|

कञ्चनपुर ः भीमदत्त नगरपालिको उत्तरी क्षेत्रमा जैविक मार्ग निर्माणपछि दक्षिणी क्षेत्रमा पर्यटन मार्ग बनाउन सुरु गरिएको छ। 

भीनपा वडा नं. १३ झोलुङ्गे पुलदेखि वडा नं. १९ बागफाँटासम्म पर्यटन मार्ग बनाउन लागिएको हो। ती दुबै मार्ग भीनपालाई चक्रपथबाट जोडेर नगर यातायात संचालनको योजना अन्र्तगत निर्माण गर्न लागिएका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार भएर जाने उक्त मार्ग झोलुङ्गे पुलदेखि बागफाँटासम्म निर्माण गरिनेछ। 

भीनपाका नगर प्रमुख विष्टले नगर क्षेत्रमा चक्रपथ निर्माण योजना अन्र्तगत पर्यटन मार्ग निर्माण गरिन लागेका बताए।
‘घाँडीघाचमा  जैविक मार्ग निर्मााण भएको छ, यस क्षेत्रमा पर्यटन मार्ग बनाउँदैछौँ, ती दुबैलाई जोडेर चक्रपथ बनाउने लक्ष्य छ’ नगर प्रमुख विष्टले भने, ‘त्यसपछि नगर क्षेत्रमा नगर यातायात सञ्चालन गर्छौँ।’

भीनपा–१५ का वडा अध्यक्ष भीम बहादुर साहुले स्थानीयसित छलफल गरी पर्यटन मार्ग निर्माण थालिएको बताए। ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार भएर यो मार्ग बनाउन खोजिएको छ’, वडा अध्यक्ष साहुले भने, ‘स्थानीयसित छलफल गरिएको छ, त्यसमा सहमति गरिएको छ, त्यसै अनुसार निर्माण अघि बढ्छ।’

निकुञ्ज किनारका स्थानीयले निकुञ्जबाट सधैं समस्या मात्रै भोग्दै आएकाले यस पटक पर्यटन मार्ग बनाएर स्थानीयलाई लाभ दिन खोजिएको अध्यक्ष साहुले बताए। ‘निकुञ्जका जनावरबाट स्थानीय धेरै पीडित छन, जहिले पनि दुःख मात्रै पाएका छन,’ उनले भने, ‘एक ठाउँबाट अर्को आउजाउ सहज र वन्यजन्तुबाट समेत जोगिनका लागि मार्ग बनाउन लागिएको छ।’

पर्यटन मार्गले भीनपा–१३, १४, १६, १५, १८ र १९ वडालाई एक आपसमा जोड्ने छ। वडा अध्यक्ष साहुले भीनपा १५, १८ र १९ मा मार्गमा पर्ने जग्गाका लागि समस्या नभएको बताए। ‘छलफल गरी हल गरेका छौँ, अन्यमा केही समस्या छन्, त्यसलाई छलफल गरी हल गर्छौँ,’ उनले भने। 

झोलुङ्गे पुलदेखि बागफाँटासम्म झण्डै २० किलोमिटर सडक दुई लेनको हुनेछ। स्थानीयले सडकलाई १० मिटर चौडा बनाउन जग्गा दिन सहमत भएका छन्। 

पर्यटन मार्गले वन्यजन्तुबाट बालीनाली जोगिने र स्थानीय स्तरमा रोजगारमा वृद्धि हुने भीनपा–१५ गोबरैयाका स्थानीय कृष्णदत्त भट्टले बताए। पर्यटन मार्ग र जैविक मार्गलाई जोड्न पूर्वमा बागफाँटादेखि बाराकुण्डा र पश्चिममा ब्रह्मदेबदेखि झोलुङ्गेसम्म सडक निर्माण गर्ने नगरपालिकाको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.