|

गुजरा नगरपालिका प्रदेश- २ को रौतहट जिल्लामा पर्छ। यो नगरपालिका रौतहटका १६ वटा नगरपालिकामध्येको दोस्रो ठूलो नगरपालिका हो। यस नगरपालिकाको बीच भागबाट बग्ने गुजरा नदीको नामबाट यो नगरपालिकाको नाम पनि गुजरा नगरपालिका राखिएको हो। गुजरामा विविध जाति, जनजाति, भाषाभाषी र धार्मिक मूल्य मान्यतामा विश्वास राख्ने समुदायको बसोबास भए तापनि थारू समुदायको बाहुल्य रहेको छ। ४६ हजार ५९२ जनसंख्या रहेको यस नगरपालिकाको क्षेत्रफल  १५०.३३ वर्ग किलोमिटर छ। गुजरा नगरपालिकामा नौवटा वडा छन्।

साविकको रंगपुर, कनकपुर, लक्ष्मीपुर दोस्तिया, प्रतापपुर पल्टुवा र सिम्रा भवानीपुर गाविस समेटेर बनाइएको यो नगरपालिकाको केन्द्र भने सिम्रा भवानीपुरमा छ। पहिले गुजरा गाउँपालिका नै थियाे। तर २०७३ फागुन २२ मा स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसमा मन्त्रिपरिषद् बैठकले नगरपालिका बनाउने निर्णय गर्‍याे। मन्त्रिपरिषद्काे निर्णय २०७३ फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भई गुजरा नगरपालिका बन्यो। गुजरामा राजपाका सन्तलालप्रसाद चौधरी नगर प्रमुख छन्। प्रस्तुत छ, कृषि विकास बैंकका पूर्वप्रबन्धक अहिलेका उनै प्रमुख चौधरीसँग नगरका विविध विषयमा थाहाखबरकर्मी रमेश तिमिल्सिनाले गरेको संवाद।

निर्वाचनका बेला जनतामाझ लगेका घोषणापत्र वा प्रतिबद्धता कतिको पूरा भए?

मैले स्थानीय निर्वाचनमा जनतामाझ कुनै नपुग्ने र नहुने प्रतिबद्धता लगेको थिइनँ। मलाई आम नगरबासीले चिनिसकेका कारण पनि चुनाव जित्न कुनै असहज पनि भएन। समग्रमा मैले निर्वाचनमा हाम्रा नगरबासीबीच मिल्ने र पूरा हुन सक्ने मात्र प्रतिबद्धता गरेको थिएँ। केही पूरा भएका छन् भने केही पूरा हुने क्रममा छन्। केही कामका प्रतिबद्धता भने लामो समयसम्म लाग्न सक्ने भएको हुँदा त्यसका कामहरू पनि भइरहेका छन्। जहाँसम्म मैले जनतामाझ बोलेका कुराहरू मेरो कार्यकालमा पूर्ण रूपमा सम्पन्न गर्नेछु। कामहरू पनि भइरहेका छन्। खासमा यस गुजरा नगरपालिकालाई एउटा शिक्षित नगरको रूपमा विकास गर्दै लैजाने मुख्य प्रतिबद्धता हो।

कस्ताकस्ता कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आउनुभएको छ?

मैले समृद्ध नगर बनाउले लक्ष्यका साथ गुजरा नगरपालिकाको सबै क्षेत्रमा उत्तिकै महत्त्व दिएर काम गर्दै आएको छु। ‘स्वस्थ नेपाली समृद्ध नेपाल’ भन्ने नेपाल सरकारको अवधारणाअनुसार नै स्वास्थ्य क्षेत्रको विकासका लागि पनि नगरपालिकाले उत्तिकै ध्यान दिएको छ। नगरबासीको स्वास्थ्य उपचारका लागि योजना नै बनाएर नगरपालिका अगाडि बढेको छ। त्यस्तै, शिक्षा क्षेत्रमा पनि झनै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो लक्ष्य छ।

शिक्षित शहर निर्माण अभियानलाई सफल बनाउनका लागि पनि शिक्षा क्षेत्रलाई उच्च महत्त्वका साथ काम गर्दै आएका छौँ। विद्यालयको भौतिक विकास तथा शिक्षकहरूको व्यवस्थापनमा समेत यस स्थानीय तहले काम गरिरहेको छ। भौतिक पूर्वाधार विकासअन्तर्गत सडक, नाला, कल्भर्ट, विद्युतीकरण, सिँचाइलगायतका क्षेत्रमा नगरपालिकाले योजना बनाएर काम गरिरहेको छ।

काम गर्न कत्तिको चुनौती छ?

स्थानीय तहले दुई दशकपछि जनप्रतिनिधि पाएको अवस्थामा काम गर्न एकदमै चुनौती छ। त्यसमाथि पनि नयाँ संरचनाले त झन ठूलो चुनौती दिएको छ। सबै अधिकार स्थानीय तहलाई भनेको छ तर काम गर्ने कर्मचारी अपुग छन्। कर्मचारीले काम गर्ने थलो छैन। यसको व्यवस्थापन एकदमै जटिल समस्या हो। पशु, स्वास्थ्य, शिक्षा जस्ता कार्यालयबाट कर्मचारी आइसकेको अवस्थामा ती कर्मचारी कहाँ बसेर काम गर्ने भन्ने नै ठूलो समस्या हो। भौतिक पूर्वाधारको अभावमा नगरपालिकाका कर्मचारीहरूले एउटै कोठामा कोचिएर काम गर्नुपरेको छ। नगरपालिकामा प्राविधिकहरूको अभाव छ। काम गर्न धेरै चुनौती छ तर चुनौती छ भन्दैमा नगरपालिका भागेको छैन। व्यवस्थापनमा तल्लीन छ।

तपाईंका प्रतिबद्धता के पूरा हुन बाँकी छन्?

अगाडि नै भनिसकेँ नपुग्ने र नहुने प्रतिबद्धता जनतामाझ मैले लगेको छैन। लगेको प्रतिबद्धतामध्ये मुख्य त सडकको विस्तार, शिक्षित नगर निर्माण, खुला दिशामुक्त नगरपालिका जस्ता योजनाहरूका कामहरू धमाधम हुँदै छन्। सडकको विस्तार तीब्र रूपमा भएको छ भने शिक्षाको विकासका कामहरू पनि आआफ्नो तह र तप्काबाट हुँदै छन्। यी सबै आम नगरबासीले देखेकै कुरा हो।

अहिले महत्त्वपूर्ण कामका साथ गुजरा नगरपालिकालाई खुला दिशामुक्त बनाउले लक्ष्यका साथ काम भइरहेका छन्। घरघरमा शौचालय निर्माण गर्न नगरपालिकाले विपन्न परिवारलाई अनुदान दिएर भए पनि शौचालय निर्माण गर्ने अभियानमा छन् र चाँडै नै गुजरा नगरपालिका खुला दिशामुक्त नगर घोषणा हुन्छ।

यस नगरका खास समस्या केके छन्?

नगरपालिकाको क्षमताभन्दा बाहिर विकासका चुनौतीहरू धेरै छन्। जस्तो : स्मार्ट सिटी निर्माणका कुराहरू छन्। यसका लागि नगरमा रिङरोड निर्माण, प्राविधिक शिक्षालय निर्माण, खानेपानीको व्यवस्था, नालाको व्यवस्था, ठूलाठूला सडकको विस्तार, भौतिक संरचनाको निर्माणलगायतका कुराहरू छन्। त्यसका लागि पनि मन्त्रालयहरूमा पहल भइरहेका छन्।

स्थानीय तह संचालनका लागि नीतिगत तथा व्यावहारिक समस्याहरू छन् कि?

नगरका कतिपय कामहरू नीतिगत समस्याका कारण पनि हुन सकेका छैनन्। स्थानीय तहको बारेमा प्रदेश सरकारले गर्ने नीतिगत निर्णयहरूले पनि काम गर्न समस्या गराएको छ। प्रदेश सरकारले पूर्णता पाएको भए तापनि प्रदेश सरकारसँग स्थानीय तहको समन्वय हुन सकेको छैन। धेरै कानुनहरू बाझिएका छन्। त्यसबारे पनि स्थानीय तह अन्योलमा छ। यता, स्थानीय तहमा सबै प्रकारका कार्यालयहरू आउने क्रम धमाधम छन्। ती कार्यालयहरूको व्यवस्थापन गर्न पनि धेरै कठिनाइ छन्। दरबन्दीअनुसारका कर्मचारीको अभावले गर्दा विकास निर्माणका काम गर्न कठिनाइसमेत परेको छ। 

तपाईंका पाँच वर्षे योजनाहरू केके छन्?

गुजरा नगरपालिकाको समृद्धिको आधार कृषि, शिक्षा र भौतिक पूर्वाधारको विकास गर्ने लक्ष्यका साथ विभिन्न योजनाहरू छनोट गरिएका छन्। यस नगरलाई समृद्ध नगर बनाउने लक्ष्यका साथ गत माघमा सम्पन्न नगरसभाले विभिन्न योजनाहरू बनाउने लक्ष्य लिएको छ। खासगरी सडक संजाललाई मुख्य राजमार्गसँग जोड्ने, गुणस्तरीय खानेपानीको लागि एक घर एक धारा निर्माण गर्ने, ‘स्वच्छ शहर हमर नगर’को नारा अवलम्बन गर्दै प्रत्येक घरमा नाला (ढल) र एक घर एक रूखको कार्यक्रम संचालन गर्ने, सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, एक घर एक रोजगार मान्यताका साथ प्रत्येक घरबाट एक जनालाई सीपमूलक व्यावसायिक शिक्षा दिनेलगायतका योजनाहरू छन्। यी योजना पूरा गर्नु नगरपालिकाको एउटा चुनौती पनि हो।

समस्याहरूको समाधान गर्ने उपाय केके छन्?

आफ्नो नगरपालिकाले गर्न सक्ने कामहरू हामी आफैँले नै गर्छौ‌ं तर हाम्रो क्षमताभन्दा ठूला योजनाकाे काम प्रदेश सरकार र संघीय सरकारले नै गर्नुपर्छ। अस्पताल निर्माण, सरकारी कार्यालयका भौतिक पूर्वाधारहरूको निर्माण, ठूलाठूला सडक तथा पुल निर्माण जस्ता योजना सम्बन्धित मन्त्रालयले नै सहयोग गर्नुपर्ने भएकाले हामी सहकार्य गर्छाैं र गरिरहेका पनि छाैँ। प्रदेश सरकारले गर्न सक्ने कामहरू हामीले प्रदेश सरकारबाट लिनुपर्ने हुन्छ। त्यसका लागि पनि हामीले समन्वय गरी राखेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.