८० वर्षमा पनि नारायणप्रसादलाई पढाइमा उत्तिकै रुचि

|

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका-५ बहुअर्वा गाउँका राम नारायण प्रसाद मण्डललाई पढाइभन्दा ठूलो अरू केही नभएको बताउँछन्। उनी भन्छन, ‘खाने मुखलाई जुँगाले छेक्दैन, पढ्ने मनलाई उमेरले रोक्दैन।’

यही उखानलाई चरितार्थ गर्दै ८० वर्षीय राम नारायण अहिले त्रिविवि अन्तर्गत मानवीय संकाय तर्फ स्नातकोत्तरमा अंग्रेजी विषय लिएर जनकपुरस्थित राराब क्याम्पसमा पढ्दै छन्।  

यतिखेर राम नारायण जनकपुरमा गुरुकुल अंग्रेजी माध्यमका विद्यालय खोलेर स–साना बालबालिकाहरूलाई शिक्षादिक्षा दिन नै दिनभर व्यस्त हुन्छन्। उनका दुई छोरी र दुई छोरा पढेलेखेका छन्। जेठो छोरा काठमाडौंमा वनस्पति विज्ञानका प्राध्यापक छन् भने कान्छा छोरा बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल छन्। 

‘छोराछोरीले पढेर पुग्ने रहेनछ,’ उनी भन्छन्, ‘आफ्ना लागि आफैँले पढ्नुपर्ने रहेछ।’ पढ्ने ईच्छा मनभित्रैबाट तीव्र भएपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमएमा अंग्रेजी साहित्यका कक्षामा सहभागी भई निरन्तर किताब, कापी समातेर क्याम्पस आउने गरेको उनी बताउँँछन्।

भनिन्छ, ‘मानिस बुढो हुन्छ, तर बुद्धि कहिल्यै पनि बुढो हुँदैन्।’ यो भनाईसँग ठ्याक्कै मेला खान जान्छ रामनारायणको जीवन यात्रा। उनको पढ्ने ईच्छा र चाहनाका बीच उनले एमएको ‘ईन्ट्रान्स’ परीक्षामा उत्र्तीण गरी नियमित रूपमा पढन् कक्षाकोठामा जाने दुईजना मात्र छन्। जस मध्ये एकजना उनी  स्वयं हुन्। 

उनी यसअघि नै सन् १९६३ त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पास भइसकेका छन्। तर उनलाई यतिले मात्र नपुगेर थप कुरा सिक्न तथा जान्ने मनोकांक्षालाई पूरा गर्न आफू क्याम्पस भर्ना भएको उनी बताउँछन्। 

कञ्चनपुरमा वरिष्ठ साहित्यकार पं. सुन्दर झा शास्त्री जिल्ला शिक्षा अधिकारी रहेको बेला उनी सहायक शिक्षा अधिकारी हँुदै अञ्चल शिक्षा अधिकारीसमेत भएका थिए। सोही समयमा युनेस्कोको सहयोगमा उनीे श्रीलंका, सिंगापुर, बंगलादेश, भारतलगायत १४ वटा देश शिक्षण भ्रमण तथा अवलोकन गर्ने मौकासमेत पाए।

उनको वौद्धिकता र तिक्ष्णताले बलिउडक कलाकारहरू शत्रुधन सिन्हा, अनिल धवन जस्ता प्रख्यात व्यक्तिहरूसँग उनको समय–समयमा उठबस्समेत भै रहन्थ्यो। 
कुनै बेला जनकपुरधामको चलन चल्तीको बोर्डिङ स्कुल थियो, सीता विद्या आश्रम जसको उनी संस्थापक प्रिन्सिपल रहेका थिए। र सोही पेशालाई निरन्तरता दिँदै अहिले पुनः जनकपुरमा नै गुरुकुल नामको आधारभूत विद्यालय सञ्चालन गरेर अंग्रेजी विषयमा सेवा पुर्‍याउदै आएका छन्। ‘हिन्दू’, ‘परिक्रमा’लगायत रामनारायणका लघु पुस्तकहरूसमेत प्रकाशित छन्। 

उनी २०४३ सालमा राष्ट्रिय पंचायतको चुनावमा शेरे धनुषा भनिने हेमबहादुर मल्लका विरुद्धमा पुल छापबाट उम्मेदवारी दिएर चुनावसमेत लडेका थिए। मण्डलकै सन्दर्भमा एउटा अर्काे प्रसंग ज्यादै नै रोचक छ। वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलका काका युगेश्वर लाभ बहुअर्वा विद्यालयका प्रथम प्रधानाध्यापक थिए। उनी काकासँगै बहुअर्वा पनि जाने गर्दथे। त्यतिबेला उनका काका शिक्षाका मसिहा थिए। 

राम नारायणका ज्येष्ठ दाजु गंगाप्रसाद मण्डल प्रजातन्त्रप्रेमी, सामाजिक तथा शैक्षिक अभियन्ता थिए। र, त उनको अगुवाइ तथा सम्पत्तिको योगदान र स्थानीयको सहयोग तथा सक्रियतामा विस २०११ सालमा निर्माण गरिएको बहुअर्वा विद्यालयमा डा. विमलका काका प्रधानाध्यापक रुपमा काम गर्दथे। उनले एक दिन डा. विमलसँगै विद्यालय प्रांगणमा अनावश्यक उम्रिएका घाँसलाई विद्यार्थीहरूसँग उखेल्दै सरसफाइमा जुटेका थिए। त्यतिबेला नै गाउँमा सबभन्दा बढि पढेलेखेका विद्वान राम नारायण आइपुग्दा रहेछ, उनले डा.विमल तर्फ इंगित गर्दै भने यो बाबुलाई किन काम लगाउनु भएको हाे, भनेर प्रश्न गर्दा प्रधानाध्यापक लाभले महात्मा गान्धिका दृष्टान्त प्रस्तुत गरेका थिए। यो कुरा डा. विमलले ‘हरिहर गाछ आ लाल फूल’ अर्थात् हरियो रुख र रातो फूल भन्ने संस्मरणात्मक आलेखमा उल्लेख गरेका छन्। 

यस्तै वरिष्ठ भाषा बैज्ञानिक डा. रामावतार यादवले रामनारायण जी आफूभन्दा सिनियर भएको बताउँदै उनलाई बलिउड अभिनेता देवानन्द भन्दै आफूहरूले जिस्काउँने गरेका कुरा सम्झे। 

यसरी जनकपुर र यसक्षेत्रका साहित्यकार तथा विद्वानहरुसँग उनको राम्रै सम्बन्ध छ। उनले आफ्नो दैनिकी सम्झिदै सुनाए ‘म विहान ४ बजे ओछ्यानबाट उठिसकेर विहान नित्यकर्म गर्दै विहानको ६ बजे क्याम्पसका लागि हिड्छु। क्याम्पस पुगेर अध्ययनपश्चात् विदा हुने बित्तिक्कै स्कुल पुगेर खाना खाएर पुनः साढे १० बजेदेखि साढे ३ बजेसम्म स्कुलको अध्ययन–अध्यापनमा व्यस्त हुन्छु। साँझमा हिँडडुलको क्रममा गंगासागर, जानकी मन्दिर हुँदै ८ बजेभित्र डेरा पुगी खाना खाएर कलेजमा सिकेका कुराहरुलाई मनन् गर्ने प्रयास गर्छु।’

उनले भने, ‘म प्रायः सधै कलेज जान्छु मलाई सबैले सम्मान गर्छन्, चाहे त्यो मलाई पढाउने ३० वर्षका ठिटो होस् वा ५५–६० वर्ष लाग्नै लागेका बुढो! मलाई नआएका कुराहरू सरसँग सोध्छु सरहरूले पनि बताइदिनुहुन्छ, कतिपय अवस्थामा त सरहरूले घरमै पनि तपाई आउनुस् त्यही पढाइदिउँला भनेर पनि ‘अफर’ गर्ने गरेको छ र म जान्छु पनि।’

राम नारायण पढ्न जाँदै गरेको हेर्दा जति मन हर्षित हुन्छ, त्यति नै बेला आजको पुस्ताको पढाइप्रति बढ्दै गएको वितृष्णाप्रति निराशा उत्पन्न हुने गरेको वुद्धिजीवि नित्यानन्द मण्डल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.