|

उदयपुर : चार वर्षअघि कटारी नगरपालिकाको लिम्पाटारबाट बसाइँ सरेर वडा नम्बर ४, कटारी आएपछि अम्बिका पोखरेलको दैनिकी एकाएक बदलियो। उनी एकाबिहान उठ्न बित्तिकै आँखा मिच्दै खानेपानीका लागि लाइनमा बस्न आधा घण्टा टाढा कलमा जान थालिन्। यो उनको दैनिकी बन्यो। 

खानेपानी भर्न इनारमा लाइन बस्नुपर्ने अम्बिकाले बताइन्। उनले भनिन्, ‘शहरमा धेरै सुविधा पाइन्छ भनेर बसाइँ आयौं, तर अहिले किन आएछु भन्ने पछुतो लागेको छ।’

यस क्षेत्रका दुई हजार ८५० परिवारका अधिकांश महिलाहरूले खानेपानीको जोहो गर्न बिहान बिताउन बाध्य छन्। हिउँद लागेसँगै खानेपानीको चरम समस्या हुने गर्छ। बिहानको समयमा विद्यार्थी, आधाबैंसेदेखि वृद्धासम्म पानी बोक्नमै तल्लीन हुन्छन्। ‘कटारी बजारस्थित खानेपानी योजनाको पानी आउन छोडेको करिब महिना दिन भयो,’ स्थानीय उपभोक्ता रमा कार्कीले भनिन्, ‘धारामा पानी आउन छाडेपछि खोलाबाट डोकोमा बोकेर पानी ल्याउनुपर्छ।’

आधा घण्टाको बाटो हिँडेर डोकोमा बोकेर ल्याएको पानी पनि दूषित भएको उनले गुनासो गरिन्। नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नम्बर ३, ४ र ५ का बस्तीमा खानेपानीको हाहाकर मच्चिएको स्थानीय पारू राईले बताइन्। उनले भनिन्, ‘एक गाग्री पानीकै लागि दुईदेखि तीन घण्टा समय बिताउनुपर्छ।’

खानेपानीको हाहाकारले घरायसी कामकाजमा समस्या झेल्नु मात्र होइन, छिमेकीसँग झैं झगडा समेत हुने गरेको पारूले बताइन्। ‘बिहान उज्यालो नहुँदै कल, कुवा र ईनार वरिपरि पानी खोज्नेको ठूलो ताँती हुन्छ,’ उनले भनिन्, ‘कसले पहिले पानी भर्ने भनेर झैं झगडा समेत हुन्छ।’

कटारीको खानेपानी समस्या ०६५, ०७० र ०७४ मा सम्पन्न चुनावमा राजनीतिक दलहरूको चुनावी एजेण्डा बन्यो। ‘भोट माग्न गाउँगाउँमा पुगेका नेताले भोट देऊ खानेपानी ल्याइदिन्छु भनेर आश्वासन दिए,’ स्थानीय रामबाबु थापाले भने, ‘चुनाव सकिएसँगै उक्त ऐजेण्डा समेत हरायो।’

बजार क्षेत्रका खानेपानीका लागि सिन्कौले खोला खानेपानी आयोजना सञ्चालनमा छ। तर आयोजना पुरानो र कम क्षमता भएकाले पर्याप्त पानी वितरण गर्न नसकिएको खानेपानी समितिका अध्यक्ष दोजराज पौडेल बताउँछन्। पौडेलका अनुसार तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधीन रहेको र उक्त आयोजना सम्पन्नपछि २० वर्षका लागि खानेपानीको समस्या समाधान हुनेछ।

यस्तो छ नयाँ आयोजना

एसियाली विकास बैंक(एडीबी)को अनुदान सहयोग, नगर विकास कोषको ऋण सहयोग र उपभोक्ताको लगानीबाट निर्माण गरिने साना सहरी खानेपानी आयोजना निर्माणाधीन छ। उक्त आयोजना एडीबीको अनुदान ७० प्रतिशत, नगरविकास कोषको उपभोक्तालाई ऋण २५ प्रतिशत र खानेपानीको उपभोक्ताहरूले ५ प्रतिशत रकमबाट हुनेछ।

०७३ असारमा सम्झौता भएको उक्त ०७५ साउन २ मा निर्माण सम्पन्न हुने भनिएको छ। २० वर्षको लागि लक्षित गरेर निर्माण गरिएको उक्त आयोजनाबाट प्रतिसेकेन्ड ६० लिटर पानी प्रशोधन गर्ने क्षमता छ।

५१ करोड ६१ लाख रुपैयाँ लागत स्टिमेट रहेको आयोजना सम्पन्नपछि दुई हजार ८५० परिवारलाई २४ सैं घण्टा खानेपानी उपलब्ध हुने लक्ष्य रहेको छ। जसका लागि स्थानीय तावा खोलामा डीप बोरिङ्ग गरी कटारी डाँडामा फिल्टर गरेर पानी वितरण गरिने आयोजनाले जनाएको छ। उक्त आयोजना सम्पन्न भएसँगै कटारीवासीको खानेपानी समस्या समाधान हुने कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.