|

ओखलढुंगा ः ओखलढुंगेलीको झलमल बत्ति मुनी बस्न पाउने सपना १७ वर्षपछि पूरा भएको छ। खोटाङको बुइपा हुँदै ओखलढुंगा सदरमुकामसम्म जोड्ने ३३ केभी विद्युत् प्रशारण लाइन जडानको काम सकिएसँगै जनताको सपना साकार भएको छ। 

बारम्बारको विवाद र आयोजनाको ढिलासुस्तीका कारण २०५७ सालदेखि सुरु भएको आयोजना सम्पन्न हुन १७ वर्ष लागेको हो। आयोजना सम्पन्न भएपछि अहिले ओखलढुंगाको मोलुंग खोलाबाट उत्पादित विद्युत्समेत केन्द्रीय आयोजनामा जोडिएको छ। हाल जिल्ला सदरमुकाम र आसपास क्षेत्रमा विद्युत् विस्तार कार्य धमाधम सुरु भएको छ।

आयोजनाको पर्खाइमा बसेका ओखलढुंगाका नागरिकलाई केन्द्रीय विद्युत् प्रशारण अयोजनाको बिजुली बाल्न १६ वर्ष पर्खनु परेको हो। बाह्र वर्षपछि बगेको खोलासमेत फर्कन्छ भन्ने दन्ते उखानलाई साबित गर्दै ढेड दशकपछि उज्यालो बत्ती मुनी बस्न पाउने भएपछि हामी सबैको खुसीको सीमानै छैन सिद्धिचरण नगरपालिका १२ का टीकाबहादुर कटुवालले खुशी व्यक्त गदै बताए।

यसअघि आयोजनाको लापरवाहीले बुइपा–ओखलढुंगा खण्डमा पोल गाडिएको १५ वर्षसम्म तार टाँगिएको थिएन। चौतर्फी दबाबपछि दुई वर्षदेखि आयोजनाको कामले गति लिएको थियो। १७ वर्ष लगाएर आयोजना सम्पन्न गरिएको ३३ केभी प्रसारण लाइनका अपरेटर अर्वीन्द्र राईले बताए। विभिन्न स्थानमा आएका अवरोध र पहिले थालेर अलपत्र छोडिएकाले पूरा गर्नु पर्ने भएकाले काम सम्पन्न गर्न समय लागेको उनको भनाइ छ।

उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्मको प्रशारण लाइनमा सुधार र बुइपा सब स्टेशनमा चार्जको काम सकिएपछि ओखलढुंगातर्फको कामले तीव्रता पाएको हो। ओखलढुंगा खण्डमा सदरमुकाममा विद्युत् वितरणका लागि सब स्टेशनसमेत निर्माण गर्नु पर्ने भएकाले समयमा सब स्टेशनको काम नहुँदा आयोजना प्रभावित बनेको थियो। 

सब स्टेशन बनेपछि प्रशारण लाइन स्टेशनमा जोडेर अन्यत्र विद्युत् वितरण गरिएको छ। सिद्धिचरण नगरपालिकालगायतका अधिकांश आयोजना प्रभावित क्षेत्रमा विद्युतीकरणको कामसमेत सुरु भएको छ। चिसंखुगढी र मोलुंग गाउँपालिकाका वडा स्तरमै विद्युत् विस्तारका योजना बनाइएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.