|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जेठ महिनाभित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने महत्वकांक्षी योजना अघि सारेका छन्। मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिनाभित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको दाबीसमेत गरे।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पण्डितले स्थानीय, प्रदेश र  केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको पनि जानकारी दिए। मन्त्री पण्डितले सरकारबारे नकारात्मक टिप्पणी नगर्न पनि चेतावनी दिए। संघीयताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संघीयता विरोधीको आरोप लगाएकोमा मन्त्री पण्डितको आपत्ति जनाए।

मन्त्री पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंक मै गएर हेर्ने छुट सबैलाई रहेको पनि स्पष्ट पारे। २०७० सालमा पहिलो पटक अाफू मन्त्री भइसकेको र ससुरालीले दिएको जग्गा नै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न पनि उनले आग्रह गरे।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता संजय गौतमले सरकारको १०० दिन आशा लाग्दो नभएको टिप्पणी गरे। उनले सरकारको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न समेत आवश्यक कार्यक्रम तय गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

कांग्रेस नेता गौतमले गरिवी निवारण, बसोबास व्यवस्थापन, भूमिहीनको समस्या समाधान गर्न पनि सरकारको नीति तथा कार्यक्रमले कुनै प्रतिवद्धता नजनाएको दाबीसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.