|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका २ शान्तिपुर(गुलरपट्टि)मा रहेको जयलक्ष्मी ग्रामीण विद्युत् सहकारी संस्थामा भएको अनियमियता छानविनका लागि समिति गठन गरिएको छ।

सहकारीका सदस्य कमलराज भट्टको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको छ।  अनियमियता भए नभएको बारे पाँच दिनभित्र समितिले छानविन गरी प्रतिवेदन बुझाउने छानविन समितिका सदस्य प्रकास भट्टले बताए। 

सहकारीका पदाधिकारीहरूले प्रगती प्रतिवेदन र लेखा प्रतिवेदन शनिवार आयोजित वार्षिक साधारणसभामा प्रस्तुत गर्न नसकेपछि अनियमियताको आशंका गरिएको हो। 

सहकारी स्थापना भएदेखि घाटा मात्रै देखाउने गरेको, घाटा पूर्तिका लागि मनोमानी ढंगले उपभोक्ता माथि महशुलभन्दा अक्तिरिक्त सय रुपैयाँ थप शुःल्क निर्धारण गरिएको, नियमित मिटर रिडिङ नहुने गरेको र प्राविधिक तथा कर्मचारीले जिम्मेवारी पूरा नगरेको लगायतका आरोप उपभोक्ताले लगाएका छन्। ट्रान्सफर्मरको बिमा नगरी लापरवाही गरेको समेत आरोप लगाइएको छ। समयमा महशल नबुझाउने उपभोक्ताको लाइन काटी बक्यौता रकमसमेत उठाउनु पर्ने उपभोक्ताको माग छ। 

सहकारीको वार्षिक साधारणसभामा उपभोक्ताले अनियमियता छानविनको माग गर्दै स्थगित गरेका छन्। उद्घाटन सत्र सञ्चालन भएपनि बन्द सत्र हुन सकेन्।
सहकारीका अध्यक्ष चन्द्रलाल डंगौराले सबै कार्य समितिको निर्णयबमोजिम गरिदै आएको बताए।  ‘कार्य सबै पारदर्शी छन्, अनियमियता भए कारवाही सहन तयार छु’, उनले भने। 

उपभोक्ताबाट उठाउनु पर्ने महशुलवापतको रकम धेरै नउठेकाले प्राधिकरणलाई विलम्ब शुःल्क बढी तिर्नु पर्ने भएकाले तिर्नु पर्ने रकम धेरै देखिएको अध्यक्ष डगौराको भनाइ रहेको छ। सहकारीमा ३५२ जना उपभोक्ता आवद्ध रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.