टेशनपुर क्षेत्र छ। यस क्षेत्रलाई अंग्रेजले काठ ओसार्न रेलको स्टेशनका रूपमा प्रयोग गरेकाले स्टेशनपुर भनिएको स्थानीय प्रेमबहादुर धानुकले बताए। त्यसको नजिकै अंग्रेजले झण्डा गाडेको स्थान छ। त्यस क्षेत्रलाई झण्डाबोझ नामले चिनिने गरेको धानुकले बताए।

जंगबहादुर राणालाई अंग्रेजले नयाँ मुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएको यहाँका बुढापाकाहरू बताउँछन्। अझै पनि रेल कुदाउनका लागि बनाइएको लिकको बीचमा राखिएका काठ जंगलतिर भेटिन स्थानीयको भनाइ छ। ऐतिहासिक महत्त्वको बोकेको क्षेत्र भए पनि सुनदेवी क्षेत्र प्रचारप्रसार र संरक्षणका लागि कुनै पनि निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ। तालको पानी निकास हुने क्षेत्रमा बर्सेनि पहिरो गरेकाले ताल नासिने चिन्ता रहेको स्थानीयवासीको चिन्ता छ। 

सुनदेवी तालसम्म पुग्ने सडक र यसको पूर्वाधार विकासका लागि योजना अघि बढाइए पर्यटकहरूलाई आकर्षित गर्न सकिने वडाध्यक्ष बहादुरसिंह मराले बताए। नगर प्रमुख दिलबहादुर ऐरले नगरपालिका क्षेत्रका ताल–तलैया र पर्यटकीय क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना तयार भैसकेको बताउँछन्। उनले भने, ‘दोस्रो नगरसभाबाट पर्यटकीय धरोहरहरुको विकासका लागि योजनावद्ध रूपमा प्रर्याप्त बजेट विनियोजन गरी कार्य अगाडि बढाइन्छ।’

पर्यटकीय क्षेत्रलाई चिनाई बाह्य पर्यटक भित्र्याउन सडक सञ्जाल बिस्तार, पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकासको कामका साथै संरक्षण तथा संवद्र्धनका कार्यक्रमहरू समेत लागु गरिने उनले प्रतिवद्धता जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.