|

कपिलवस्तु : समाजमा  बालविबाह रोक्न कपिलवस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ। ‘बाल विबाह रोक्न म नेतृत्व लिन्छु’ भन्ने नाराका साथ जिल्लास्तरीय किशोरी सशक्तीकरण संजाल कपिलवस्तुले तौलिहवामा किशोरी भलिबल प्रतियोगिता आयोजना गरेको हो। 

किशोरको तुलनामा किशोरीहरू घर समाजमा कुण्ठित भएर बस्नुपर्ने अवस्थाकाे अन्त्यका लागि खेलको माध्यमबाट सामाजिक जागरुकता ल्याउने उद्देश्यसहित आयोजित प्रतियोगितामा जिल्लाका ३ वटा कलस्टरहरूको सहभागिता रहेको छ। 

शनिबार आयोजित प्रतियोगिताको फाइनलमा कृष्णनगर नगरपालिका ५ स्थित रोज किशोरी समूह, यशोधरा गाउँपालिका ७ स्थित शिव शक्ति किशोरी समूह र शुद्धोधन गाउँपालिका ६ स्थित दुर्गा किशोरी समूहबीच प्रतिस्पर्धा भएको थियो। उनीहरू जिल्लाका विभिन्न ८ वटा किशोरी समूहबीचको भिडन्तबाट विजयी भई फाइनल यात्रा तय गर्न सफल भएका हुन्। 

फाइनल खेलमा शिवशक्ति किशोरी समूह प्रथम, रोज किशोरी समूह द्वितीय र दुर्गा किशोरी समूह तृतीय भएका छन्। उनीहरूलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको केयर नेपालका जिल्ला संयोजक गोबिन्द धवलले जानकारी दिए। 

गाउँ समाजमा किशोरीहरूको व्यक्तिगत तथा सामाजिक जीवन किशोरको तुलनामा कम विकास भएकाले उनीहरूमा खेलको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने र सामाजिक मूल्य मान्यतामा आमूल परिवर्तन ल्याउने दलित सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक धवले बताए।

शिक्षा, खेलकुदको क्षेत्रमा किशोरीहरूलाई अवसर प्रदान गरिनुपर्नेमा उनले जोड दिए। यो किसिमका खेलले किशोरीको आत्मबल बढ्ने दुर्गा किशोरी समूहकी साधना हरिजनले बताइन्। घरबाट बाहिर निस्कने र नयाँं शिक्षा हासिल गर्न सहयोग मिल्ने उनले विश्वास व्यक्त गरिन्। प्रतियोगितामा जित हासिल गर्न सफल शिवशक्ति किशोरी समूहकी रन्जु मौर्यले आफूहरूको मनोवल बढेको र समाजमा हरेक कामका सक्रिय सहभागी हुने हिम्मत आएको बताइन्। 

यशोधरा गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायले चालु आर्थिक वर्षको बजेटमा आफूले गाउँ पालिकामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्नका लागि विशेष काम गर्ने बताइन्। घरपरिवार मै शिक्षा दिनसके बाल बिबाह रोकिने पनि उनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.