चरनक्षेत्रमा राज्यको ध्यान नपुगेकोमा किसान चिन्तित

|

चितवन : नेपालका मौरीपालक किसानले मौरी चरणक्षेत्र व्यवस्थित हुन नसकेको बताएका छन्। भएका चरण क्षेत्रसमेत विभिन्न कारणले प्रभावित हुने गरेको भन्दै मौरीपालक किसानले चरण क्षेत्र व्यवस्थित बनाउन सरकारसँग माग गरेका हुन्। 

हालै सम्पन्न मौरीपालक महासंघको केन्द्रीय समितिका पदाधिकारीको शनिबार चितवनमा भएको सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले चरण क्षेत्रको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताए। 

अहिले महासंघको ध्यान नै चरण क्षेत्रको विकास, किसानका लागि असल रानी र महको बजार प्रवद्र्धनमा रहेको भन्दै यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे। 

मौरीपालक महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र गौतमले अहिले मौरीपालक किसान पीडैपीडामा रहेको भन्दै राज्यले संरक्षण गर्न नसकेको गुनासो गरे। 

पछिल्लो समयमा मह उत्पादनमा चेतना फैलँदै जानु सकारात्मक कुरा भए पनि कम गुणस्तरको मह आयातका कारण नेपालमा उत्पादित महले राम्रो बजार पाउन नसकेकाले नियन्त्रण जरुरी रहेको उनले औँल्याए।

कृषकको गुनासो सुनेपछि मौरी क्षेत्र हेर्दै आएका कृषि मन्त्रालय अन्तरगत व्यवसायीक किट निर्देशनालयका कार्यक्रम निर्देशक सहदेवप्रसाद हुमागाईंले सरकारको मुखमात्रै ताक्नुभन्दा किसान आफैँ जागरुक हुनुपर्नेमा जोड दिए।

उनले चरण क्षेत्रको अभाव भएको गुनासो आइरहँदा महासंघले हरेक किसानलाई मौरीका लागि आवश्यक वनस्पतिहरू रोप्ने अभियानमा लगाउन सके महत्वपूर्ण उपलब्धी हुने बताए। 

उनले नेपाल मौरीपालक महासंघसँगको सहकार्यमा आफूले काम गर्ने प्रतिवद्धतासमेत जनाए। उनले महको गुणस्तर नाप्ने प्रयोगशालाको अभाव रहेको जानकारी दिए। 

नेपालमा पाँच हजार बढी मौरीपालक किसान छन्।  करिव दुई हजार ४०० मेट्रिक टन मह उत्पादन हुन्छ। चितवनमा ८०० मेट्रिक टन मह उत्पादन हुने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए।

गएको बैशाख २१ र २२ गते पश्चिम नेपालको कोहलपुरमा भएको केन्द्रीय महाधिवेशनका नवनिर्वाचित पदाधिकारीहरूलाई शनिबार भरतपुरमा सपथ ग्रहण गराइएको थियो। 

पौडेलको अध्यक्षतामा निर्वाचित २५ सदस्यिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार श्रेष्ठ, महिला उपाध्यक्षमा देवीकुमारी दाहाल, अन्य उपाध्यक्षमा श्यामप्रसाद अर्याल र अम्बर बहादुर तारामी,  महासचिवमा मोहनराज खनाल तथा कोषाध्यक्षमा जनकबाबु तिवारी चयन भएका छन्। 

सो नयाँसमितिलाई निवर्तमान अध्यक्ष रामप्रसाद पौडेलको नेतृत्वको कार्यसमितिले पद हस्तान्तरण गरेका थिए। हाल महासंघमा ३३ जिल्ला समेटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.