|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको छ। गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी कम हुन थालेपछि सदरमुकाम क्षेत्र खानेपानीको चरम अभाव भएको हो। 

मुहानबाट पानी कम आइरहेकाले खानेपानीको समस्या सिर्जना भएको खलंगा खानेपानी उपाभोक्त समितिकाका कार्यालय सचिव यज्ञराज ओझ बताए। जिल्ला सदरमुकाम क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा यहाँका स्थानीयहरू बेलाबेला खानेपानीको समस्या झेल्दै आइरहेका छन्। ट्यांकीमा पानीको मात्रा कम भएकाले बुधबारबाट तीन दिनमा एक पटक मात्रै उपभोक्तालाई पानी दिने व्यवस्था मिलाइएको कार्यालय सचिव ओझाको भनाइ छ।

तत्कालका लागि तीन दिनमा एक पटक पानी दिने व्यवस्था मिलाएको र मुहानमा पानीको मात्रा बढेपछि नियमित रुपमा दिनको एक पटक पानी उपलब्ध गराउने उनले जानकारी दिए।  खलंगा खानेपानी उपाभोक्त समितिसँग भएको १२ फिटको ट्यांकीमा अहिले ४ फिट मात्रै पानी संचित भइरहेको जनाइएको छ

सदरमुकामबासी अहिले जिल्ला नजिकको खानेपानीको मूलमा धाउन बाध्य छन्। मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीय बताउँछन्। पानीका लागि सदरमुकामबाट घण्टौं टाढा रहेका खोला तथा न्वौलामा गएर पानी ल्याई प्रयोग गरिरहेको सदरमुकाममा डेरा गरी बस्दै आएकी धनेश्वरी पन्तले बताइन्। 

बिहान क्याम्पस जान हतार हुने भएकाले छिमेकीको घरबाट पानी सापट लिएर खाना पकाउनुपर्ने बाध्यता रहेको सदरमुकाममा कोठा भाडा लिएर बस्ने विद्यार्थी रामबहादुर पार्की बताउँछन्। ‘बिहान ६ बजेतिर क्याम्पस जानु पर्छ। कोठामा पानी हुँदैन्। उनले भने, ‘कुनै दिन घरभेटीसँग मागेर खाना पकाएर खाएर जान्छु त कसैले त्यस्तै जान्छु। धारमा पानी नआउँदा म जस्ता विद्यार्थीहरुलाई धेरै नै समस्या भएको छ।’ 

अहिले डडेल्धुराका स्थानीय होटल व्यवसायीलाई समेत पानीको अभाव भइरहेको छ। होटलमा पानी नहुँदा बास बस्न आएका ग्राहक पनि फर्किने गरेको जिल्ला सदरमुकाममा होटल व्यवसाय गर्दै आइरहेका निराजन शाही बताउँछन्। ठाउँबाट पानी ल्याउनका लागि पनि ट्यांकर पनि नपाइएको उनको भनाइ छ। अहिले सदरमुकामको जनसंख्यालाई कम्तीमा पनि छ लाख लिटर पानीको आश्यकता पर्छ। तर खलंगा खानेपानीको ट्यांकीमा अहिले जम्मा एक लाख क्षमता भएको ट्यांकी भएका कारण खानेपानीको अभाव भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष रवि केसीले बताए।

यस्तो छ नयाँ योजना

खानेपानीको अभावलाई मध्यनजर गरी १३०० धाराका लागि नयाँ खानेपानी योजना निर्माणको थालनी भएको उपभोक्ता समितिका अध्यक्ष केसीले जानकारी दिए। सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्न साना सहरी खानेपानी योजना लागू भएको छ। ३० करोड ६२ लाख रुपैयाँ लागतमा नयाँ खानेपानीको योजना निर्माण भइरहेको छ। सो योजना सम्पन्न भएमा डडेल्धुरा सदरमुकामलगायत वरपरको क्षेत्रमा समेत पर्याप्त पानी पुग्ने उनको भनाइ छ । 

खानेपानी योजना निर्माण चार महिनादेखि भइरहेको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ। नगरपालिकासँगको सहकार्यमा समितिले गरेको सर्वेका आधारमा हाल खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा १३०० धारा आवश्यक पर्ने तथ्यांकले जनाएको छ।

प्रतिव्यक्ति ५० लिटरसम्म पानी वितरण गर्दै नगरपालिका 

सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएपछि अमरगढी नगरपालिकाले निःशुल्क पानी वितरण गर्न थालेकोे छ। नगरपालिका सदरमुकाममा खानेपानीको चरम अभाव भएपछि स्थानीयलाको सहजताका लागि शुक्रबारदेखि नगरपालिकाले दमकलबाट पानी वितरण गर्न सुरु गरेको हो। 

खोलाबाट पानी दमकलमा ल्याई सदरमुकाम क्षेत्रका स्थानीयलाई पानी वितराण गरिँदैछ। खोलाबाट ल्याइएको पानी नगरबासीहरूले लुगा कपडा धुन तथा सरसफाइमा प्रयोग गरिरहेका छन्। नगरपालिकाले आफ्नै दमकलमा पानी ल्याई  प्रतिव्यक्ति २० देखि ५० लिटरसम्म पानी वितरण गरिरहेको अमरगढी नगरपालिकाले जनाएको छ। 

दमकलमा पानी ल्याई सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुर, खलंंगालगायतका क्षेत्रमा पानीको वितरण गरिरहेको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

खानेपानीको चरम अभाव भइरहेका बेला सदरमुकामवासीलाई केही सहज होस् भन्ने उद्देश्यले नगरपालिकाको आफ्नै दमकलबाट निःशुल्क रुपमा नगरवासीलाई पानी वितरण गरिरहेको नगर प्रमुख ओझाको भनाइ छ। 

खानेपानीको हाहाकार मच्चिएका बेला नगरपालिकाले पानी वितरण गरेपछि यहाँ नागरिकलाई केही राहात भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.